साझा समृद्धिको अभ्यास : सैनामैनामा सामूहिक अम्बा खेती

साझा समृद्धिको अभ्यास : सैनामैनामा सामूहिक अम्बा खेती

बुटवल : सैनामैना-१ पर्रोहाको अम्बा बगैँचामा पुग्दा बिहानैदेखि किसानहरूको चहलपहल देखिन्थ्यो। कोही पाकेका अम्बा टिपिरहेका थिए, त कोही बजार लैजानका लागि तिनलाई गुणस्तर र साइजअनुसार छुट्ट्याउनमा व्यस्त। बोटैपिच्छे लटरम्म फलेका ताइवान पिङ्क प्रजातिका अम्बाले गर्दा यहाँको वातावरण हराभरा थियो।

तर, यो कुनै एक किसानको मेहनतको परिणाम भने होइन, बरु ४७ जना किसानको साझा श्रम, लगानी र जिम्मेवारीबाट आर्जित बगैँचा हो। त्यही बगैँचामा भेटिए, प्रेम सुवेदी। 

विसं २०२० सालमा बागलुङको जैमिनी नगरपालिका-७ मा जन्मिएका सुवेदीको परिचय अहिले राजनीतिक कार्यकर्ताभन्दा बढी किसानका रूपमा स्थापित हुँदै छ। उनले पाँच कट्ठा जमिनमा सुरु गरेको अम्बा खेती अहिले सामूहिक खेतीको अभियानमा रूपान्तरण भएको छ।

प्रेम सुवेदीको जीवनको उर्वर समय राजनीतिक क्रान्तिको मैदानमै बित्यो। १३ वर्षको कलिलो उमेरमै कम्युनिष्ट आन्दोलनमा होमिएका सुवेदी २०४१ सालदेखि पूर्णकालीन कार्यकर्ता बने। चौथो महाधिवेशन, मसाल, २०६३ को एकता हुँदै क्रान्तिकारी माओवादीसम्म उनी सेल कमिटीदेखि केन्द्रीय तहको जिम्मेवारीमा रहे।

हाल क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको केन्द्रीय राजनीतिमा रहेर ‘उत्पादन विभाग’ सम्हालिरहेका सुवेदीलाई धेरैले अचेल नेताका रूपमा मात्र होइन, एक उद्यमी किसानका रूपमा पनि चिन्न थालेका छन्। राजनीतिमा लामो समय बिताएका उनलाई धेरैले अचेल सोध्ने गर्छन्-‘तपाईं राजनीतिमा हुनुहुन्छ कि किसान हो?’

‘राजनीतिले भाषण मात्र गर्ने होइन, उत्पादनलाई गाइड गर्नुपर्छ’ भन्ने अठोटका साथ उनी रातो झण्डा बोक्ने हातहरूले कुटो-कोदालो समातेर माटोको क्रान्तिमा होमिएका थिए।

राजनीतिलाई उत्पादनसँग जोड्ने ध्येयका साथ उनले २०७६ सालमा भारत पुगेर अम्बा (बेलाउती) खेतीको अध्ययन भ्रमण गरे। अध्ययनपछि २०७७ सालमा तत्कालीन क्रान्तिकारी माओवादीको प्रदेश इन्चार्ज छँदा उनले प्युठानमा पार्टी र व्यक्ति मिलेर संस्थागत अम्बा खेतीको सुरुवात गराए। प्युठानको सफलतापछि उनले रुपन्देही जिल्ला पार्टी र स्थानीयलाई जोडेर आफ्नै ५ कट्ठा जमिनमा व्यावसायिक ताइवान पिङ्क जातको बेलाउती खेती सुरु गरे।

२०७८ सालदेखि आफ्नै ५ कट्ठामा सुरु गरेको यो खेतीबाट उनले वार्षिक दुई/तीन लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन्। बाह्रैमासे फल्ने र वर्षमा तीन पटकसम्म व्यवस्थित उत्पादन दिने यो ताइवान पिङ्क बेलाउतीबाट उनको ५ कट्ठा क्षेत्रफलमा ३५ क्विन्टलसम्म उत्पादन हुने गर्छ। यद्यपि, कृषिका आफ्नै जोखिम छन्।

"यस वर्ष रोगको समयमै रोकथाम गर्न नसक्दा १२ क्विन्टल जति बेलाउती नोक्सान भयो, जसले करिब २ लाखको घाटा भयो," सुविधाले भने, "तर पनि माटोसँगको यो यात्रामा म पूर्ण सन्तुष्ट छु।"

‘आत्मनिर्भर’ को लोभलाग्दो सामूहिक अम्बा खेती
व्यक्तिगत ५ कट्ठाको सफलतापछि सुवेदीको ध्यान सामूहिक समृद्धितर्फ मोडियो। आफ्नै अनुभव र रुपन्देही पार्टीको भावनालाई जोडेर दुई वर्षअघि रुपन्देहीको सैनामैना नगरपालिका-१ पर्रोहामा पर्रोहा माविको करिब पौने तीन बिघा (ढाई बिघाभन्दा बढी) जग्गा ९ वर्षका लागि भाडामा लिइयो। अनि त्यही आत्मनिर्भर बहुउद्देश्यीय कृषक समूह (कृषि फार्म) बाट अम्बाको खेती सुरु गरियो।

आज सैनामैना-१ पर्रोहा टोल पुग्ने जोकोहीको ध्यान बगैँचाभरि लटरम्म फलेका हरिया र रसिला ताइवान पिङ्क अम्बाले तान्छ। यो बगैँचा कुनै एक धनाढ्यको निजी फार्म होइन, ४७ जना सेयर सदस्यहरूको साझा पसिना र लगानीको नतिजा हो। यस फार्ममा ५१ प्रतिशत लगानी पार्टीको छ भने बाँकी ४९ प्रतिशत सेयर सदस्य किसानहरूको।

पूर्ण रूपमा अर्गानिक विधिमा आधारित यो खेतीमा रासायनिक विषादी प्रयोग गरिँदैन। गोडमेल, मल व्यवस्थापन, उत्पादन सङ्कलनदेखि बजारीकरणसम्मका काम ४७ जना किसानले मिलेर गर्छन्। सामूहिक रूपमा काम गर्दा व्यक्तिगत खेतीमा देखिने जनशक्ति अभाव, उच्च लागत र व्यवस्थापनका चुनौती सहजै हल भएका छन्।

यस सामूहिक अभियानले सामाजिक रूपान्तरणको ढोका पनि खोलेको छ। फार्ममा महिलाहरूको सहभागिता लोभलाग्दो छ। स्थानीय कृषक लक्ष्मी न्यौपानेका अनुसार सामूहिक खेतीले गाउँका महिलाहरूलाई घरभित्रबाट निकालेर उत्पादनमूलक र आत्मनिर्भर काममा जोडेको छ। 

यस्तै, वैदेशिक रोजगारीबाट फर्किएका युवा युवराज अर्याल पनि यही बगैँचामा आफ्नो भविष्य देख्छन्। विदेशको कडा परिश्रमपछि आफ्नै गाउँमा केही गर्ने उद्देश्यले जोडिएका अर्याल भन्छन्- "उचित योजना र मेहनत भए कृषिबाट स्वदेशमै सम्मानजनक आम्दानी गर्न सकिन्छ।"

गत वर्ष १५ क्विन्टल मात्र उत्पादन दिएको सामूहिक फार्मको बोटहरूले यस वर्ष भने राम्रो उत्पादन दिइरहेका छन्। यस वर्ष सामूहिक फार्मबाट कम्तीमा एक सय क्विन्टल बेलाउती बजारमा पुर्याउने लक्ष्य राखिएको छ। हाल बजारमा अर्गानिक ताइवान पिङ्क अम्बाको मूल्य प्रतिकिलो एक सय २० देखि एक सय ५० रुपैयाँसम्म छ। एक महिनापछि यसको मूल्य अझ राम्रो आउने किसानहरूको अपेक्षा छ।

यद्यपि, सोचे जति सहज भने छैन। आधुनिक सिँचाइ, प्रविधि, अनुदान र उत्पादन अनुसारको उचित बजारको अभाव अझै कायमै छ। "राज्यको यस प्रकारका अभियानमा न त पर्याप्त लगानी छ, न त खास नजर नै," सुवेदीले भने।

क्रान्तिकारी नेता तथा कृषक प्रेम सुवेदीका अनुसार यो अभियानको मूल उद्देश्य युवा, किसान र राज्यको ध्यानाकर्षण गराउनु हो। "हामीले आयस्रोत निर्माण गर्न र राष्ट्रिय अर्थतन्त्रमा इँटा थप्न यो अभियान चलाएका हौं। राज्यले बजारीकरण, सिँचाइ र प्रविधिमा सघाउने हो भने यस्ता सामूहिक खेतीले लाखौँ युवालाई स्वदेशमै रोकेर गाउँमै रोजगारी सिर्जना गर्न सक्छ," उनले भने।

साउन २४, २०८३ आइतबार १३:२४:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।