साल्पापोखरी मेलामा शिक्षकको कुटीकुटी हत्या, एउटै गाउँका ११ जना पक्राउ

साल्पापोखरी मेलामा शिक्षकको कुटीकुटी हत्या, एउटै गाउँका ११ जना पक्राउ

खोटाङ : भोजपुरको भदौरे मेलामा खोटाङका एक शिक्षकको कुटीकुटी हत्या भएको घटनामा प्रहरीले ११ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्ने सबै आरोपित मृतक शिक्षककै गाउँले हुन्।

केपिलासगढी गाउँपालिका-७, सुङदेलस्थित सूर्य माध्यमिक विद्यालयमा कार्यरत ३९ वर्षीय शिक्षक भानुभक्त राईको गत भदौ ११ गते राति हत्या भएको थियो।

भोजपुरको साल्पासिलिछो गाउँपालिका-५, दोभानेस्थित माबुमा लागेको मेला भर्न गएका बेला उनीमाथि साङ्घातिक आक्रमण भएको थियो।

जिल्ला प्रहरी कार्यालय भोजपुरले आइतबार आरोपितहरूको नाम सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा सुङदेल गाउँकै सागर कोयी राई, प्रतीक राई, निशान राई (माइकल), सुशील राई, अमर राई, उमेश दुमी राई, तारादेवी राई, सुमिता राई, तेजकुमारी राई, देविका राई र चन्द्रकला राई रहेका छन्।

प्रहरी निरीक्षक महेन्द्र पराजुलीका अनुसार भदौ १२ गते नै पक्राउ परेका उनीहरूलाई आइतबार जिल्ला अदालत भोजपुरमा उपस्थित गराएर अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको छ।

पुरानो रिसिइबी कि सामान्य विवाद ?
सूर्य माविका प्रधानाध्यापक ललितचन्द्र राईका अनुसार राहत कोटामा कार्यरत शिक्षक राई विद्यालयमा लगातार तीन दिन बिदा परेकाले सङ्खुवासभा पुगेर फर्कने भन्दै गाउँबाट हिँडेका थिए। सोही दिन साँझ उनी धार्मिक तथा पर्यटकीयस्थल साल्पापोखरी पुगेका थिए।

प्रत्यक्षदर्शीका अनुसार मेलामा शिक्षक राई र गाउँकै निशान राई (माइकल) बीच साँझ विवाद भएको थियो। मृतक राई र माइकलबीच गाउँमा पहिलेदेखि नै मनमुटाव र झगडा हुँदै आएको छिमेकीहरू बताउँछन्।

प्रहरीले यसलाई 'सामान्य विवादबाट सुरु भएको घटना' भने पनि मृतकका आफन्तले भने पुरानो रिसिइबी साध्न माइकलकै योजनामा राति कुटपिट गरी हत्या गरिएको दाबी गरेका छन्। प्रारम्भिक अनुसन्धानबाट पनि पुरानो रिसिइबीका कारण आक्रमण भएको पुष्टि हुँदै गएको प्रहरीको भनाइ छ।

मृतक शिक्षक खोटाङका भए पनि घटनास्थल भोजपुर जिल्लामा पर्ने भएकाले अनुसन्धान र कारबाहीको सम्पूर्ण कानुनी प्रक्रिया जिल्ला प्रहरी कार्यालय भोजपुरले नै अघि बढाएको छ। जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक निराजन बस्नेतले यस घटनाको अनुसन्धानमा खोटाङ प्रहरीले आवश्यक समन्वय र सहयोग गरिरहेको जानकारी दिए।

यता, शिक्षक हत्याको आरोपमा एउटै गाउँका ११ जना एकैसाथ पक्राउ परेपछि सुङदेल गाउँमा तनाव र सन्नाटा छाएको स्थानीयले बताएका छन्।

भदौ १५, २०८३ सोमबार ०९:५६:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।