त्रिशूली ३-ए टनेलमा प्वाल बनाएर ब्लास्टिङको तयारी, टनेलभित्रबाट आएन प्रतिक्रिया

त्रिशूली ३-ए टनेलमा प्वाल बनाएर ब्लास्टिङको तयारी, टनेलभित्रबाट आएन प्रतिक्रिया

काठमाडौं : नुवाकोटमा रहेको माथिल्लो त्रिशूली ३ 'ए' जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धारमा खटिएको टोलीले टनेल भित्र छिर्न प्वाल बनाएका छन्। उद्धारका लागि नेपाली सेनासहित खटिएको टोलीले एक्जाभेटरको सहयोगमा खनेर प्वाल बनाएका हुन्।

बाढी गएको चार दिनसम्म पनि जलविद्युत केन्द्रहरूका टनेलमा फसेकाहरूको खोजी तीव्र नबनेपछि फसेका परिवारजनले त्रिशूलीमा रहेको सेनाको ब्यारेक बाहिर बसेर दबाब बढाएका थिए। तालिम प्राप्त व्यक्ति र उपकरणहरू लैजानुको साटो गृहमन्त्री सुधन गुरुङ जाने, रास्वपाका सांसदहरू जाने गरेको भन्दै उनीहरू आक्रोशित बनेपछि शनिवारबाट खोजीको काम तीव्र पारिएको थियो।

प्रधानमन्त्री सचिवालयका अनुसार आइतबार उद्धारमा सेनाका ६६ जना, तालिमप्राप्त कुकुरसहित सशस्त्र प्रहरी बलका १८ जना र नेपाल प्रहरीका ६ जना गरेर अहिले ९० जना खटिएका छन्।

टोलीले दिउँसो २ बजे सुरुङको मुख्य भागमा पुगेर प्वाल बनाएको थियो। डोरीको सहायताले टोली तल झरेर बोलाउँदा भित्रबाट कुनै प्रतिक्रिया आएको छैन। त्यसपछि ठूला उपकरण, ब्लास्टिङ र प्वाल फराकिलो पार्ने काम एकसाथ अगाडि बढेको बताइएको छ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार ११ वटा जलविद्युत् आयोजनामा कार्यरत ८ सय ९८ जना अझै सम्पर्कविहीन छन्।

माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाबाट ५७६ जना सम्पर्कविहीन भएकामा २५४ जनाको उद्धार भएको छ। आयोजनाको सुरुङभित्र अझै पनि ३००  श्रमिक तथा कर्मचारी फसेको बताइएको छ। 

रसुवागढी जलविद्युत् आयोजनाका ९३ जना सम्पर्कविहीन छन्। रसुवा भोटेकोशी जलविद्युत् आयोजनाका चार जना सम्पर्कविहीन छन्। लाङटाङ खोला जलविद्युत् आयोजनाबाट ४२ जना सम्पर्कविहीन भएकामा १८ जनाको उद्धार भएको छ।

चिलिमे जलविद्युत् आयोजनाका ८ , मैलुङ खोला जलविद्युत् आयोजनाका ७ , त्रिशूली जलविद्युत् आयोजनाका एक, देवीघाट जलविद्युत् आयोजनाका एक र माथिल्लो त्रिशूली ‘थ्री’ ए जलविद्युत् आयोजनाबाट ४२ जना सम्पर्कविहीन  छन्।

माथिल्लो त्रिशूली ‘थ्री’ बी जलविद्युत् आयोजनाबाट १२२ जना सम्पर्कविहीन भएकामा ९१ जनाको जीवितै उद्धार गरिएको छ। मिडल त्रिशूली गङ्गा जलविद्युत् आयोजनाका दुई जना सम्पर्कविहीन छन्। रसुवाको हाकु–२१६ को सुरुङमा मात्र तीन सय बढी फसेको अनुमान सार्वजनिक भएको छ।

भदौ १४, २०८३ आइतबार १६:०१:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।