अविरल वर्षा र पहिरोका कारण कान्ति लोकपथ र रसुवाका सडक अवरुद्ध, बीपी राजमार्गमा राति सवारी सञ्चालन रोक

अविरल वर्षा र पहिरोका कारण कान्ति लोकपथ र रसुवाका सडक अवरुद्ध, बीपी राजमार्गमा राति सवारी सञ्चालन रोक
फाइल तस्बिर

काठमाडौं : अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रहरीले यात्रुहरूलाई उच्च सतर्कता अपनाउन र बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। 

भदौ १५ गते दिउँसो ललितपुरको बागमती गाउँपालिका-३, भट्टेडाँडामा खसेको पहिरोका कारण कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ।

बिपी राजमार्गको खुर्कोट—नेपालथोक—कटुन्जेबेँसी खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ। साँझ ६ देखि बिहान ४ बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको छ भने दिउँसोको समयमा परिस्थितिको मूल्यांकन गरेर मात्र सवारी सञ्चालन गरिने छ। 

रसुवाको उत्तरगया गाउँपालिका—५ खाल्टेमा बाढीका कारण त्रिशुली—मैलुङ्ग—स्याफ्रुबेसी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध रहेको छ।

साथै जिल्लाका अन्य मुख्य राजमार्गहरू पनि बाढीका कारण भदौ १० गतेदेखि नै पूर्ण रूपमा अवरुद्ध रहेको जनाइएको छ। 

भदौ १६, २०८३ मंगलबार १०:३९:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।