चितवनमा पहिचान नखुलेका १ सय ९९ शवको व्यवस्थापन, ८७ शवको अवशेष मात्रै
चितवन : रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा भेटिएका शवहरूमध्ये सनाखत हुन नसकेका १ सय ९९ वटा शवको व्यवस्थापन गरिएको छ।
भरतपुर महानगरपालिका-१ देवघाट जङ्गलमा ती शवको आइतबार रातिसम्म व्यवस्थापन गरिएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म भेटिएका २ सय ७२ शवमध्ये १ सय ९९ वटाको व्यवस्थापन गरिएको छ भने १२ वटाको सनाखत भएको छ।
शवहरूको डिएनए नमूना सुरक्षित राख्दै जङ्गलमा व्यवस्थापन गरिएको उनले बताए। सनाखत भएका शव परीक्षणपछि परिवारले बुझेर लगेका छन्।
डिएनए परीक्षण बेपत्ता भएकाको परिवारसँग मिलेमा राखिएको ठाउँबाट दिन मिल्ने गरी संकेत चिह्न राखेर शव व्यवस्थापन गरिएको छ।
यस्तै हालसम्म फेला परेका २ सय ७२ शवमध्ये १ सय १० पुरुष, ६२ महिला, सात बालक, छ बालिका र ८७ अवशेष रहेका छन्।
नदी किनारमा शव फेला पर्ने क्रम जारी रहेकाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई संयुक्त रूपमा खोजी तथा व्यवस्थापनमा परिचालन गरिएको छ।
भदौ १५, २०८३ सोमबार ०७:२१:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।