इजरायलमा राष्ट्रिय एकता सरकार गठनका लागि दलहरूबीच कसरत, नेतान्याहुको लिकुडले अघि सार्यो कडा सर्त
एजेन्सी : इजरायलमा राष्ट्रिय एकता सरकार गठनका लागि दलहरूबीच वार्ताको तयारी भइरहँदा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले गाजा, लेबनान र सिरियामा युद्धका क्रममा स्थापना गरिएका ‘सुरक्षा क्षेत्र’ कायमै राख्नुपर्नेलगायतका सर्तहरू अघि सारेको छ।
पूर्वसैन्य प्रमुख गादी आइजेनकोट नेतृत्वको याशार पार्टीले शनिबार लिकुडलाई बृहत् राष्ट्रिय एकता सरकार गठनका लागि गहन वार्तामा आउन औपचारिक आमन्त्रण गरे लगत्तै लिकुडले आफ्ना सर्तसहितको धारणा सार्वजनिक गरेको हो।
याशार पार्टीले नयाँ सरकार गठनका लागि सम्भावित सबै विकल्पमा छलफल गर्ने, नवीन पहल अघि बढाउने र राजनीतिक सहमति जुटाउने प्रयास गर्ने जनाएको छ।
लिकुडले अघि सारेका अन्य सर्तमा इजरायललाई यहुदी जनताको राष्ट्रका रूपमा मान्यता दिनुपर्ने, प्यालेस्टाइन राज्य स्थापनाको प्रस्ताव अस्वीकार गर्नुपर्ने तथा यहुदी अतिवादी अर्थोडक्स धार्मिक समुदायका विद्यार्थीको सैन्य सेवासम्बन्धी व्यवस्था टुङ्ग्याउनुपर्ने विषय समावेश छन्।
पूर्वसैन्य प्रमुख आइजेनकोटलाई सरकार गठनका लागि डिसेम्बर ६ सम्मको समय दिइएको छ। आवश्यक परे राष्ट्रपतिले थप दुई सातासम्म समयावधि बढाउन सक्नेछन्। अक्टोबर २७ मा सम्पन्न संसदीय निर्वाचनमा नेतान्याहुका विपक्षी दलहरूले १२० सदस्यीय संसद्मा ६७ सिट जितेका थिए।
तर उक्त बहुमतमा अरब राजनीतिक दलका १९ सिटसमेत समावेश छन्। आइजेनकोटका सम्भावित गठबन्धनका केही साझेदारले ती दलहरूको समर्थन स्वीकार गर्न नसक्ने बताएका छन्। यसले नयाँ राष्ट्रिय एकता सरकार गठनका लागि गठबन्धन वार्तालाई थप चुनौतीपूर्ण बनाएको छ।
मंसिर ६, २०८३ आइतबार १५:०३:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।