जाजरकोटमा लम्ती खोलाले बगाउँदा एक पुरुष बेपत्ता
जाजरकोट : जाजरकोटको छेडागाड नगरपालिका–९ का ४५ वर्षीय दलबहादुर महतारालाई लम्ती खोलाले बगाएर बेपत्ता बनाएको छ।
उपचारपछि थलहबाट घर फर्किने क्रममा सोमबार साँझ छेडागाड नगरपालिका–१० र ११ को सीमामा पर्ने लम्ती खोला तर्ने क्रममा उनलाई बाढीले बगाएको स्थानीय कर्णबहादुर खड्काले जानकारी दिए।
घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय बडाबनबाट खटिएको प्रहरी टोली र स्थानीय बासिन्दाले महताराको खोजी सुरु गरेका छन्।
लगातारको वर्षाका कारण खोलामा पानीको बहाव उच्च रहेको र रातको समय भएकाले खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।
वर्षा नरोकिएकाले खोलानाला तथा जोखिमयुक्त क्षेत्रमा आवतजावत गर्दा उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ।
भदौ १६, २०८३ मंगलबार ०८:४८:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।