भोटेकोशी बाढी : ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन
काठमाडौं : रसुवाको भोटेकोशीमा आएको बाढीले बगाएर ल्याएका ९०३ जनाको शव फेला परेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार बिहान ९ बजेसम्म नदी किनारका विभिन्न स्थानमा ९०३ जनाको शव भेटिएका हुन्।
प्राधिकरणका अनुसार रसुवामा २४, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६२, नवलपरासी पूर्वमा २०७, नवलपरासी पश्चिममा १५१, तनहुँमा ३७ र चितवनमा २७२ शव फेला परेका हुन्।
अहिलेसम्म चार हजार २२७ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ तथा अध्यागमन कार्यालयका ३ जना रहेका छन्।
त्यस्तै, जलविद्युत् आयोजनाबाट ९३३ जना, मकवानपुरबाट ६५ जना तथा सम्पर्कविहीन विदेशी नागरिक ५९२ जना रहेको प्राधिकरणले जनाएको छ। नेपाल घुम्न आएका विदेशमा बस्ने नेपाली नागरिकमध्ये १२७ जना पनि सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ। लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना पनि सम्पर्कविहीन रहेको जनाइएको छ।
त्यस्तै, बाढीमा परेका १० हजार ४५१ जनाको उद्धार गरिएको छ। २६७ जना घाइतेमध्ये १५६ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्।
बाढीपछि हराइरहेका तथा सम्पर्कविहीन व्यक्तिको खोजी र उद्धारलाई तीव्रता दिइएको प्रहरीले जनाएको छ। उद्धार, राहत तथा पुन:स्थापनमा २० हजार ८१९ सुरक्षाकर्मी खटिएका छन्। जसमा नेपाली सेना ८ हजार ७२२, नेपाल प्रहरी ७ हजार ८९४ र सशस्त्र प्रहरी ४ हजार २०३ खटिएका छन्।
प्रभावित क्षेत्रमा परिचालित सुरक्षा टोलीले उद्धारसँगै बेपत्ताको खोजी र पीडितको व्यवस्थापनमा समेत काम गरिरहेको छ।
भदौ १५, २०८३ सोमबार १०:४५:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।