भोटेकोशी बाढीमा ज्यान गुमाएकी शिक्षिका समी कुमालको शव आफन्तको जिम्मा
बुटवल : रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएकी गोरखाकी २८ वर्षीया शमी कुमालको शव आफन्तलाई बुझाइएको छ।
पालुङटार नगरपालिका निवासी कुमालको शव पश्चिम नवलपरासीको त्रिवेणी क्षेत्रमा फेला परेको थियो। पहिचानपछि प्रहरीले उनका दाजु रमेशबहादुर कुमाललाई शव जिम्मा लगाएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।
शिक्षण पेसामा आबद्ध कुमाल साथीहरूसँग घुम्नका लागि गएको समयमा भोटेकोशीमा आएको बाढीमा परेकी थिइन्। बाढीमा परेर बेपत्ता भएकी उनको शव केही दिनपछि त्रिवेणी क्षेत्रमा फेला परेको थियो।
बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार बाढीमा परी मृत्यु भएका तथा विभिन्न स्थानबाट फेला परेका शव र शरीरका अंगहरू लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएका छन्। अस्पतालमा हालसम्म १८ वटा शव तथा हात, खुट्टालगायत शरीरका पाँच वटा अंग राखिएको उनले बताए।
यसैगरी, भैरहवास्थित भीम अस्पतालमा पनि बाढीमा परी मृत्यु भएका तीन जनाको शव राखिएको प्रहरीले जनाएको छ।
भदौ १३, २०८३ शनिबार २१:१७:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।