टिचिङ अस्पतालमा ९४ मध्ये ९ शवको मात्र पहिचान, डाक्टर भन्छन्- ‘अब यहाँ भएका कुनै पनि शव पहिचानयोग्य छैनन्’
काठमाडौं : रसुवाको भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूको शव अत्यन्तै क्षतविक्षत अवस्थामा फेला परेपछि पहिचान गर्न चुनौती देखिएको छ।
हालसम्म काठमाडौंको त्रिवि शिक्षण अस्पताल (टिचिङ) को फरेन्सिक विभागमा ९४ वटा शव तथा अङ्गका टुक्राहरू ल्याइएकोमा ९ वटाको मात्र पहिचान हुन सकेको छ।
सुरुवातमा ल्याइएका सग्ला शवहरूको पहिचान गरेर परिवारलाई बुझाइएको भए पनि बाँकी शवहरूको अवस्था अत्यन्तै दर्दनाक रहेकाले डिएनए परीक्षणको विकल्प नरहेको अस्पतालले जनाएको छ।
‘सग्लो बडी एउटै छैन, डिएनएकै भर’
फरेन्सिक विभागका डा. गोपालकुमार चौधरीका अनुसार अहिले चिस्यान केन्द्रमा रहेका कुनै पनि शव पहिचान योग्य छैनन्।
‘कुनै पनि सग्लो बडी छैन। शवहरूमा अत्यधिक चोट छ, अनुहार चिनिँदैन, पेट फुटेर बाहिर निस्किएको र हातखुट्टा भाँचिएको अवस्था छ,’ डा. चौधरीले उकेरासँग भने, ‘कतिपय त अङ्गका टुक्राहरू मात्र छन्। खुट्टा मात्रै, हात मात्रै वा टाउको मात्रै पनि छ। त्यसैले अब डिएनए परीक्षणबाट मात्रै पहिचान सम्भव छ।’
५५ वटाको पोस्टमार्टम सम्पन्न, शवहरू फ्रिजमै
हालसम्म सङ्कलन भएका ९४ वटा शव तथा टुक्राहरूमध्ये ५५ वटाको पोस्टमार्टम सम्पन्न भइसकेको छ भने बाँकीको परीक्षण कार्य धमाधम भइरहेको छ।
अस्पताल परिसरमा शवको दुर्गन्ध फैलिएको विषयमा बोल्दै डा. चौधरीले वरिपरि केही दुर्गन्ध महसुस भए पनि शवहरूलाई सुरक्षित रूपमै राखिएको बताए।
‘शवहरूलाई चिह्न लगाउने गरेर हामीले सकेसम्म सुरक्षित भण्डारण गरेका छौँ। हाम्रो फ्रिजको क्षमता १५० वटा शव राख्ने भएकाले सबैलाई फ्रिजमै राखिएको छ। अहिलेसम्म जमिनमुनि व्यवस्थापन गरिएको छैन’, उनले अगाडि भने।
अस्थायी व्यवस्थापनका लागि सिडिओसँग समन्वय
पहिचान हुन नसकेका र टुक्रा मात्र रहेका शवहरूको अन्तिम व्यवस्थापनका लागि काठमाडौं जिल्ला प्रशासन कार्यालयसँग समन्वय भइरहेको छ।
डा. चौधरीका अनुसार पोस्टमार्टम सकिएपछि सनाखत हुन नसकेका शवहरूको अस्थायी व्यवस्थापनका लागि काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई जानकारी गराइसकिएको छ।
‘प्रशासनसँग कुरा भइसकेको छ। सिडिओ साबले व्यवस्थापन गर्छु भन्नुभएको छ, यो प्रक्रिया छिट्टै अगाडि बढ्दै छ’, उनले थपे।
शव परीक्षण र डिएनए स्याम्पल सङ्कलनको काम सकिएपछि स्थानीय प्रशासनको रोहवरमा ती बेवारिसे वा पहिचान नखुलेका शवका टुक्राहरूको विधिपूर्वक अस्थायी व्यवस्थापन गरिने अस्पतालले जनाएको छ।
भदौ १५, २०८३ सोमबार १३:३२:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।