भोटेकोशी बाढी : मृतकको संख्या ७३४ पुग्यो, करिब २५ सय जना अझै सम्पर्कविहीन

भोटेकोशी बाढी : मृतकको संख्या ७३४ पुग्यो, करिब २५ सय जना अझै सम्पर्कविहीन

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको विनाशकारी बाढीमा परेर हालसम्म ७३४ जनाको मृत्यु भएको पुष्टि भयो भने दुई हजार ४९८ जना अझै सम्पर्कविहीन छन्। 

आइतबार बिहान ९ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्रता दिइएको जनायो। 

प्राधिकरणका अनुसार चितवनमा सबैभन्दा बढी २५९, नवलपरासी (पूर्व) मा १८४ र नवलपरासी (पश्चिम) मा ८२ शव फेला परेका छन्। त्यसैगरी गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३६ र रसुवामा १३ जनाको शव फेला परे।

सम्पर्कविहीन रहेका दुई हजार ४९८ जनामध्ये जलविद्युत् आयोजनाका ९३३ कर्मचारी, ५८९ विदेशी नागरिक र १२७ जना विदेशी पर्यटकसँग गएका नेपाली रहेका छन्। यस्तै रसुवाबाट ५६२ र नुवाकोटबाट ११५ जना अझै सम्पर्कविहीन छन् भने कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानहरू समेत रहेका छन्।

उद्धारमा १९ हजार सुरक्षाकर्मी परिचालित
खोजी, उद्धार र राहत कार्यमा सरकारले १९ हजार ८९५ सुरक्षाकर्मी परिचालन गरिएको छ। जसमा नेपाली सेनाका आठ हजार ३९९, नेपाल प्रहरीका सात हजार २९३ र सशस्त्र प्रहरीका चार हजार २०३ जना रहेका छन्। हालसम्म ८ हजार १८६ जनाको उद्धार गरिएको छ। 

जलविद्युत्को सुरुङमा थुनिएका २७९ जना र २२७ जना विदेशी नागरिकको हेलिकप्टरमार्फत उद्धार गरिएको प्राधिकरणले जनाएको छ।

राहत वितरण र बजेट व्यवस्थापन
सरकारले प्रभावित क्षेत्रमा राहतको लागि रसुवा र नुवाकोट जिल्लालाई एक/एक करोड र धादिङलाई ५० लाख रुपैयाँ उपलब्ध गराइएको प्राधिकरणले जनाएको भने १५ वटा पालिकालाई ६ करोड ७५ लाख रुपैयाँ पठाएको छ।

अत्यावश्यक सेवाका लागि नुवाकोटका विभिन्न आयल स्टोरमा ३६ हजार लिटर डिजेल र २४ हजार लिटर पेट्रोल मौज्दात राखिएको छ। हवाई इन्धनको १४ हजार लिटर मौज्दात रहेको र २५ हजार लिटर खपत भइसकेको छ।

बाढीमा परेर घाइते भएका २४२ जनाको विभिन्न अस्पतालमा उपचाररत र डिस्चार्ज भइरहेको प्राधिकरणले जनायो। प्रभावित क्षेत्रमा सर्जिकल मेडिकल टिम समेत परिचालन गरिएको छ। पहिचान हुन नसकेका शवहरूलाई विभिन्न जिल्लाका २१ वटा अस्पतालमा राखिएको प्राधिकरणले जनाएको छ।  

भदौ १४, २०८३ आइतबार १०:०३:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।