चीनको झाङ्मु पोर्ट अनिश्चितकालका लागि बन्द, तातोपानी नाका पनि ठप्प
सिन्धुपाल्चोक : चीन सरकारले नेपालसँगको प्रमुख उत्तरी सीमानाका तातोपानीपारि रहेको झाङ्मु पोर्ट अनिश्चितकालका लागि बन्द गरेको छ।
रसुवागढी नाकामा बाढीका कारण बन्द भएपछि सम्भावित बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै चिनियाँ पक्षले इमेलमार्फत यसबारे तातोपानी भन्सार कार्यालयलाई औपचारिक जानकारी गराएको हो।
तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत तुलबहादुर पाण्डेका अनुसार चिनियाँ अधिकारीहरूले पठाएको संक्षिप्त इमेलमा भनिएको छ, ‘हामीले केही समयका लागि झाङ्मु पोर्ट बन्द गरेका छौँ, नाका पुनः कहिले सञ्चालनमा आउँछ भन्ने जानकारी अर्को इमेलमार्फत गराउनेछौँ।’
रसुवाको भोटेकोशीमा आएको भीषण बाढी र त्यसले पुर्याएको क्षतिलाई दृष्टिगत गर्दै चिनियाँ पक्षले तातोपानी क्षेत्रको भोटेकोशीमा पनि विपद्को जोखिम आकलन गरेको अधिकृत पाण्डेले बताए।
सम्भावित क्षतिबाट बच्न चिनियाँ पक्षले झाङ्मु पोर्टबाट भन्सार कार्य रोक्दै त्यहाँ कार्यरत कर्मचारी तथा प्रशासनलाई माथिल्लो सुरक्षित क्षेत्रमा स्थानान्तरण गरेको छ।
साथै, सेप्टेम्बर ३ सम्म खासा क्षेत्रमा निर्माण कार्य जारी रहने भएकाले पनि कार्गो तथा कन्टेनर आवागमन रोकिएको जनाइएको छ।
दशैं-तिहारको मुखमा ४० करोडको फलफूल अलपत्र
रसुवागढी नाका बाढीले क्षतिग्रस्त भएपछि तातोपानी नाकालाई मुख्य विकल्पका रूपमा हेरिएको थियो। तर, झाङ्मु पोर्टसमेत बन्द भएपछि आसन्न दशैं-तिहार लक्षित उत्तरी सीमा व्यापार पूर्ण रूपमा प्रभावित भएको छ।
नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अनुसार खासाभन्दा माथि न्यालम र थिङ्ग्री क्षेत्रमा स्याउलगायत फलफूल बोकेका ६० वटा कन्टेनर विगत ४५ दिनदेखि अलपत्र छन्।
सङ्घका उपाध्यक्ष सुजित बस्नेतले भने, ‘चिनियाँ क्षेत्रमा करिब ४० करोड रुपैयाँ बराबरको फलफूल रोकिएको छ।
ती फलफूल एसी कन्टेनरमा रहेकाले सुरक्षित भए पनि लामो समय रोकिँदा पार्किङ भाडा र अतिरिक्त खर्चका कारण बजारमा मूल्य बढ्ने जोखिम छ। यसपटक चाडपर्व लक्षित आयातमा ठूलो समस्या सिर्जना भएको छ।’
भर्खरै खुलेको सडकमा फेरि अवरोध
यसअघि गत असार ३१ गतेको पहिरोले अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे-कोदारी खण्ड क्षतिग्रस्त हुँदा तातोपानी नाका ४० दिनसम्म अवरुद्ध बनेको थियो। सडक विभागले अस्थायी रूपमा सडक मर्मत गरेपछि भदौ १२ गते मात्रै आठवटा कन्टेनर नेपाल भित्रिएका थिए।
सडक खुलेको केही दिनमै चिनियाँ पक्षले पुनः नाका बन्द गरिदिएपछि नेपाल भित्रिन लागेका सयौँ मालवाहक कन्टेनरहरू न्यालममै रोकिएका छन् भने ट्रान्सपोर्ट कम्पनीका कर्मचारी र व्यवसायीहरू बिचल्लीमा परेका छन्।
भदौ १६, २०८३ मंगलबार १२:४७:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।