भोटेकोशीको बाढीपछि नौ जलविद्युत् आयोजनाका ५३७ श्रमिक अझै सम्पर्कविहीन

भोटेकोशीको बाढीपछि नौ जलविद्युत् आयोजनाका ५३७ श्रमिक अझै सम्पर्कविहीन

काठमाडौं : भोटेकोशी नदीमा बुधबार गएको बाढीका कारण रसुवा र नुवाकोटमा निर्माणाधीन तथा सञ्चालित नौ वटा जलविद्युत् आयोजनाका ५३७ जना कर्मचारी एवं श्रमिकहरू अझै सम्पर्कविहीन छन्।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अनुसार बाढीका कारण ती आयोजनामा कार्यरत ८९८ जना सम्पर्कविहीन भएकोमा हालसम्म ३६१ जनाको उद्धार भइसक्यो। अन्यको खोजी कार्य जारी छ।

दुई सय १६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाबाट ५७६ जना सम्पर्कविहीन भएकामध्ये २५४ जनाको उद्धार भइसकेको छ। सोही आयोजनाको सुरुङमा अझै पनि ३०० जना श्रमिक तथा कर्मचारी फसेको बताइन्छ। अहिले सो सुरुङमार्गमा खोजी भइरहेको छ।

त्यसैगरी, १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाबाट पनि ९३ जना सम्पर्कविहीन छन्। रसुवा भोटेकोशी जलविद्युत् आयोजनाबाट चार जना सम्पर्कविहीन भएको इप्पानले जनाएको छ। लाङ्टाङ खोला जलविद्युत् आयोजनाबाट ४२ जना सम्पर्कविहीन भएकामध्ये अहिलेसम्म १८ जनाको उद्धार भएको छ।

त्यसैगरी, चिलिमे हाइड्रोपावरबाट आठ जना सम्पर्कविहीन छन्। मैलुङ खोला हाइड्रोपावरबाट सात जना सम्पर्कविहीन छन्। त्रिशूली जलविद्युत् आयोजनाबाट एक जना सम्पर्कविहीन छन्। देवीघाट जलविद्युत् आयोजनाबाट पनि एक जना सम्पर्कविहीन छन्। माथिल्लो त्रिशूली ‘थ्री’ ए जलविद्युत् आयोजनाबाट ४२ जना सम्पर्कविहीन छन्।

माथिल्लो त्रिशूली ‘थ्री’ बी जलविद्युत् आयोजनाबाट १२२ जना सम्पर्कविहीन भएकामध्ये ९१ जनाको जीवितै उद्धार गरिएको छ। मिडल त्रिशूली गङ्गा जलविद्युत् आयोजनाबाट दुई जना सम्पर्कविहीन छन्।

भदौ १३, २०८३ शनिबार १८:४७:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।