पग्लिँदो हिमाल, बाढीमा बग्दो जीवन
काठमाडौं : भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट विभिन्न जिल्लामा गरी ५३८ जनाको मृत्यु भएको छ भने ९७७ जना सम्पर्कविहीन छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उद्धार टोलीले हालसम्म ३ हजार ७४२ जनाको उद्धार गरेको छ।
यो क्षेत्रमा यस्तो विपद् पहिलो भने होइन, यसअघि २०८२ असार २४ गते पनि चीनसँग जोडिने मितेरी पुल बगाउने गरी बाढी आएको थियो। त्यतिबेला तिब्बतस्थित पुरुगु हिमनदीमा रहेको हिमनदीमाथिको हिमताल अचानक फुट्दा भोटेकोशी-त्रिशूली नदी क्षेत्रमा व्यापक क्षति पुगेको थियो। १४ महिनामा त्यो भन्दा ठूलो प्राकृतिक विपद् आयो, स्रोत एकै।
गत वर्षको बाढीको कारण पहिल्याउनेक्रममा विभागले बाढीको घटना हुनु पूर्व र घटना भइसकेपछिको तालको क्षेत्रफलमा परिवर्तन भएको खुलाएको थियो। हिमतालको सतही स्वरूपमा उल्लेख्य परिवर्तन भएको देखिएको थियो। तिब्बतस्थित पुरुगु हिमनदीमाथि बनेको हिमताल अचानक फुट्दा नै रसुवामा बाढी आएको थियो।
खतरा पहिल्याएर चुपचाप
गत वर्षको बाढीबारे प्राधिकरणले गरेको विश्लेषणले पुरुगु हिमनदीको हिमताल छोटो समयमै तीव्र रूपमा विस्तार भएको र त्यसपछि अचानक फुटेको पुष्टि भएको थियो। बुधवारको बाढीको कारण पनि सोही क्षेत्रको उच्च हिमाली क्षेत्रमा रहेको हिमनदीको ठूलो हिस्सा एकै पटक भत्किएर नदीमा खसेपछि आएको हुनसक्ने वैज्ञानिकहरूको अनुमान छ।
अर्थात् गत वर्षको विपद्को केन्द्र र अहिलेको विपद्को केन्द्र एकै हो। जसरी बुधवार अकस्मात् अकल्पनीय बाढी आयो यसले सो क्षेत्रको भौगोलिक र प्राकृतिक अवस्थामा भइरहेको परिवर्तन र जोखिमबारे न नेपालको तर्फबाट न त चीनको तर्फबाट नै गम्भीर अनुसन्धान भएको देखियो। यसले दुवै देशका अधिकारी खतरा पहिल्याएर चुपचाप बसे झैँ देखियो।
बुधवारको बाढीबारे बिबिसीमा प्रकाशित समाचारमा प्रारम्भमा भूकम्पका कारण पहिरो गएर बाढी आएको अनुमान गरिए पनि अमेरिकी भूगर्भ सर्वेक्षणले घटनाको कारण हिमनदीको हिस्सा भत्किनु भएको उल्लेख गरेको छ।
हिमनदी भत्किँदा भएको प्रभावले ५.२ म्याग्निच्युड बराबरको कम्पन रेकर्ड भएको वैज्ञानिकहरूले बताएका छन्। डन्डी विश्वविद्यालयका हिमनदी विशेषज्ञ डा. साइमनकुकको टोलीले बाढी प्रभावित क्षेत्रबाट करिब १५ किलोमिटर पश्चिममा रहेको लाङटाङ लिरुङ हिमाल नजिकैको हिमनदीको तल्लो भाग भत्किएको पत्ता लगाएको छ।
इसिमोडको प्रारम्भिक विश्लेषणले पनि उच्च हिमाली क्षेत्रबाट बरफ र चट्टानसहितको ठूलो पहिरो ल्हेन्दे खोलामा खसेपछि भोटेकोशी नदीमा अचानक ठूलो बहाव सिर्जना भएको हुनसक्ने देखाएको छ। त्यसक्रममा नदीको तल्लो क्षेत्रमा ३० मिनेटभित्र पानीको सतह ७ देखि ९ मिटरसम्म बढेको र केही जलमापन केन्द्र बगेका वा क्षतिग्रस्त भएका थिए।
अक्सफोर्ड विश्वविद्यालयका भूविज्ञान प्राध्यापक माइक सियरलले हिमनदी भत्किएपछि बरफ र चट्टानले नदी थुनेर पानी जम्मा भएको र त्यसपछि बाँध फुटेजस्तो ठूलो बाढी आएको हुनसक्छ भने लाङटाङ लिरुङ आसपासका अत्यन्तै भिराला उपत्यकाले बाढीको वेग थप बढाएको हुनसक्ने अनुमान गरेका छन्।
हिमनदी कसरी एकै पटक भत्कियो भन्ने अझै स्पष्ट भएको छैन। तै पनि वैज्ञानिकहरूले हिमाली क्षेत्रको दीर्घकालीन भूगर्भीय उत्थानसँगै बढ्दो तापक्रम, हिमनदी पग्लिने क्रम र परमाफ्रोस्ट (उच्च हिमाली भूभागमा कम्तीमा लगातार दुई वर्ष वा त्योभन्दा बढी समय हिउँ, बरफ, माटो, बालुवा र चट्टानसहित पूर्ण रूपमा जमेर कडा भएर रहेको जमिनको सतह) कमजोर हुँदै जाँदा उच्च हिमाली क्षेत्र अस्थिर बन्दै गएको बताएका छन्।
यसै वर्ष इसिमोडको विश्लेषणले सन् २००० को तुलनामा हिन्दुकुश हिमालय क्षेत्रका हिमनदीले बरफ गुमाउने दर दोब्बर भएको देखाएको थियो। वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनले हिमनदी, हिउँ र परमाफ्रोस्टमा तीव्र परिवर्तन ल्याउँदा पहिरो, गेग्रान, हिमताल विस्फोट र हिमनदी भत्किने जोखिम बढ्न सक्छ।
बाढीको १६८ किलोमिटर यात्रा
जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले “२०८३ भोटेकोशी-त्रिशुली -नारायणी बाढी सम्बन्धी प्राविधिक प्रतिवेदन” अनुसार तिब्बत नेपाल सीमाबाट तलतिर करिब ९ किलोमिटर(किमी)मा भोटेकोशी-रसुवागढी जलविज्ञान केन्द्र, त्यसपछि ३६ किमिमा त्रिशूली बेत्रावती, थप ५६ किमिमा त्रिशूली - मलेखु (फुर्के खोला),थप ३६ किमिमा त्रिशूली - कालिखोला, त्यसपछि १३ किमी किमीमा त्रिशूली भोर्ले र त्यहाँदेखि थप १८ किमी तल नारायणी - देवघाट रहेको छ। यसरी तिब्बत नेपाल सीमाबाट देवघाटसम्मको कुल दूरी १६८ किमी हुन्छ।
उक्त प्रतिवेदन अनुसार बिहान ९:१४ बजे भोटेकोशीमा ठूलो बाढी प्रवेश गरेको सूचना प्राप्त भयो, १०:२८ बजे बाढी धादिङ–गल्छी आसपास पुगेको थियो। ११:४० बजे बाढी मलेखु बजार आसपास पुगेको थियो, दिउँसो १ बजे बाढी मुग्लिङ पार गरेको थियो भने ३:३० बजे बाढी नारायणी–देवघाट क्षेत्रमा पुगेको थियो। यति बेलासम्म नेपालतर्फ अकल्पनीय मानवीय र भौतिक क्षति भइसकेको थियो।
पूर्व सूचना कस्तो थियो ?
विपद् अध्येता दिनानाथ भण्डारी पूर्व सूचना प्रणालीले बाढी, पहिरो लगायतका विपद्को जोखिमलाई पहिले नै पहिचान गरी प्रकोपको स्रोतदेखि नै त्यस्तो जोखिमको निरन्तर निगरानी गर्नुपर्ने बताउँछन्। निगरानीबाट प्रकोप बढेको देखिए सम्भावित विपद्बारे समयमै सूचना दिने र त्यसअनुसार जोखिम क्षेत्रमा रहेकाहरूले प्रकोप नआउँदै सुरक्षित हुने उपाय गरिने र पर्याप्त अवसर समय भए सार्न सकिने धनमाल सुरक्षित ठाउँमा लैजान र विपद् जोखिम नै कम गर्न पनि सकिने उनले बताए।
“अस्ति त्रिशूलीमा आएको बाढीमा प्रकोपको स्रोत बारे थाहा भएन, त्यसको निगरानी भएन। त्यसैले पूर्वसूचित गर्न सकिएन। माथिल्लो क्षेत्रमा (केरुङ क्षेत्रमा) बाढी कटी सकेपछि तल्लो क्षेत्रमा खबर गर्दा मानवीय क्षति केही कम त भयो तर पर्याप्त अवसर समय नभएको हुनाले धेरै क्षति भयो” उनले भने।
उनका अनुसार पूर्व सूचना प्रणालीको सुरुवात नै जोखिम पहिचान र म्यापिङबाट हुन्छ। उदाहरणका लागि, पहिरोको सम्भाव्यता हेर्दा भूगर्भीय अवस्था, फल्ट लाइन, भिरालोपन लगायतका पक्ष अध्ययन गरी कुन क्षेत्र बढी जोखिममा छ भनेर पहिचान गर्न सकिन्छ । त्यसपछि जोखिमलाई ध्यान दिएर सुरक्षित ठाउँमा बस्ती, पूर्वाधार र अन्य भू-उपयोगको योजना बनाउनुपर्ने उनले बताए ।
अध्येता भण्डारीले औँल्याएको पक्ष र बुधवार बाढी पूर्वानुमान महाशाखाले पूर्व सूचनामा गरेको काम जोडेर हेर्दा स्थानीय स्रोतबाट सूचना सम्प्रेषणमा भन्दा एसएमएसमा धेरै नै भर परेको देखिन्छ।
महाशाखाबाट घटनाको सुरुवातदेखि निरन्तर अनुगमन गरी विभिन्न चरणमा एसएमएस तथा सार्वजनिक सूचनामार्फत पूर्व सूचना सम्प्रेषण गरिएको दाबी गरिरहेको छ। उसले सार्वजनिक गरेको तथ्यांकमा करिब ७ लाख एसएमएस सम्प्रेषण गरेको दाबी गरेको छ।
रसुवा, नुवाकोट,धादिङ तथा चितवनका नदी तटीय क्षेत्रलाई प्रारम्भिक सतर्कताको सूचना पठाएको र पृथ्वी राजमार्ग तथा मुस्लिन-नारायणघाट सडक खण्डमा उच्च सतर्कताको अनुरोध गरिएको महाशाखाले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।
मलेखु, मुग्लिङ, नारायणघाट तथा त्रिशूली नदी आसपासका बस्ती तथा बजार क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान अनुरोध गरिएको, देवघाटतर्फ बाढी सर्न थालेपछि देवघाटसम्मका नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान अनुरोध गरेको र कालीखोला तथा देवघाट जलमापन केन्द्रबाट प्राप्त पछिल्लो अवस्थाका आधारमा तल्लो तटीय क्षेत्रमा पुनः सतर्कता सूचना सम्प्रेषण गरिएको विवरणमा देखिन्छ।
आफ्नो देशको सम्भावित जोखिम र जोखिम क्षेत्रको पहिचान र पूर्व सूचनासँगै एक देशमा विपद् आउँदा अर्को देशमा पर्ने प्रभाव कम गर्न सम्भव भएसम्म रियल टाइममा विपद्को सूचना आदानप्रदानको संयन्त्र सक्रिय हुन अति आवश्यक देखिन्छ। गत वर्षको बाढी होस् या यो वर्षको, यी दुवै घटनामा नेपाल र चीनबीच सही समयमा विपद्को सूचना आदानप्रदान नभएको प्रस्टै देखिन्छ।
इसिमोडका विज्ञहरूले पछिल्लो घटनालाई क्रायोस्फियर अर्थात् हिमनदी, हिउँ र जमेको भूभागसँग सम्बन्धित जोखिम बढिरहेको संकेतका रूपमा लिँदै सीमापार पूर्व सूचना प्रणाली र नेपाल-चीनबीच थप समन्वय आवश्यक रहेको उल्लेख गरेका छन्।
इसिमोडका वरिष्ठ क्रायोस्फियर विशेषज्ञ मोहम्मद फारुकआजमले हिमाली क्षेत्रमा यस्ता जोखिमको गति तीव्र हुँदै गएकाले विद्यमान तयारीले त्यसलाई पछ्याउन कठिन भइरहेको बताएका छन्।
पानी तथा विपद् जोखिम न्यूनीकरण विज्ञ नीर शाक्य प्रधान माथिल्लो क्षेत्रबाट तल्लो क्षेत्रमा समयमै सूचना पुर्याउने समुदायमा आधारित पूर्व सूचना प्रणालीलाई सीमापार तहमा विस्तार गर्न सके यसले मानिसलाई सुरक्षित स्थानमा जान पर्याप्त समय दिने बताउँछन्।
तर सूचना दिनु मात्रै पर्याप्त नभई त्यसलाई कसरी बुझ्ने र तत्काल सुरक्षित कदम चाल्नेबारे समुदायलाई तयार पार्न आवश्यक रहेको उनी बताउँछन्।
त्रिभुवन विश्वविद्यालयको विपद् अध्ययन केन्द्रका निर्देशक वसन्तराज अधिकारी रसुवा र बेत्रावतीलगायत तल्लो तटीय क्षेत्रका समुदायको जोखिम तीव्र रूपमा बदलिरहेकाले वास्तविक समयको जोखिमसम्बन्धी सूचना स्थानीय निर्णयकर्तासम्म तत्काल पुग्नुपर्ने बताउँछन्।
इसिमोडकै विपद् जोखिम न्यूनीकरण विशेषज्ञ शाश्वत सान्याल ल्हेन्दे खोलामा १४ महिनामै दुई पटक बाढी आएको र यसपटक सम्भवतः हिमपहिरोले नदी थुनेर अचानक पानी छोड्दा बाढी आएको हुनसक्ने र यस्तो घटना केही घण्टामै हिमाली क्षेत्रको क्रायोस्फियरसम्बन्धी विपत्तिबाट बस्तीमा बाढीमा परिणत हुने क्यास्केडिङ हाजार्डको उदाहरण भएको बताउँछन्।
भदौ १२, २०८३ शुक्रबार १८:१०:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।