क्युएफएक्समा रुवाबासी : सेलिब्रेटी रुवाएर मख्ख ‘अनलक्की’ हिरो दिव्यदेव !

क्युएफएक्समा रुवाबासी : सेलिब्रेटी रुवाएर मख्ख ‘अनलक्की’ हिरो दिव्यदेव !

काठमाडौं : फिल्मको प्रिमियर शो, त्यसमाथि क्यामराको अगाडि सेलिब्रेटीहरू भावुक बनेर आँसु खसाल्नु नेपाली रजतपटको पुरानै ‘ट्रेन्ड’ हो।

तर, मंगलबार साँझ सिभिल मलको क्युएफएक्स हलभित्रको दृश्य भने अलि फरक र साँच्चिकै ‘इमोसनल’ देखियो। मौका थियो- हरि लम्साल निर्देशित फिल्म ‘बा : एक योद्धा’ को प्रिमियर।

हलको बत्ती निभ्यो, पर्दामा सन्तानका लागि बाबुले गरेको त्याग र बुढेसकालको पीडा सुरु भयो। त्यसपछि सुरु भयो हलभित्र रुवाबासीको शृङ्खला।

अगाडिको चौथो लाइनमा बसेकी अभिनेत्री सुपुष्पा भट्ट त पर्दा हेर्दै लगातार आँसु पुछिरहेकी थिइन्, उनको हात आँखाबाट हट्नै मानेको थिएन। अर्को कुनामा अभिनेत्री ऋचा शर्माको पनि आँखा रसाएर उस्तै हालत थियो।

अझ फिल्मकी मुख्य अभिनेत्री सुहाना थापा त आफूलाई सम्हाल्न नसकेर हलभित्रै बोतलको पानी घुट्को-घुट्को पिउँदै भावना नियन्त्रण गर्ने असफल कसरतमा देखिइन्। हेना नगरकोटीदेखि हरिवंश आचार्यसम्म सबैका आँखा भिजेका थिए।

मुख्य अभिनेता दिव्यदेव पन्त भने मिडियासामु मख्ख पर्दै भन्दै थिए- “मैले त यो फिल्म कति पटक हेरिसकेँ, तैपनि आज फेरि आफ्नै आँसु थामिएन !”

कुरो गरौँ दिव्यदेवको। फिल्म ‘नागरिक’बाट पत्रकार बनेर छिरेको डेढ दशक बितिसक्यो। रंगमञ्चमा रमाइरहेका, अभिनयमा अब्बल तर बक्स अफिसको भाग्य भने अहिलेसम्म चम्किन नसकेका ‘अनलक्की हिरो’।

‘आवरण’, ‘महाजात्रा’, ‘एक्टर : टेक वान’ हुँदै ‘पिताम्बर’को भिलेन बन्दासम्म तारिफ त खुब पाए, तर स्टारडमको सुख पाएनन्।

रोमान्टिक हिरो बन्ने उमेरमै उनी यसपालि एकैचोटि ५५-६० वर्षका बुवाको भूमिकामा देखिएका छन्। हुन त कलाकारले जस्तोसुकै भूमिका पनि गर्नुपर्छ, तर हिरोको इमेज बन्न नपाउँदै बुढो बाबु बन्ने उनको यो ‘बोल्ड स्टेप’लाई दर्शकले कत्तिको अनुमोदन गर्लान्? त्यो भने शुक्रबारबाट थाहा हुनेछ।

फिल्मले प्रिमियरमा सेलिब्रेटीलाई त रुवायो, तर असली परीक्षा बक्स अफिसमा टिकट काट्ने दर्शकको हो। अघिल्लो फिल्म ‘कर्मा’बाट हात सेकेका निर्देशक हरि लम्सालका लागि यो फिल्म चल्नैपर्ने दबाब छ।

अप्ठेरो के छ भने, यही शुक्रबार निखिल उप्रेतीको एक्सन फिल्म ‘आचार्य’ र नीति शाहको ‘जदौ’ पनि भिड्दै छन्। तीनतिर दर्शक बाँडिदा यदि ‘बा’ ले हलमा दर्शक तान्न सकेन भने, दिव्यदेवलाई मात्र होइन, निर्देशक लम्साललाई पनि ‘अनलक्की’ को ट्याग लाग्न बेर छैन!

जे होस्, हलभित्र बगेका यी सेलिब्रेटीका आँसु शुक्रबार बक्स अफिसमा पैसा बनेर खस्छन् कि खस्दैनन्, हेर्न बाँकी नै छ। टिमलाई शुभकामना!

असोज ७, २०८३ बुधबार २०:२५:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।