कृष्णभीरमा सडक भासिएपछि उपत्यकाबाहिरै एलपी ग्यास भर्न थालियो
चितवन : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि काठमाडौं उपत्यका र आसपासका क्षेत्रका लागि उपत्यकाबाहिरका उद्योगबाटै एलपी ग्यास भर्न (बोटलिङ गर्न) थालिएको छ।
ग्यास बोकेका बुलेटहरू कृष्णभीर पार गर्न नसक्ने भएपछि नेपाल आयल निगमको अनुमतिमा उद्योगीहरूले बाहिरै सिलिन्डर भरेर उपत्यका पठाउन थालेका हुन्।
नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष देवान चन्दका अनुसार उपत्यका र छिमेकी जिल्लामा रहेका १६ वटा ग्यास उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर र नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का उद्योगहरूसँग समन्वय गरी ग्यास भर्न सुरु गरेका छन्।
उपत्यका र आसपासका जिल्लामा मात्रै देशभरको कुल खपतको ४० प्रतिशतभन्दा बढी ग्यास आवश्यक पर्ने उनले जानकारी दिए।
सङ्घका सदस्य तथा बाबा ग्यासका सञ्चालक विमल कालाखेतीले कृष्णभीरको बाटो नखुलेसम्म बाहिरका उद्योगमा ग्यास भरेर त्रिभुवन राजपथलगायत वैकल्पिक सडकमार्फत काठमाडौं लगिने बताए।
ग्यासको आपूर्ति व्यवस्था सहज बनाइएकाले उपत्यकामा अभाव नहुने स्पष्ट पार्दै उहाँले उपभोक्तालाई अनावश्यक ग्यास सञ्चिति नगर्न आग्रह गरे।
हाल श्री ग्यासले बाबामा, श्रीकृष्णले साईबाबामा, श्रीरामले जानकीमा, नेपाल ग्यासले नेपाल गण्डकीमा तथा एभरेष्ट र सुगमले सहारा उद्योगमा सिलिन्डर भर्न सुरु गरिसकेका छन्।
अन्य उद्योगहरूले पनि राजधानीबाहिरका प्लान्टहरूसँग समन्वय गरेर ग्यास भर्ने र ढुवानी गर्ने काम तीव्र बनाएका छन्।
भदौ १६, २०८३ मंगलबार ०७:४४:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।