शव व्यवस्थापनमा मन्त्री मेहताको प्रष्टीकरण : ‘शव गाड्नु नष्ट गर्नु होइन’
काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेर मृत्यु भएका तर पहिचान हुन नसकेका शवहरूलाई स्वास्थ्य मापदण्डअनुसार वैज्ञानिक विधिबाट व्यवस्थापन गर्न सुरु गरिएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सामाजिक सञ्जालमार्फत सम्भावित संक्रमण र महामारीको जोखिमलाई ध्यानमा राखेर प्रचलित कानुनी प्रक्रियाअनुसार शवहरूको सुरक्षित व्यवस्थापन भइरहेको बताइन्।
उनका अनुसार शव कुहिने क्रममा वातावरणीय प्रदूषण र सार्वजनिक स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले स्वास्थ्य मापदण्डअनुसार व्यवस्थापन गरिएको हो।
"शवलाई गाड्नुको उद्देश्य शव नष्ट गर्नु होइन," उनले भनिन्, "शव कुहिने क्रममा वातावरणीय तथा सार्वजनिक स्वास्थ्यसम्बन्धी जोखिम बढ्न सक्ने भएकाले सम्भावित संक्रमण तथा महामारीको जोखिमलाई ध्यानमा राख्दै प्रचलित स्वास्थ्य मापदण्ड र कानुनी प्रक्रियाअनुसार सुरक्षित व्यवस्थापन गरिएको हो।"
प्रत्येक शवबाट डिएनए लगायतका आवश्यक नमुनाहरू सुरक्षित राखिएकोले भविष्यमा पहिचान खुलाउन सकिने उनले बताइन्। पहिचान खुलेपछि परिवारलाई उनीहरूको धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार अन्तिम संस्कार गर्न दिइने मेहताले बताइन्।
"शवबाट आवश्यक डिएनए लगायतका नमुना सुरक्षित राखिने भएकाले भविष्यमा पनि पहिचान गर्न सकिने व्यवस्था गरिएको छ," उनले भनेकी छन्, "पहिचान खुलेपछि परिवारलाई आफ्नो धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार अन्तिम संस्कार गर्ने अवसर सुनिश्चित गरिनेछ।"
विपद्को संवेदनशील समयमा अपुष्ट सूचना र भ्रामक सामग्रीले अन्योल सिर्जना गर्न सक्ने भन्दै मेहताले आधिकारिक स्रोतबाट आएका सूचनामा मात्र विश्वास गर्न आग्रह गरिन्।
भदौ १४, २०८३ आइतबार ०९:११:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।