विपद् उद्धारमा जुट्यो अन्तर्राष्ट्रिय समुदाय, टनेल रेस्क्यु र फरेन्सिक टोली परिचालन

विपद् उद्धारमा जुट्यो अन्तर्राष्ट्रिय समुदाय, टनेल रेस्क्यु र फरेन्सिक टोली परिचालन

काठमाडौं : रसुवाको भोटेकोशीमा आएको भिषण बाढीले बगाएका ९०३ जनाको शव भेटिएको छ। बाढी प्रभावित क्षेत्रबाट हालसम्म करिब चार हजार २०० जना अझै बेपत्ता छन्।  परराष्ट्र मन्त्रालयका अनुसार बेपत्ता हुनेमा ३८ देशका करिब ५९० विदेशी नागरिक समेत छन्। 

मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले प्रभावित क्षेत्रबाट ३२३ भन्दा बढी विदेशी नागरिकसहित १० हजारभन्दा बढी व्यक्तिको उद्धार गरिएको जानकारी दिए। 

सरकारले जीवन रक्षा, बेपत्ता व्यक्तिको खोजी तथा उद्धार, तत्काल राहत उपलब्ध गराउने र प्रभावित नेपाली तथा विदेशी नागरिकलाई आवश्यक सहयोग सुनिश्चित गर्ने कार्यलाई राष्ट्रिय प्राथमिकतामा राखेको प्रवक्ता क्षेत्रीले बताए। त्यसका लागि नेपाल सरकारका उपलब्ध स्रोत तथा साधन खोज, उद्धार, राहत र पुनरुत्थानमा परिचालन गरिएको उनले जानकारी दिए।

खोज, उद्धार तथा राहतका लागि आवश्यक सामग्री र स्रोतको आंकलन, अनुरोध, प्राप्ति तथा परिचालनमा छिमेकी मुलुक र अन्तर्राष्ट्रिय समुदायसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ।

परराष्ट्र मन्त्रालयको आपत्कालीन नियन्त्रण कक्षले बेपत्ता विदेशी नागरिकका परिवार तथा सम्बन्धित निकायसँग निरन्तर समन्वय गरिरहेको छ। मन्त्रालयका अनुसार नेपाली कूटनीतिक नियोगहरूले पनि प्रमाणित सूचना आदानप्रदान, परिवारसँग सम्पर्क सहजीकरण, आवश्यक सहयोग तथा शव पहिचान र स्वदेश फिर्ती प्रक्रियामा सहजीकरण गरिरहेका छन्।

राहत तथा अन्तर्राष्ट्रिय सहयोग

प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेनेपाली सुरक्षा निकायका साथै अन्तर्राष्ट्रिय प्राविधिक टोलीहरू परिचालन गरिएको छ। भारतबाट आएको टनेल रेस्क्यु सम्बन्धी विशेष प्राविधिक टोली मैलुङ, चिलिमे र स्याफ्रुबेसी क्षेत्रमा परिचालित रहेको मन्त्रालयले जनाएको छ।

चीनको टोली माथिल्लो त्रिशूली–३ ‘ए’ को लुकु क्षेत्रमा तथा गणतन्त्र कोरियाको टोली पनि घटनास्थलमा परिचालित रहेको बताइएको छ।

सिंगापुरबाट विपद् पीडित पहिचान (डीभीआई) टोली परिचालनका लागि पनि समन्वय भइरहेको प्रवक्ता क्षेत्रीले बताए।

नेपालले भारत, चीन, जापान, अमेरिका, संयुक्त अरब इमिरेट्स, गणतन्त्र कोरिया लगायतका मुलुक तथा विभिन्न साझेदारबाट खोज तथा उद्धारमा सहयोग प्राप्त गरिसकेको जनाएको छ। प्राप्त सहयोगमा ब्रिज युनिट, फ्रिजर, जेनेरेटर, सोलार ल्याम्प, डीएनए परीक्षण किट, आपत्कालीन राहत उपकरण, टेन्ट, कम्बल, स्लिपिङ ब्याग, खाद्य सामग्री र औषधिलगायत छन्।

मन्त्रालयका अनुसार फ्रिजर, डीएनए परीक्षण किट, अमेरिकाबाट लाइडार प्रविधि, सिंगापुरबाट डीभीआई सामग्री, बेली ब्रिज तथा चीन र सिंगापुरबाट उच्च क्षमताका ड्रोनलगायत थप गैरखाद्य सामग्रीका लागि अनुरोध गरिएको छ। 

प्रभावित क्षेत्रमा राहत तथा मानवीय सहायता उपलब्ध गराउने कार्य जारी रहेको मन्त्रालयले जनाएको छ। भारत, चीन र यूएईबाट राहत सामग्री प्राप्त भइसकेको तथा यूएई, म्यानमार, अमेरिका, कतार, बेलायत, अस्ट्रेलिया, कोरिया, जापान, मलेसिया र सिंगापुरलगायत मुलुकबाट थप सामग्री आउने क्रममा रहेको प्रवक्ता क्षेत्रीले जानकारी दिए।

शव व्यवस्थापन तथा डिएनए परीक्षण

पहिचान हुन नसकेका तथा लामो समय पानीमा रहेका कारण सडेगलेका शवलाई अस्थायी रूपमा गाडिएको मन्त्रालयले जनाएको छ। शव गाड्नुअघि मेडिकल टोलीले प्रत्येक मृतकको डीएनए नमुना सङ्कलन गरेको बताइएको छ। परिवारले पछि शव पहिचान गर्न तथा आवश्यक धार्मिक संस्कारका लागि निकाल्न सक्ने गरी शव व्यवस्थापनसम्बन्धी निर्धारित मापदण्ड र निर्देशिका पालना गरिएको मन्त्रालयको भनाइ छ।

शव व्यवस्थापनका लागि एयरटाइट ब्याग प्राप्त भएको र थप ब्याग आउने क्रममा रहेको मन्त्रालयले जनाएको छ। डीएनए विश्लेषणमा विशेषज्ञता हासिल गरेको भारतको १८ सदस्यीय फरेन्सिक विज्ञ टोली अगस्ट २९ देखि नेपालमा कार्यरत छ।

प्रवक्ता क्षेत्रीले नेपाललाई तत्काल उद्धारका लागि प्राविधिक तथा उपकरणजन्य सहयोग आवश्यक रहेको बताए। टनेल रेस्क्यु टोली, पुरिएका शव पत्ता लगाउन लाइडार प्रविधि, शव सुरक्षित राख्न फ्रिजर तथा डीएनए विश्लेषण र फरेन्सिक सहयोगलाई तत्काल आवश्यकताका रूपमा उनले उल्लेख गरे।

भदौ १५, २०८३ सोमबार १६:३७:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।