जीवाश्म इन्धन र आर्थिक सहयोगमा विवादपछि ‘कोप-३१’ जलवायु सम्मेलन असफल

जीवाश्म इन्धन र आर्थिक सहयोगमा विवादपछि ‘कोप-३१’ जलवायु सम्मेलन असफल

एजेन्सी : टर्कीको अन्टाल्यामा भएको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप-३१) मुख्य सम्झौता बिना नै सकिएको छ।

जीवाश्म इन्धन (कोइला, तेल र ग्यास) को प्रयोग घटाउने विषय र गरिब देशहरूलाई दिइने आर्थिक सहयोगमा गहिरो मतभेद देखिएपछि सम्मेलन असफल भएको हो।

शुक्रबार नै सकिनुपर्ने वार्ता सहमति जुटाउने प्रयासमा आइतबार अबेरसम्म लम्बिएर इतिहासकै सबैभन्दा लामो जलवायु सम्मेलन बने पनि निष्कर्ष निस्कन सकेन।

सन् २००९ को कोपनहेगन सम्मेलनपछि मुख्य राजनीतिक सम्झौता नै असफल भएको यो पहिलो पटक हो।

सहमतिको अन्तिम मस्यौदामा विश्व तापमान वृद्धिको मुख्य कारण मानिने ‘जीवाश्म इन्धन’ शब्द नै उल्लेख नगरिएपछि युरोपेली संघ (ईयू) र टापु राष्ट्रहरूले कडा विरोध जनाए।

सुरुवाती मस्यौदामा यो विषय समेटिए पनि तेल उत्पादक देशहरूको विरोधका कारण अन्तिम मस्यौदाबाट हटाइएको थियो।

त्यस्तै, जलवायु परिवर्तनका असरसँग जुध्न धनी राष्ट्रहरूले गरिब देशलाई दिने आर्थिक सहयोगको स्पष्ट रकम र प्रतिबद्धता नतोकिएको भन्दै विकासोन्मुख राष्ट्रहरूले पनि मस्यौदा अस्वीकार गरे।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्मेलनको नतिजाप्रति गहिरो निराशा व्यक्त गर्दै जीवाश्म इन्धनसँग जोडिएका शक्तिशाली समूहले जलवायु कार्यमा अवरोध पुर्याएको आरोप लगाए।

सम्मेलनको सह-आयोजक अस्ट्रेलियाले भने कठिन भूराजनीतिक परिस्थितिका कारण सहमति जुट्न नसकेको प्रतिक्रिया दिएको छ।

सन् २०२६ अहिलेसम्मकै सबैभन्दा तातो वर्ष बन्ने देखिएको र नेपालमा आएको आकस्मिक बाढी तथा युरोपको खडेरीजस्ता विपद् बढिरहेका बेला विश्व तापमान १.५ डिग्री सेल्सियसभित्र राख्ने पेरिस सम्झौताको लक्ष्य केही वर्षभित्रै नाघ्ने जोखिम देखिएको छ।

मुख्य सम्झौता असफल भए पनि स्वच्छ ऊर्जातर्फको रूपान्तरणमा श्रमिकलाई सघाउने ‘जस्ट ट्रान्जिसन’ ढाँचा र सन् २०३५ सम्म विश्वव्यापी ऊर्जा खपतमा विद्युत्‌को हिस्सा ३५ प्रतिशत पुर्याउने टर्कीको लक्ष्यमा ८० भन्दा बढी देशले सहमति जनाएका छन्।

राष्ट्रसंघका जलवायु प्रमुख साइमन स्टिलले सन् २०२७ को नोभेम्बरमा इथियोपियामा हुने आगामी ‘कोप–३२’ सम्मेलनअघि वार्ताको प्रक्रियामा सुधार गर्ने विषयमा सल्लाह लिइने बताएका छन्।

मंसिर ७, २०८३ सोमबार ०७:३२:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।