बाढीको पाँच दिनपछि त्रिशूली पारी समस्या : मिल नचल्दा कुटानी-पिसानी ठप्प, पेट्रोल लिटरको २६० रुपैयाँ
नुवाकोट : गत भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीले पुर्याएको क्षतिको असर विस्तारै थप विकराल बन्दै गएको छ।
बाढीले पुलहरू बगाएर सडक सञ्जाल विच्छेद गराएको ५ दिन बितिसक्दा त्रिशूली नदी पारिका हजारौं नागरिक अभाव र सङ्कटको चक्रमा फस्न थालेका छन्।
विशेषगरी विदुर नगरपालिकाका वडा नम्बर ३, ६, ७, ८, ९, १२ र १३ का साथै म्यागङ र किस्पाङ गाउँपालिकाका बासिन्दा दैनिक उपभोग्य वस्तु, इन्धन र विद्युत् अभावको मारमा परेका छन्।
अन्धकारमा गाउँ, कुटानी-पिसानीमै ठूलो समस्या
स्थानीयका अनुसार अहिले त्रिशूली पारिका गाउँहरूमा विद्युत् आपूर्ति आंशिक मात्र छन्। विद्युत आपूर्ति भए पनि लोडसेडिङ भएको छ। राति ९ बजे आउने बत्ति विहान ११ बजेसम्म आएर फेरि जाने गरेको स्थानीय शिक्षक बैकुण्ठराज रिजालले जानकारी दिए।
‘भैरमकोट लगायतका क्षेत्रमा लोडसेडिङको अवस्था छ। विहान ११ बजे बत्ती जान्छ अनि राति ९ देखि साढे ९ बजेपछि मात्र आउँछ’, उनले उकेरासँग भने।
बाढीले बाहिरी बजारबाट चामल, दाललगायतका खाद्यान्न ल्याउने बाटो बन्द छ। गाउँमै भएको धान र मकै कुटानी-पिसानी गर्न गाउँका मिलहरू बत्ती नहुँदा चल्न सकेका छैनन्।
विद्युत पूर्ण क्षमतामा नआउँदा कुटानी पसानीको मिल पूर्ण क्षमतामा चल्न नसकेको विदुर-८ मा कुटानीपिसानि मिल राखेका स्थानीय सुमन खड्काले बताए।
‘मान्छेसँग घरमा धान छ, तर मिल नचल्दा चामल बनाएर खान पाउने अवस्था छैन। बत्ती नआएसम्म कुटानी-पिसानी पूर्ण रूपमा बन्द छ,’ खड्काले भने, ‘काठमाडौंमा रहेका आफन्तलाई चामल, तेल ल्याइदेऊ भन्नुपर्ने बाध्यता छ, तर ल्याउने बाटो कतै छैन।’
अटोमा ओसारेर प्रतिलिटर २६० रुपैयाँमा बिक्री
सडक सञ्जाल टुटेपछि पारिपट्टि इन्धनको चरम अभाव देखिएको छ। अहिले धादिङको गल्छी हुँदै अटो रिक्सामा राखेर जोखिमपूर्ण रूपमा पेट्रोल ल्याउने तयारी गरिएको छ।
विदुर-७ मा एक सहकारीमार्फत इन्धन वितरण गरिएको छ। यसरी ल्याइएको पेट्रोल प्रतिलिटर २६० रुपैयाँमा बिक्री भइरहेको छ। बाटोको दुरावस्था र ढुवानी खर्च निकै महँगो भएका कारण महँगै भए पनि पेट्रोल पाउनुलाई स्थानीयले ठूलो राहत मानेका छन्।
बिरामी बोक्ने एम्बुलेन्स, उद्धारका साधन र मोटरसाइकल चलाउन इन्धन नहुँदा थप समस्या भइरहेको स्थानीयको भनाइ छ।
बाध्यताले फर्कायो 'तुइन' युग
पुलहरू सबै बाढीले बगाएपछि वारिपारि गर्न मानिसहरू पूर्ण रूपमा थुनिएका छन्। मान्छे आवतजावत गर्न र अत्यावश्यक खाद्यान्न तार्नका लागि अब जोखिमपूर्ण ‘तुइन’को सहारा लिनुपर्ने बाध्यता आइलागेको छ।
स्थानीयका अनुसार त्रिशूली बसपार्क माथिको चौतारो अर्थात् गुम्बा नजिकैबाट पारि जानका लागि तुइन हाल्ने तयारी भइरहेको छ। तर, उक्त स्थान भौगोलिक रूपमा निकै जोखिमपूर्ण छ।
त्रिशूली नदीले भित्ता काटेर पहिरोको जोखिम रहेको उकालो ठाउँमा तुइन हाल्नु ज्यानकै बाजी लगाउनु जस्तै भए पनि स्थानीयसँग अर्को कुनै विकल्प बचेको छैन।
बाढीको विपत्तिलगत्तै उद्धार र राहतमा खटिएका निकायहरूले दीर्घकालीन र सुरक्षित विकल्प नदिने हो भने त्रिशूली पारिका गाउँहरूमा भोकमरी र मानवीय सङ्कट निम्तिने निश्चित छ।
कुटानी-पिसानी गर्न नपाएर भोकै बस्नुपर्ने र तुइनबाट नदी तर्दा ज्यान गुमाउनुपर्ने जोखिम बढ्दै गएकाले तत्काल विद्युत् सेवा सुचारु गर्न र अस्थायी फड्के वा झोलुङ्गे पुलको व्यवस्था गर्न स्थानीयले सरकारसँग माग गरेका छन्।
भदौ १५, २०८३ सोमबार १२:२१:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।