रसुवा बाढी : ७८८ वटा शव फेला, उद्धारका लागि सात हजार ८९४ जना प्रहरी परिचालन

रसुवा बाढी : ७८८ वटा शव फेला, उद्धारका लागि सात हजार ८९४ जना प्रहरी परिचालन

काठमाडौं : रसुवाको भोटेकोशीमा आएको बाढीले बगाएका ७८८ जनाको शव भेटिएका छन्। नेपाल प्रहरीका अनुसार, शनिबार अपराह्न ३ बजेसम्म नदी किनारका विभिन्न स्थानमा ७८८ जनाको शव भेटिएका हुन्।

फेला परेका शवमध्ये रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, चितवनमा २६४, गोरखामा ५८, तनहुँमा ३७, नवलपरासी पूर्वमा १९४ र नवलपरासी पश्चिममा १२० वटा रहेका छन्।

त्यस्तै, बाढीमा परेका दुई हजार ७४२ जना घाइतेहरुको उद्धार गरिएको छ। जिल्लागत विवरणअनुसार रसुवामा ७१९, नुवाकोटमा दुई हजार २० र धादिङमा तीन जना रहेका छन्।

काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत १६० जना डिस्चार्ज भएका छन्।

२५ जना प्रहरी कर्मचारी हालसम्म सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि सात हजार ८९४ जना प्रहरी परिचालन गरिएको छ। उनीहरूले उद्धार, राहत तथा प्रभावित नागरिकको सुरक्षाका लागि विभिन्न स्थानमा खटिएर काम गरिरहेका छन्।

बाढीपछि हराइरहेका तथा सम्पर्कविहीन व्यक्तिको खोजी र उद्धारलाई तीव्रता दिइएको प्रहरीले जनाएको छ। प्रभावित क्षेत्रमा परिचालित सुरक्षा टोलीले उद्धारसँगै बेपत्ताको खोजी र पीडितको व्यवस्थापनमा समेत काम गरिरहेको छ।

भदौ १४, २०८३ आइतबार १७:०१:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।