ल्हेन्दे खोला हुँदै भोटेकोशीमा फेरि बाढी, महाशाखाले भन्यो : ‘ठूलो जोखिम छैन’
काठमाडौं : भोटेकोशी नदीमा बाढीको बहाव सामान्य बढे पनि तत्काल ठूलो जोखिम नरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। आइतबार बिहान साढे ४ बजे सूचना जारी गरेर महाशाखाले रसुवा, नुवाकोट र धादिङसम्मका नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन अपिल गरेको थियो।
साथै जिल्ला प्रहरी कार्यालय रसुवाबाट भोटेकोशी नदीमा पानीको बहाव बढेको आवाज सुनिएको भन्ने प्रारम्भिक सूचना प्राप्त भएको सूचना पनि जारी गरेको थियो। उक्त सूचनामार्फत यसबारे थप पुष्टि हुनासाथ अपडेट गराइने भनिएको थियो।
तर, त्यसको करिब सवा घण्टापछि बिहान ५:४५ बजे महाशाखाले अर्को अद्यावधिक सूचना जारी गरेर स्थिति सामान्य रहेको भन्यो। महाशाखाले नुवाकोट क्षेत्रमा बहाव केही बढेको देखिए पनि त्यो ठूलो नभएको र तत्काल रसुवा, नुवाकोट तथा धादिङसम्मका नदी आसपासको क्षेत्रमा बाढीको ठूलो जोखिम नरहेको प्रष्ट पार्यो।
महाशाखाद्वारा जारी सूचनामा भनिएको छ, "जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार भोटेकोशी नदीमा बाढीको बहाव बढेको प्राप्त सूचनाअनुसार हाल नुवाकोटमा बाढी केही बढेको, तर ठूलो नरहेको हुँदा यसै सूचनालाई आधारमानी हाललाई रसुवा, नुवाकोट, धादिङसम्म नदी आसपासको क्षेत्रमा ठूलो बाढीको जोखिम नरहेको जानकारी गराउदछौं।"
यता रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुपप्रसाद अधिकारीले ल्हेन्दे खोला हुँदै भोटेकोशीमा पुनः बाढी आएको जानकारी दिए। उनले बाढीका कारण मानवीय तथा भौतिक क्षतिबाट जोगिन तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेका छन्।
यसअघि यही भदौ १० गते बुधबार ल्हेन्दे खोला हुँदै भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका विभिन्न क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति भएको थियो।
भदौ १४, २०८३ आइतबार ०७:२१:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।