कीर्गिस्तान पुगेर मोदीले भने- सुन नकिन्नू, विदेशमा बिहे गर्दै नगर्नू

कीर्गिस्तान पुगेर मोदीले भने- सुन नकिन्नू, विदेशमा बिहे गर्दै नगर्नू

एजेन्सी : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय नागरिकलाई मनोरञ्जनका लागि विदेशमा यात्रा नगर्न, विदेशमा विवाह नगर्न र आवश्यक नभएसम्म सुन नकिन्न आग्रह गरेका छन्।

विश्वव्यापी अनिश्चितता, युद्ध र आपूर्ति शृङ्खलामा आएको अवरोधका बीच भारतले ७.८ प्रतिशत आर्थिक वृद्धि हासिल गरेको उल्लेख गर्दै उनले देशमा स्वदेशी उत्पादन र आत्मनिर्भरतालाई थप प्राथमिकता दिन आह्वान गरेका हुन्।

मंगलबार शाङ्घाई सहयोग संगठन (एससीओ)को २६औं शिखर सम्मेलनमा सहभागी हुनका लागि किर्गिस्तानको राजधानी बिश्केकमा प्रधानमन्त्री मोदीले एक भिडियो सन्देश जारी गर्दै आत्मनिर्भरता र स्वदेशी उत्पादनको प्रयोगमा जोड दिए।

मोदीले भने, “यदि तपाईं मनोरञ्जनका लागि विदेश जाँदै हुनुहुन्छ भने नजानुहोस्। यदि तपाईं विदेशमा विवाह गर्दै हुनुहुन्छ भने त्यसो नगर्नुहोस्। आवश्यक छैन भने सुन पनि नकिन्नुहोस्।”

उनले स्वदेशी वस्तुको प्रयोग र आत्मनिर्भरतालाई बढावा दिनुपर्नेमा जोड दिँदै भने, “जति धेरै हामी स्वदेशीलाई प्राथमिकता दिन्छौँ, जति धेरै हामी आत्मनिर्भरतालाई जोड दिन्छौँ, त्यति नै मलाई दृढ विश्वास छ कि स्वतन्त्रताको १०० वर्ष पूरा हुँदा हामी हाम्रा युवापुस्तालाई एक विकसित भारत दिनेछौँ।”

मोदीले आफ्ना आलोचकप्रति पनि कटाक्ष गरे। उनले देशभित्रै केही मानिस निराशाको वातावरणमा डुबेर चारैतिर ‘झुट’ फैलाइरहेको आरोप लगाए। उनले विश्वमा अनिश्चितता, युद्ध, संकट र आपूर्ति शृंखलामा अवरोधजस्ता चुनौती रहे पनि भारत तीव्र गतिमा प्रगति गरिरहेको बताए।

मोदीले राहुल गान्धी र अन्य आलोचकहरूलाई लक्षित गर्दै भने, "विश्वभर युद्ध र संकट छ, आपूर्ति शृङ्खला पूर्ण रूपमा प्रभावित छ। सन् २०२० को कोभिड कालदेखि अहिलेसम्म कहीँ पनि स्थिरता देखिएको छैन। यसका बाबजुद भारत तीव्र गतिमा अघि बढिरहेको छ। अर्कोतर्फ, भारतभित्रै केही मानिसहरू निराशाको वातावरणमा डुबेका छन् र चारैतिर झुटको खेती फैलाइरहेका छन्।"

भदौ १६, २०८३ मंगलबार ११:३०:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।