दुर्लभ रोगले ६ वर्षमै ८० वर्षकी जस्ती देखिएकी आइसा !

दुर्लभ रोगले ६ वर्षमै ८० वर्षकी जस्ती देखिएकी आइसा !

एजेन्सी : भारतको केरलस्थित वायनाड जिल्लाकी ६ वर्षीया बालिका आइसा (थक्कु) उमेरले सानी भए पनि हेर्दा ७०/८० वर्षकी वृद्धाजस्ती देखिन्छिन्।

छाला चाउरी पर्ने अति दुर्लभ आनुवंशिक रोग ‘क्यूटिस ल्याक्सा’ बाट पीडित आइसाले सानैदेखि समाजको टिकाटिप्पणी र जटिल स्वास्थ्य समस्या झेल्दै आएकी छन्।

तर, यी सबै पीडालाई पन्छाउँदै उनी ठूलो भएर डाक्टर बन्ने र आफ्नै जस्तो रोग भएका बालबालिकाको उपचार गर्ने सपना देख्छिन्।

अञ्जलि र अखिल दम्पतीकी छोरी आइसा छ महिनाकी हुँदा शरीरको चाउरी नहटेपछि गरिएको आनुवंशिक परीक्षणबाट उनलाई ‘क्यूटिस ल्याक्सा’ भएको पुष्टि भएको थियो।

‘क्यूटिस ल्याक्सा इन्टरनेसनल’ का अनुसार विश्वभर करिब ४०० जना (२० लाखमा करिब एक जना) र भारतमा सात जना मात्र यस रोगबाट पीडित छन्।

आइसाकी चिकित्सक डा. अञ्जनाका अनुसार यो रोग पूर्ण रूपमा निको पार्ने औषधि वा उपचार छैन, केवल लक्षण कम गर्ने प्रयास मात्र गरिन्छ।

यसका बिरामीलाई श्वासप्रश्वास, मुटु र मांसपेशी दुख्ने समस्या हुन सक्छ। साढे दुई वर्षकै उमेरमा हर्निया र आँखाको शल्यक्रिया गराइसकेकी आइसालाई रुघाखोकी र ज्वरोले बारम्बार सताउने हुँदा महिनामा दुई/तीन पटक अस्पताल धाउनुपर्छ।

बाहिर निस्कँदा मानिसहरूले घुरेर हेर्ने र नकारात्मक टिप्पणी गर्ने गरे पनि आमा अञ्जलिले छोरीलाई घरभित्र लुकाएर नराख्ने बताउँछिन्।

सुरुमा सरकारी विद्यालयको कक्षा १ मा जाँदा साथीहरूले उनलाई ‘अम्मुम्मा’ (हजुरआमा) भनेर जिस्क्याउँथे।

तर, आमाबुवाले प्रधानाध्यापकलाई रोगबारे बुझाएपछि विद्यालयको वातावरण मित्रवत बन्यो। शिक्षिका ऐश्वर्याका अनुसार आइसा निकै चलाख छिन् र गणित विषयमा विशेष रुचि राख्छिन्।

नाच्न, गाउन र चित्र कोर्न रुचाउने आइसाका नृत्य भिडियो छिमेकीको सहयोगमा इन्स्टाग्राममा राखिन थालेपछि २५ हजारभन्दा बढी फलोअर्स बनेका छन्, जसले उनीप्रतिको नकारात्मक दृष्टि कम गर्न मद्दत गरेको छ।

यद्यपि, मनोचिकित्सक कृपाकरले सानै उमेरमा सामाजिक सञ्जालको प्रयोगले बच्चीमा मानसिक तनाव बढाउन सक्ने चेतावनी दिएका छन्।

निजी कम्पनीमा सुरक्षा गार्डको काम गर्ने बुवा अखिललाई मासिक तलबबाट उपचार खर्च धान्न मुस्किल परिरहेको छ।

तर, छिमेकी डाक्टर अञ्जनाबाट प्रेरित भएर डाक्टर बन्न चाहने छोरीको सपना पूरा गर्न र उनलाई उच्च शिक्षा दिलाउन आमाबुवा हरसम्भव प्रयास गरिरहेका छन्।

मंसिर ७, २०८३ सोमबार १२:२३:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।