त्रिपुरेश्वर घटनामा चालकबारे खुलेको नयाँ तथ्य : लाइसेन्सदेखि बैंक खातासम्म अर्कैको, कारबाहीपिच्छे अलग अलग पहिचान
काठमाडौं : मूलपानी इन्जिनियरिङ कलेजबाट थानकोटको बाडभञ्याङको लागि हिँडेको रिद्दीसिद्दी यातायातको बा ५ ख ४२७४ नम्बरको सार्वजनिक बसले त्रिपुरेश्वरमा एकोहोरो हर्न बजाएपछि ट्राफिक प्रहरीले गाडी रोक्छ। कारवाहीको लागि प्रहरीले कागजपत्र माग्छन् तर चालकले प्रहरीलाई कागजपत्र दिँदैनन्। विवादपछि मात्र बल्ल उनले कागजपत्र दिन्छन्। त्यो कागजपत्र थियो दावा लामाको।
उकेराले पाएको टाइमलाइन अनुसार चालक र ट्राफिक प्रहरीबीच ९:४८ देखि १० बजेसम्म त्रिपुरेश्वर चोकको सालिक अगाडी लामै समय विवाद हुन्छ। यस बिचमा चालकले गाडीका सञ्चालक लव केसीलाई फोन गरेर प्रहरीले आफूलाई ह्यारेसमेन्ट गरेको बताउँछन्।
लगत्तै केसीले उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेश काफ्लेसँग घटनाबारे कुराकानी गर्छन्। काफ्लेले ड्युटीमा रहेका प्रहरीलाई सम्झाई बुझाई गरेर छोड्न भन्छन्।
ट्राफिक प्रहरीले गाडी छोडिदिन्छन् तर अर्जुनले गाडी राहदानी विभाग अगाडि रोक्छन्। यसबीचमा प्रहरीले “कि जाऊ, कि बग्गी खाना हिँड” भन्छन्। तर अर्जुन मान्दैनन्। यसैबीच ट्राफिक प्रहरी जाम खुलाउन तिर लाग्छन्। पार्किङ गरेको १५ मिनेट पछि अर्जुनले गाडीमा रहेको डिजेल निकाल्छन्। र गाडी सहित आफूलाई पनि आगो लगाउँछन्।
आगो लगाउँदा सहचालक रूपेश फुंयाल पनि सँगै हुन्छन्। तर उनी भने गाडीबाट भाग्छन् र ज्यान जोगिन्छ।
अरूको लाइसेन्स प्रयोग गरी गाडी चलाउँथे अर्जुन
लगभग शतप्रतिशत जलेको अवस्थामा प्रहरीले चालकको उद्धार गरेर कीर्तिपुरको बर्न अस्पताल पुर्याउँछ। घाइतेको साथबाट प्रहरीले दावा लामाको लाइसेन्स बरामद भएपछि उनको त्यही पहिचान सार्वजनिक गर्छ। तर सोमबार बेलुका घाइते भनिएका दावा लामा घरमा भेटिन्छन्।
त्यसपछि घाइते चालक को हुन् भन्ने खोजी सुरु हुन्छ। उपचारकोक्रममा मंगलबार उनको मृत्यु भएपछि मात्र आफन्तहरू आउँछन्। अनि उनी अर्जुन दोङ भएको खुल्छ। ट्राफिक प्रहरीको प्रारम्भिक अनुसन्धानले अर्जुनले अरूको लाइसेन्स र नागरिकता प्रयोग गरेर सवारी चलाउने गरेको खुल्छ। उकेरालाई प्राप्त प्रमाण अनुसार अर्जुनको आफ्नो नागरिकतासमेत नबनाएको देखियो।
उनले दावा लामाको नागरिकता/लाइसेन्स प्रयोग गरेको देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेश काफ्लेले उकेरालाई जानकारी दिए।
“हामीले उनको साथबाट एउटा नागरिकताको फोटोकपी र तीन वटा लाइसेन्स फेला पारेका छौँ। उनले ती सबै प्रयोग गर्ने गरेको अनुसन्धानबाट खुलेको छ। यस विषयमा हामी थप अनुसन्धान गरिरहेको छौँ” उनले भने।
घटनापछि प्रहरीले अर्जुनको मोबाइलमा दावा लामा, दावा तामाङ र सुनिल तामाङको लाइसेन्स र नागरिकताको फोटो फेला पारेको थियो।
अर्जुनले सोलुखुम्बु घर भएका दावा तामाङ, बागमती गाउँपालिका ७, ललितपुरका दावा लामा र धुलिखेल घर भएका सुनिल तामाङको लाइसेन्स र नागरिकताको प्रमाणपत्र प्रयोग गर्ने गरेको देखिन्छ।
उनी यस अगाडि पनि विभिन्न अपराधमा फरार रहेको खुलेको छ। २०८२ कात्तिक २२ गते बालाजुमा अर्जुनले चलाएको बस पल्टिएको थियो, जसमा तीन जना घाइते भएका थिए। उनी फरार थिए। घटनामा उनले सुनिल तामाङको नाममा जारी भएको लाइसेन्स प्रयोग गरेको अनुसन्धानमा खुलेमा खुलेको प्रमुख काफ्लेले जानकारी दिए।
तीन महिनाअघि काठमाडौंको मूल पानी क्षेत्रमा अभद्र व्यवहार गरेको घटना दर्ता भएको थियो। उक्त घटनामा उनले दावा तामाङको नामको लाइसेन्स प्रयोग गरेको काफ्लेले जानकारी दिए। अर्जुनले त्रिपुरेश्वर घटनामा पनि दावा लामाको नाम प्रयोग गरेका थिए।
लाइसेन्स मात्र है हैन, उनले दाबा लामाको नाममा बैंक खाता समेत खोलेर प्रयोग गरेको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दान बहादुर थापाले बताए।
“मृतकको नाम अर्जुन दोङ्ग भन्ने परिचय बल्ल खुल्यो। उनले लाइसेन्सदेखि बैँक खाता सम्म दावा लामाको नाममा खोलेको देखियो। थप अनुसन्धान गरिरहेका छौँ” उनले भने।
कसरी पुग्यो अर्जुनको हातमा दावाको लाइसेन्स र नागरिकता?
दावा लामा र अर्जुन दोङ्गले करिब ५ महिना अघि चन्द्रागिरी यातायातमा काम गर्थे। त्यहीबाट उनीहरूबीच चिनजान भएको थियो। इन्धन महँगो भएपछि उनले चन्द्रागिरी यातायात चलाउन छोडेर प्राइभेट सवारी चलाउन लागे।
दावाले उकेरालाई बताए अनुसार अर्जुन आएको करिब १५ दिन पछि उनले चन्द्रागिरी यातायात छोडेका थिए।
उनले भने, “चिनजान नै नभएको होइन। अहिले पनि उ र मेरो फोटो भिडियो होला।” उनले भने।
दावाका अनुसार चन्द्रागिरी यातायातको अफिसमा लाइसेन्सको फोटोकपी बुझाउनु पर्थ्यो। उनले सोही अनुसार फोटोकपी बुझाए। निस्कने बेलामा उनले फोटोकपी हेरे। तर भेटेनन्। आफूसँग ओरिजिनल लाइसेन्स र नागरिकता भएकोले फोटोकपी हराएकोमा उनले वास्ता गरेनन्।
अर्जुनले करिब १ वर्षदेखि गाडी चलाएको दावालाई बताएका थिए। उनले धेरै सोधखोज गरेनन्।
“काम छाडेर हिँड्ने बेलामा लाइसेन्सको फोटोकपी खोजेको थिएँ। तर भेटिन। ओरिजिनल छदै छ भनेर हिँडे। अहिले यस्तो भयो।” उनी भन्छन्, “हामीलाई १ वर्षदेखि गाडी चलाएको भन्थ्यो। अब लाइसेन्स हेर्ने कुरा पनि भएन” उनले उकेरासँग भने।
अर्जुनले दावाको लाइसेन्स मात्रै होइन नागरिकता समेत प्रयोग गर्ने गरेको देखिन्छ।
यस विषयमा दावा भन्छन्, “पुलिसले भनेअनुसार मेरो बैँकको क्यूआर पनि छ रे। अब मोबाइल चलाउँदा केही गर्यो कि भन्ने लाग्छ।”
सोमबार आफू मरेको खबर सुनेको र परिवारको सदस्यले समेत फोन गरेर ‘के-हो तँ त मर्यो भन्ने समाचार आएको छ’ भनेपछि सोमबार रातभर सुत्न नसकेको र मंगलबार बिहानै प्रहरीमा आएको उनले सुनाए।
प्रहरीको रेकर्डमा दावा लामाको नाममा ३ पटक कारबाही भएर जरिवाना नतिरेको देखिएको छ। तर लामा १५ दिन अगाडि एक पटक मात्र कारबाहीमा परेको दाबी गर्छन्। तर प्रहरीले दावालाई पनि अनुसन्धानको दायरामा राखेको छ। दावाको दाबीबारे प्रहरीले मंगलबारै सोधपुछ गरेको थियो।
जन्मदिनकै दिन मरेको घर आयो
अर्जुनले प्रयोग गर्ने गरेको अर्को लाइसेन्स थियो, दावा तामाङको। नेपाल यातायात चलाउने तामाङ सोमबार पनि आफ्नो नियमित काममै थिए। तर आफन्तले ‘त मर्यो भन्ने समाचार देखायो’ भनेपछि आफै अचम्म परेको उनले उकेरालाई बताए।
“मेरो हिजो जन्मदिन थियो। हिजै आफन्तले मर्यो भनेर फोन गरेका थिए। सबैतिर दावा, दावा नाम आएको थियो त्यसैले पनि होला” उनले भने।
दावा तामाङ र अर्जुन दोङ्गबीच पनि चिनजान त देखियो तर सामान्य। सामान्य हाईहेलो मात्र रहेको उनले दाबी गरे। उनले दावा तामाङकै लाइसेन्स समेत दुरुपयोग गरेका देखियो।
दावाका अनुसार २०८२ सालतिर रिद्धिसिद्धि यातायात चलाउँथे। पछि उनी अरूतिर काम गर्न थाले। त्यहाँ पनि उनले लाइसेन्सको बुझाएका थिए। तर त्यो लाइसेन्स कसरी अरूले चलाए भनेर आफै अचम्ममा परेको उनले बताए।
“मैले बा ५ ख ४२४६ नम्बरको गाडी चलाउँथे। मैले उसलाई चिनेको पनि होइन। बाटोमा कहिलेकाहीँ देख्दा हात हल्लाएको होला। तर चिया समेत सँगै बसेर खाएको छैन। मैले छोडेको धेरै पछि उसले काम गरेको रहेछ। सुने अनुसार २/३ महिना मात्रै भएको थियो रे काम गरेको” उनले भने।
सन् २०१६ अगस्ट ५ मा निकालेको लाइसेन्सले अहिलेसम्म करिब ७६ पटक कारबाही भएको ट्राफिक प्रहरीको रेकर्डबाट देखिन्छ। अब यसमा दावा तामाङले कति खाए, अर्जुन दोङ्गले कति त्यो दावालाई पनि जानकारी छैन।
“१० वर्ष अगाडि बनाएको लाइसेन्स हो। नागरिक एपमा हेर्दा ७६ पटक कारबाही खाएको रहेछु। अब उसले खाएको कति, मैले खाएको कति थाहा नै भएन” उनले उकेरासँग भने।
असोज ७, २०८३ बुधबार ०९:२८:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।