नदी किनारमा भेटिएका थप २८० शवको डीएनए नमुना सङ्कलनपछि व्यवस्थापन
नारायणगढ : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र नारायणी नदी तटीय क्षेत्रबाट फेला परेका शवमध्ये २८० वटाको ‘फरेन्सिक’ परीक्षण तथा डीएनए नमुना सङ्कलन गरी चितवनको देवघाटमा सुरक्षित व्यवस्थापन गरिएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बाढीपछि दुवै नदी किनारबाट हालसम्म ३२१ वटा शव सङ्कलन गरिएको छ। तीमध्ये १२ वटा शव सनाखत भई आफन्तलाई बुझाइसकिएको छ। फेला परेका शवहरूमा ११६ पुरुष, ६६ महिला, सात बालक, छ बालिका र पहिचान खुल्न नसकेका १२६ वटा रहेका छन्।
चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामेश्वर पौडेलका अनुसार भविष्यमा पहिचान गर्न सकिने गरी अन्तर्राष्ट्रिय मान्यताअनुसार देवघाटस्थित व्यवस्थापन स्थलमा ती शवहरूको व्यवस्थापन गरिएको हो।
जसअनुसार भदौ १३ गते ९६, भदौ १४ गते १०३ र भदौ १५ गते ८१ वटा शव व्यवस्थापन गरिएको थियो।
भरतपुर अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाका अनुसार भदौ १० गते रातिदेखि नै सुरक्षाकर्मीले नदीबाट शव सङ्कलन गरी अस्पताल ल्याउन थालेका थिए।
भदौ ११ गतेदेखि फरेन्सिक विज्ञहरूको टोली परिचालन गरी शव पहिचानका लागि आवश्यक फरेन्सिक जाँच, डीएनए तथा अन्य जैविक नमुना सङ्कलन र अभिलेखीकरणको काम थालिएको हो।
प्रहरी उपरीक्षक पौडेलले नदी किनारमा शव खोजी गर्ने कार्य अझै जारी रहेको जानकारी दिए। नदीमा फेला पर्ने शवहरूलाई भरतपुर अस्पताल ल्याई परीक्षण र डीएनए नमुना सुरक्षित गरेपछि मात्र देवघाटमा व्यवस्थापन गर्ने प्रक्रिया निरन्तर चलिरहेको उनले बताए।
भदौ १६, २०८३ मंगलबार ०७:५२:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।