त्रिशूली-३ ‘बी’मा खोज तथा उद्धार जारी, ३१ सैनिक परिचालन

त्रिशूली-३ ‘बी’मा खोज तथा उद्धार जारी, ३१ सैनिक परिचालन
फाइल तस्बिर

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण प्रभावित नुवाकोटको माथिल्लो त्रिशूली-३ ‘बी’को सुरुङमा नेपाली सेनाले सोमबार पनि उद्धार कार्य जारी राखेको छ।

नेपाल सरकारको अनुमतिमा यही भदौ १३ गते चिनियाँ विशेषज्ञ टोली निजी हेलिकप्टरमा नुवाकोटको त्रिशूली पुगेको थियो। त्यसपछि नेपाली सेनासँग समन्वय गरी माथिल्लो त्रिशूली-३ ‘बी’को सुरुङ क्षेत्रमा पुगेको थियो।

सेनाका अनुसार उक्त टोलीले माथिल्लो त्रिशूली-३ ‘बी’को सुरुङ क्षेत्रमा रेकी गरेको थियो। चिनियाँ उद्धार टोलीले सोही दिन रसुवाको माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनामा पनि रेकी गरेको थियो। त्यसपछि दुवै जलविद्युत् आयोजनाको रेकीपश्चात उक्त टोलीले नेपाली सेनालाई वस्तुस्थितिबारे जानकारी गराएको थियो।

आइतबार मात्रै त्रिशूली-३ ‘बी’ मै नेपाली सेनाको भैरवनाथ गणका १५ जना र नेपाल विद्युत् प्राधिकरणको संयुक्त टोलीले खोज तथा उद्धारको प्रयास गरेका थिए। सोमबार पनि बिहान ९ बजे नेपाली सेनाको भैरवनाथ गणका थप १६ जना गरी ३१ जनाले खोज तथा उद्धारको प्रयास जारी राखेको नेपाली सेनाले जनाएको छ।

भदौ १५, २०८३ सोमबार १७:१५:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।