परदेश छाडेर पोखरी रोजेका विनोदको नौ बिघामा 'सुनौलो माछा'
घोडाघोडी : गाउँका अधिकांश युवा वैदेशिक रोजगारमा जाँदै गर्दा कैलालीको घोडाघोडी नगरपालिका ५ का विनोद चौधरीले गाउँमै रहने बाटो रोजे। अरूका लागि परदेशको कमाइ आकर्षक थियो। तर, २७ वर्षीय विनोदले भने आफ्नै गाउँको माटो र पानीमा अवसर देखे।
उनले पढाइसँगै आत्मनिर्भर बन्ने अठोट गरे। माछापालन गर्ने सोच बनाएर उनले बैङ्कबाट ५० लाख कर्जा लिए।
तर व्यवसायको सुरुआत सहज थिएन। पोखरी खन्न, बाँध बाँध्न, पानी आपूर्तिको व्यवस्था र अन्य भौतिक संरचना निर्माणमै ठुलो रकम खर्च भयो। त्यसबाट बचेको २५ लाखबाट उनले माछापालन सुरु गरे। पछि क्रमशः लगानी बढाउँदै लगे।
सुरुमा उनलाई लगानी उठ्दैन कि भन्ने डर नभएको भने होइन। सुरुवाती दिनमा उनीसँग प्राविधिक ज्ञान त थिएन नै बजार व्यवस्थापनको अनुभवको पनि कमी थियो। लगानी भन्दा कम थोरै हुँदा उनलाई केही समय परिवार चलाउन पनि गाह्रो पर्यो।
“सुरुमा कमाइभन्दा लगानी धेरै थियो। परिवार चलाउन पनि गाह्रो भयो। व्यवसाय टिकाउन धैर्य चाहिने रहेछ। दुई–तीन वर्षसम्म त नाफा भन्ने कुरा नै भएन,” उनी भन्छन्।
सुरुका वर्षमा उत्पादन कम हुँदा वार्षिक पाँच लाख रुपैयाँ जतिको मात्रै माछा बिक्री हुन्थ्यो। तर, बर्खामा बाँध जोगाउनुपर्ने चिन्ता, पोखरी सफाइ र पानीको गुणस्तर मिलाउने कामले खर्च थपिइरहन्थ्यो।
आम्दानीभन्दा खर्च बढी हुँदा पनि उनले आफ्नो कामलाई निरन्तरता दिए।
प्राविधिक तालिम लिए। अनुभवी किसानबाट काम सिके। त्यसपछि, बिस्तारै व्यवसाय व्यवस्थित बन्दै गयो।
पाँच वर्षको निरन्तर मेहनत र धैर्यपछि अहिले परिस्थिति फेरिएको छ। नौ बिघाका पाँच वटा ठुला पोखरीमा उनले माछापालन गरेका छन्। सुरुआती लगानी उठिसकेको छ भने अहिले व्यवसाय नाफामा छ।
बजारमा ताजा माछाको माग उच्च छ। पछिल्ला वर्षमा उत्पादन बढ्दै गएपछि उनी वर्षमा दुई पटकसम्म माछा बिक्री गर्छन्। जसबाट उनले वार्षिक २५ लाख रुपैयाँ बचत गर्ने गरेका छन्।
काममा परिवारका सदस्यले पनि पूर्ण साथ दिएका छन्। दाना व्यवस्थापन, पोखरीको हेरचाह, माछा बिक्री तथा अन्य दैनिक काममा परिवारका सदस्य सदस्यहरू खटिने गरेका छन्। परिवारको साथ र निरन्तर मेहनतले व्यवसायलाई थप विस्तार गर्न सहज भएको उनी बताउँछन्।
माछापालन व्यवसायमा धैर्य, लगनशीलता र सही व्यवस्थापन सबैभन्दा महत्त्वपूर्ण हुने उनको अनुभव छ। धेरैले व्यवसाय सुरु गरेको छोटो समयमै राम्रो आम्दानीको अपेक्षा गर्ने गरे पनि यो क्षेत्रमा सुरुका केही वर्ष लगानी बढी हुने र त्यसपछि मात्रै प्रतिफल आउन सुरु हुने उनी बताउँछन्।
आगामी दिनमा आधुनिक प्रविधि प्रयोग गर्ने सोच भएका चौधरीको उत्पादन बढाउन पोखरी थप्ने योजना पनि छ।
"विदेश जानुभन्दा आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने सोचले अघि बढेमा असफल भइँदैन," विनोद भन्छन्। (राससको फिचर सम्पादनसहित प्रकाशित)
साउन २५, २०८३ सोमबार १६:००:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।