सामान्य ड्रिल र साबेलको भरमा सुरुङ खोतल्न खटियो सरकार

सामान्य ड्रिल र साबेलको भरमा सुरुङ खोतल्न खटियो सरकार
तस्बिर : प्रधानमन्त्रीको सचिवालय।

काठमाडौं : सरकारी प्रचार संयन्त्र, सत्ता निकट सामाजिक सञ्जाल प्रयोगकर्ताका सामग्रीहरू हेर्ने हो भने यस्तो देखिन्छ नेपालमा आएका विपद्मा वर्तमान सरकार जतिको सक्रिय कोही थिएन। तर वास्तविकतामा भोटेकोशीमा बाढी आएको चौथो दिनसम्म टनेलहरुमा फसेकाहरूको उद्धार हुन सकेन। 

यस्तो प्रकृतिको उद्धार जटिल हो, नेपालसँग अनुभवी जनशक्ती, आवश्यक उपकरण र सामग्रीको समेत अभाव छ। यस्तोमा सरकारले तत्काल प्रविधि र दक्ष जनशक्तिसहितको सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायको सहयोग माग्न सक्थ्यो। तर सरकार रोक्नतिर लाग्यो।

२०७२ को भूकम्पको समयमा प्रविधि र खोजी र उद्धारको अनुभवसहितको अन्तर्राष्ट्रिय सदस्यहरूले धेरै नेपालीको ज्यान जोगाएका थिए। तर संकटमा सरकारले प्रारम्भमा अन्तर्राष्ट्रिय टिमलाई राहत र उद्धारमा स्वागत नगर्ने नीति लियो। पछि सर्तसहित मात्र आउन दिने भन्यो।

सुरुङ खोतल्न खटिएको जनशक्ती।अति आलोचनापछि बल्ल सरकारले शनिबारबाट सरकारी टोली बेल्चा र सामान्य ड्रिल मेसिनको भरमा रसुवास्थित माथिल्लो त्रिशूली–३ बी लगायतको जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धारमा खटियो।

कति छन् हराएका ?

ऊर्जा मन्त्रालयका अनुसार हालसम्म ३ सय ६१ जनाको मात्र उद्धार भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार ११ वटा जलविद्युत् आयोजनामा कार्यरत ८ सय ९८ जना अझै सम्पर्कविहीन छन्।

उद्धारमा खटिएको नेपाल पर्वतारोहण संघले विज्ञप्ति नै निकालेर बाढी, हिलो र साँघुरो सुरुङभित्र उद्धार गर्न सक्ने विशेषज्ञ टोलीसहित आवश्यक उपकरण तत्काल परिचालन गर्नुपर्ने उल्लेख गरेको छ।

संघको विज्ञप्तिमा उद्धारका लागि उच्च क्षमताको पानी निकाल्ने प्रणाली, हिलो र भग्नावशेष हटाउने उपकरण, श्वासप्रश्वास तथा जीवनरक्षा प्रणाली र मेडिकल तथा आकस्मिक उद्धार टोली आवश्यक रहेको जनाएको छ। 

त्रिशूली ३-बी आयोजनाका १२ जना कर्मचारी हराइरहेका छन्। रसुवाको हाकु–२१६ को सुरुङमा मात्र तीन सय बढी फसेको अनुमान सार्वजनिक भएको छ। त्रिशूली–३ ‘ए’, रसुवागढी जलविद्युत् केन्द्रका चार कर्मचारीको शुक्रवार उद्धार भएको थियो।

प्रधानमन्त्रीको सचिवालयका अनुसार अहिले त्रिशूली थ्री-ए मा फसेकाहरूको उद्धारका लागि राती पनि काम भइरहेको छ। बेलुका फ्ल्ड लाइट जडान गरेर काम भइरहेको छ।

अनुभवी जनशक्ति माग्नुको साटो आउनै रोक

भारत र चीनमा सुरुङ खन्नेक्रममा भएका दुर्घटनाहरूमा उद्धार गरेको अनुभवी जनशक्ति भए पनि उनीहरूसँग सरकारले सहयोग माग्न भन्दा उद्धार र खोजीका लागि विदेशी टोलीलाई निषेधमा लाग्यो।

आलोचना भएपछि सरकारले विदेशी टोलीका लागि राजी त भयो तर सर्तसहित। परराष्ट्र मन्त्री शिशिर खनालले निश्चित कामै तोकेर उद्धारका लागि सहयोग मागिएको बताएका थिए। उनले शनिवार पत्रकार सम्मेलनमा भोटेकोशी बाढीका कारण सुरुङहरूमा फसेकाको उद्धारका लागि विशेषज्ञ सहयोग मागिएको बताएका थिए।

उनका अनुसार सुरुङबाट उद्धारका लागि भारतबाट ११ सदस्यीय विशेषज्ञ प्राविधिक टोली परिचालन भइसकेको बताएका थिए। त्रिशूली थ्री-ए र बीमा केही चिनिया प्राविधिक खटिएको बताइएको छ।

भदौ १४, २०८३ आइतबार ०१:०८:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।