बंगलादेशमा भदौ २४ को शैलीका हिंसात्मक घटना, सांसदको घर र प्रहरी कार्यालयमा आगो लगाइयो, हतियार लुटियो
ढाका : अवामी लिगकी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री शेख हसिनाले स्वदेश फर्कने घोषणा गरेसँगै बंगलादेशभर हिंसात्मक गतिविधि र तोडफोडका घटना तीव्र बनेको छ। आन्दोलनबाट सत्ताच्युत भएर भारत भागेकी उनले डिसेम्बरमा देश फर्कने घोषणा गरेकी थिइन्।
उनको घोषणासँगै उनको पार्टीले आयोजना गरेको दुई कार्यक्रम र त्यसपछिका ध्वंसात्मक घटनाका कारण हालसम्म ४ जनाको मृत्यु भइसकेको छ भने कम्तीमा २१ जिल्लाका ८३ वटा सवारीसाधनमा आगजनी भएको ढाकास्ट्रिमको समाचारमा उल्लेख छ।
ढाकास्ट्रिमको समाचारमा उल्लेख भए अनुसार आइतबारसम्म मृत्यु भएका ४ जनामध्ये ३ जना सत्तारुढ दल बीएनपीका कार्यकर्ता र एक जना बस चालकका सहायक रहेको प्रहरीले जानकारी दिएको छ।
प्रदर्शनकारीहरूले देशभर ककटेल(पेट्रोल) बम विस्फोट, बस तथा रेलमा आगजनी, प्रहरीका सवारीसाधनमाथि आक्रमण, सडक अवरोध गरिरहेका छन्।
८७ स्थानमा विस्फोट र आगजनी
बंगलादेशमा अवामी लिग प्रतिबन्धित छ। युवा आन्दोलनसँगै सरकारले यसका भ्रातृ संगठनमाथि पनि प्रतिबन्ध लगाएको थियो। उनीहरूले नोभेम्बर १० मा आमहडताल र नोभेम्बर १९ मा 'लकडाउन' कार्यक्रम आयोजना गरेका थिए। यही कार्यक्रमबाट हिंसाको सुरु भएको सुरक्षा अधिकारीहरूको दाबी छ।
प्रहरी प्रधान कार्यालयका सहायक प्रहरी महानिरीक्षक (एआईजी) कमरुम मुनिराका अनुसार नोभेम्बर ७ देखि १९ सम्म देशका ८७ स्थानमा ककटेल विस्फोट र आगजनीका घटना भएका छन्। यसक्रममा ४ वटा प्रहरी कार्यालय र २८ वटा सवारीसाधनमा तोडफोड तथा आगजनी भएको छ भने ३ वटा प्रहरी कार्यालय र एउटा सवारीसाधनमा ककटेल बम प्रहारबाट क्षति पुगेको छ। यी घटनामा हालसम्म ३९ वटा मुद्दा दर्ता भई ६६ जना पक्राउ परिसकेका छन्।
नराइल जिल्लाको कालिया उपजिल्लामा गत बुधवार अवामी लिगविरुद्ध स्थानीय बीएनपीले निकालेको जुलुसमा आक्रमण हुँदा कालिया उपजिल्ला कृषक दलका महासचिव शाहिन र जातीयतावादी सामाजिक सांस्कृतिक संस्था (जासास) का महासचिव सोहेल मोल्लाको मृत्यु भएको थियो।
सो घटनापछि पूर्वसांसद बीएम कबिरुल हक मुक्तिलगायत अवामी लिगका नेता–कार्यकर्ताका घर तथा पसलमा लुटपाट र आगजनी भएको थियो। करिब २० देखि ३० वटा घरमा आगो लगाइएको थियो।
शनिवार बिहानदेखि अवामी लिग र बीएनपीका समर्थकबीच ढुंगामुढा र लाठीसहित झडप भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले रबरको गोली र अश्रुग्याँस प्रहार गरेको थियो। हिंसा प्रभावित २१ जिल्लामध्ये शेख हसिनाको गृहजिल्ला गोपालगञ्जमा सबैभन्दा बढी क्षति भएको छ। सो क्षेत्रमा छुरा प्रहारबाट प्रहरी निरीक्षक अबु आलम घाइते भए।
प्रदर्शनकारीहरूले गोपालगञ्जको तुंगीपारा प्रहरी चौकी घेराउ गरी सवारीसाधनमा आगजनी गरेर हतियार र सरसामान लुटेका थिए। बिहीबार मुकसुदपुर प्रहरी चौकीमा तोडफोड र आगजनी भएको थियो। गोपालगञ्ज-१ का सांसद सलिमुज्जमान मोल्ला, गोपालगञ्ज-३ का सांसद एसएम जिलानी र पूर्वजिल्ला अध्यक्ष एमएच खान मन्जुरको घरमा तोडफोड र आगजनी भएको थियो।
मंसिर ६, २०८३ आइतबार २३:३१:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।