उच्चस्तरीय विपद् संयन्त्र गठनबारे छलफल गर्न रास्वपाले बोलायो सर्वदलीय बैठक

उच्चस्तरीय विपद् संयन्त्र गठनबारे छलफल गर्न रास्वपाले बोलायो सर्वदलीय बैठक

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विपद्पछिको पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि ‘उच्चस्तरीय सर्वदलीय संयन्त्र’ गठनबारे छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेको छ।

रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा मंगलबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको पार्टी प्रवक्ता जगदीश खरेलले जानकारी दिए।

गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपहिरोपछि बसेको सर्वदलीय बैठकले विपद्को दिगो समाधान र पूर्वतयारीका सम्बन्धमा १० बुँदे साझा सङ्कल्प पारित गरेको थियो।

उक्त साझा सङ्कल्पको बुँदा नम्बर १० मा भएको सहमति कार्यान्वयन गर्न यो बैठक बोलाइएको रास्वपाले जनाएको छ।

विपद् व्यवस्थापनका कार्यहरूलाई तत्कालीन राहत र प्रतिक्रियामा मात्र सीमित नराखी दिगो समाधान खोज्न संयन्त्र आवश्यक रहेको पार्टीको ठहर छ।

विपद्पछिको पुनर्निर्माण, जलवायु अनुकूलन, राष्ट्रिय विपद् नीतिमा समयानुकूल परिमार्जन तथा सरकारी कामकारबाहीको निरन्तर सल्लाह, सहयोग र अनुगमन गर्न ‘संसदीय समिति’ गठन गर्ने सहमति यसअघि नै भएको थियो।

सोही प्रक्रियालाई अविलम्ब अगाडि बढाउने विषयमा राजनीतिक दलहरूबीच ठोस छलफल गर्नका लागि बैठक आयोजना गरिएको प्रवक्ता खरेलद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ।

भदौ १६, २०८३ मंगलबार ०९:४७:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।