सरकार हेलिकप्टरमा देखियो, फिल्डमा खोई ?

सरकार हेलिकप्टरमा देखियो, फिल्डमा खोई ?

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारी कोषमा राहत रकम जम्मा भए पनि पीडितसम्म पुग्न नसकेको भन्दै उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सरकारसँग आग्रह गरे।

विपद्का बेला राज्यका सबै पक्षबीच समन्वय हुनुपर्नेमा जोड दिँदै उनले सरकारी संयन्त्रको सुस्तताप्रति प्रश्न उठाए। राहतको उपलब्धता र वितरणको अवस्थाबीच ठूलो खाडल देखिएको ओलीको भनाइ छ। 

उनले भने, "केन्द्र सरकारको कोषमा पैसा जम्मा भएको छ, राहत जम्मा भएको छ। तर जनता भोकै छ, राहत पुग्न पाएको छैन। यस्तो स्थिति छ। यो स्थितिलाई न्यून गरौं, अन्त्य गरौं भनेर पहल एवं प्रयास गरिरहेका छौं।"

सहयोगको उद्देश्य सरकारी कोषमा रकम जम्मा गरेर देखाउनु मात्र नभई पीडितसम्म राहत पुर्याउनु भएको ओलीले बताए। उनले भने, "कोषलाई पैसा चाहिएको होइन, पीडितलाई राहत पुर्याउन खोजेको हो। कुन माध्यमबाट छिटोछरितो ढङ्गले यथार्थ पीडितकहाँ यथार्थ राहत पुग्छ, त्यही बाटो अवलम्बन गर्छौं।"

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूतर्फ संकेत गर्दै ओलीले विपद्को समयमा नागरिकमाथि अवाञ्छित व्यवहार गर्ने र आधारहीन निर्देशन दिने प्रवृत्ति देखिएको टिप्पणीसमेत गरे। राहत र उद्धारमा मलमपट्टी लगाउनुको साटो केही पक्षले उल्टै समस्या बल्झाएको उनको आरोप छ। 

संकटका बेला केन्द्रीय सरकारको बलियो उपस्थिति नदेखिएको भन्दै उनले भने, "यस्तो अवस्थामा सरकार कहाँ छ खोज्नुपर्छ। केन्द्रीय सरकार चाहिँ कहाँ छ? कहिले कहिले हेलिकप्टरमा उडेको देखिन्छ।"

उद्धार कार्यमा सरकारी स्रोतको मात्र भर नपरी निजी क्षेत्रका हेलिकप्टर र तालिमप्राप्त जनशक्तिलाई समेत प्रभावकारी रूपमा परिचालन गर्न ओलीको सुझाव छ। विपद्का बेला सबैले दिल खोलेर सहयोग गर्नुपर्ने भन्दै उनले भने, "उद्धार गर्न उत्सुकहरू छन्, उद्धारका निम्ति तालिम लिएका मान्छेहरू छन्। त्यस्ता मान्छेहरूलाई हेलिकप्टर प्रयोग गर्न दिने हो भने, तिनीहरूले काम गर्न पाउने हो भने धेरै काम गर्थे।"

पछिल्लो विपद्लाई जलवायु परिवर्तनको गम्भीर असरका रूपमा व्याख्या गर्दै ओलीले नेपाल जस्ता जलवायु परिवर्तनको असरबाट बढी प्रभावित मुलुकलाई विकसित देशहरूले क्षतिपूर्ति दिनुपर्ने धारणा राखे। एमालेले भोटेकोशी बाढी पीडितका लागि २० लाख रुपैयाँ सहयोग रकम संकलन गरेको छ। सोमबार अध्यक्ष ओलीको उपस्थितिमा पार्टीका बागमती प्रदेश र राजधानी प्रदेश कमिटीले १०/१० लाख रुपैयाँ पार्टीलाई हस्तान्तरण गरे। 

भदौ १५, २०८३ सोमबार १९:०४:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।