बाढीले सर्वस्व गुमाएको त्रिभुवन त्रिशूली माविको बचेको दुई वटा बसमा पनि तोडफोड

बाढीले सर्वस्व गुमाएको त्रिभुवन त्रिशूली माविको बचेको दुई वटा बसमा पनि तोडफोड

नुवाकोट : प्राकृतिक विपत्तिको मार खेपिरहेको नुवाकोटको पहिलो विद्यालय ‘त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय’ मानवीय क्रूरताको समेत सिकार बनेको छ।

केही समयअघि त्रिशूली नदीमा आएको बाढीले विद्यालयको सम्पूर्ण भौतिक संरचना बगरमा परिणत गरिदिएको थियो।

बाढीबाट बचेका दुईवटा बस मात्र विद्यालयको अन्तिम भौतिक सम्पत्तिका रूपमा बाँकी थिए। तर, सुरक्षित राखिएको त्यही बसमाथि पनि अज्ञात समूहले तोडफोड गरेको छ।

विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीका अनुसार विदुर नगरपालिका-९, कोलनीस्थित प्लास्टर एरियामा पार्किङ गरी राखेको अवस्थामा राति बसमाथि ढुंगामुढा गरिएको हो। ढुंगा प्रहारबाट बसका सिसा फुटेका छन् भने बसमा क्षति पुगेको छ।

यस घटनाबाट दुःखी बनेका प्रधानाध्यापक दवाडीले सामाजिक सञ्जालमार्फत आक्रोश र पीडा पोखेका छन्।

उनले लेखेका छन्, ‘भौतिक सम्पत्तिको रूपमा बचेका दुईवटा बसमध्ये पार्किङ गरिराखेको बसमा ढुंगा हानेर यस्तो हालत बनाइएको छ। यस्तो अवस्थामा सुरक्षा सबैको दायित्व हो भन्ने बुझौँ, धेरै रिस नगरौँ।’

उनले आफ्नो स्टाटसमा गृहमन्त्रीलाई समेत ट्याग गर्दै शान्ति सुरक्षाको प्रबन्ध मिलाउन ध्यानाकर्षण गराएका छन्।

बाढीले तहसनहस विद्यालय र संरचना
भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीले त्रिभुवन त्रिशूली माविको नामोनिसान मेटाएको थियो।

बाढीको चपेटामा परेर सर्वस्व गुमाएको यस ऐतिहासिक विद्यालयको पुनर्निर्माणको चिन्ता भइरहेका बेला बचेको एक मात्र सम्पत्तिमाथि भएको तोडफोडले विद्यालय परिवार र स्थानीयलाई थप मर्माहत बनाएको छ।

हाल नुवाकोटको जनजीवन बाढीका कारण अत्यन्तै कष्टकर बनेको छ। त्रिशूली नदीको बाढीले सदरमुकाम विदुर र जिल्ला अस्पताल जोड्ने सबै पुल बगाइसकेको छ।

पुल बग्दा आवागमन ठप्प हुनुका साथै बिरामीलाई अस्पतालसम्म पुग्न गम्भीर समस्या भइरहेको छ। यस्तो विपत्तिको समयमा विद्यालयको सम्पत्तिमाथि भएको आक्रमणलाई लिएर स्थानीयले दोषीमाथि कारबाहीको माग गरेका छन्।

भदौ १५, २०८३ सोमबार ०८:१२:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।