भोटेकोशी र त्रिशूलीको बहाव सतर्कता तहभन्दा तल, तर जोखिम कायमै

भोटेकोशी र त्रिशूलीको बहाव सतर्कता तहभन्दा तल, तर जोखिम कायमै

काठमाडौं : हाल भोटेकोशी र त्रिशूली नदीमा पानीको बहाव सतर्कता तहभन्दा तल झरे पनि नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

गत भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीपछि मुख्य नदीको सतह घटेको भए पनि वर्षाको सम्भावना कायमै रहेकाले सतर्क रहन महाशाखाले अनुरोध गरेको हो।

महाशाखाले आज जारी गरेको बाढी पूर्वानुमान बुलेटिनअनुसार रसुवा र नुवाकोट जिल्ला भई बहने साना नदी तथा खोलाहरूमा पानीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी (फ्ल्यास फ्लड) को उच्च सम्भावना रहेको छ।

यसैगरी, काठमाडौं उपत्यकासहित देशका २५ जिल्लामा साना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ।

बुलेटिनअनुसार ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुङ्गा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, धादिङ, गोरखा, लमजुङ र डोल्पा जिल्ला भई बहने साना नदीहरूमा बाढीको मध्यम जोखिम छ।

त्यस्तै रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, दार्चुला, बैतडी, डडेलधुरा, डोटी, कैलाली र कञ्चनपुर आसपासका खोला तथा साना नदीहरूमा पनि पानीको सतह बढ्न सक्ने पूर्वानुमान गरिएको छ।

महाशाखाले जोखिमयुक्त जिल्लाका नदी तटीय क्षेत्र तथा कमजोर भूभागका बासिन्दालाई आवश्यक सावधानी अपनाउन र पूर्वतयारीमा रहन आग्रह गरेको छ।

भदौ १६, २०८३ मंगलबार १०:२९:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।