भोटेकोशी बाढी प्रभावितलाई कर्णाली सरकारले दुई करोड रुपैयाँ दिने

भोटेकोशी बाढी प्रभावितलाई कर्णाली सरकारले दुई करोड रुपैयाँ दिने

सुर्खेत : कर्णाली प्रदेश सरकारले रसुवाको भोटेकोशी बाढी प्रभावितहरूका लागि दुई करोड रुपैयाँ दिने निर्णय गरेको छ। 

भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार, पुन:स्थापना तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड रुपैयाँ जम्मा गरिने भएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बसेको बैठकले सो रकम उपलब्ध गराउने निर्णय गरेको हो। यसअघि पनि कर्णाली सरकारले भोटेकोशी विपद्पछि राहत तथा उद्धारका लागि सार्वजनिक अपिल गरेको थियो।

यसैगरी बैठकले शिक्षा क्षेत्रको दीर्घकालीन सुधार र विकासलाई लक्षित गर्दै ‘शिक्षा क्षेत्र योजना २०८३–२०९२’ स्वीकृत गर्ने निर्णय गरेको छ। सामाजिक विकास मन्त्रालयले तयार गरेको उक्त योजनालाई मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको हो।

यस निर्णयसँगै कर्णाली सरकारले अन्तरप्रदेशीय विपद् व्यवस्थापनमा ऐक्यबद्धता जनाउँदै आर्थिक सहयोग गरेको छ भने प्रदेशको शैक्षिक भविष्यका लागि १० वर्षे रणनीति अघि बढाएको छ।

भदौ १६, २०८३ मंगलबार १२:५६:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।