कापीको पानाबाट जमिनमा ओर्लिएको सपना आकाशतिर उड्दा!

कापीको पानाबाट जमिनमा ओर्लिएको सपना आकाशतिर उड्दा!

बुटवल : पिच सडकलाई 'रनवे' बनाउँदै एउटा नमूना हवाईजहाज आकाशतिर उड्छ, वरपरका मानिसहरू एकाएक झुम्मिन थाल्छन्। करिब १० मिनेटसम्म आकाशमा फन्को मारेर जब यो जहाज सुरक्षित रूपमा उडेकै ठाउँमा ओर्लिन्छ, तब १९ वर्षीय करण मल्लाहको निरन्तरको प्रयासले सार्थकता पाउँछ।

हेर्दा ठ्याक्कै नेपाल एयरलाइन्सको जहाजजस्तै देखिने नमूना विमान रुपन्देहीको सियारी गाउँपालिका-७ गोठवाका करणका लागि केवल एउटा सानो जहाज मात्र होइन। वर्षौंदेखि पालेको सपना, अभावसँगको सङ्घर्ष र असफलतामाथि प्राप्त गरेको जित थियो।

करणले बनाएको यो जहाज १३ पटकको असफल प्रयासपछिको १४ औँ नमूना हो। यसअघि उनले बनाएका कतिपय जहाज गुड्थे, तर उड्दैनथे। कतिपय परीक्षणकै क्रममा दुर्घटनामा परे, कतिमा आगो लाग्यो त कति टुटफुट भए। तर, हरेक असफलताले उनलाई हार मान्न होइन, बरु अर्को प्रयासका लागि पाठ सिकायो।

करण भन्छन्, "एक दिन त पक्कै सफल हुन्छु भन्ने लाग्थ्यो। आज यसैको परिणाम हो यो।"

पढाइ रोकियो, तर सिक्ने इच्छा रोकिएन
करण अहिले १९ वर्षका भए। आर्थिक अवस्था कमजोर भएकै कारण उनले कक्षा ६ भन्दा अगाडि पढ्न पाएनन्। पढाइ रोकिए पनि केही नयाँ सिर्जना गर्ने उनको हुटहुटी भने रोकिएको थिएन।

करणमा सानैदेखि विज्ञान र प्रविधिसँग सम्बन्धित सामग्री बनाउने रुचि थियो। उनी १०-११ वर्षको हुँदा नै घरमा उपलब्ध सामान्य सामान प्रयोग गरेर विभिन्न उपकरण बनाउने गर्थे।

कहिले पानीजहाज बनाएर पोखरीमा चलाउँथे। कहिले ब्याट्रीको प्रयोग गरेर बत्ती बाल्थे। पाउडर र स्याम्पुका खाली बट्टाबाट पंखाजस्ता उपकरण बनाउँथे। घरमा फालिएका वा प्रयोगमा नआएका सामान उनका लागि खेलौना थिएनन्, नयाँ आविष्कारका कच्चा पदार्थ जस्ता थिए।

सानो उमेरमा सुरु भएको त्यही रुचिले दुई वर्षअघि उनलाई नमूना हवाईजहाज बनाउने लक्ष्यतिर डोर्यायो।

पहिले कापीका पानामा उड्छ करणको सपना
करणको कोठामा पुग्दा उनको सपनाको गहिराइ प्रस्ट देखिन्छ। कोठाको एक कुनामा कापीका चाङ छन्, जहाँ विद्यालयका पुस्तक मात्र होइन, साना हवाईजहाजदेखि ठूला विमान र अन्तरिक्षमा पुग्ने रकेटसम्मका स्केच र डिजाइनहरू कोरिएका भेटिन्छन्।

कुनै पनि योजना बनाउँदा करण पहिलो चरणमा कापीको पानामा घोत्लिन्छन्। चित्र कोर्छन् अनि त्यसको संरचना र काम गर्ने तरिका सोच्दछन्। त्यसपछि आवश्यक सामान जुटाउने तिर लाग्छन्। "पहिले कापीमा डिजाइन बनाउँछु। त्यसपछि सामान जुटाएर बनाउन सुरु गर्छु," उनी भन्छन्।

अहिले नेपाल एयरलाइन्सको जहाजसँग मिल्दोजुल्दो देखिने उनीसँग भएको नमूना हवाईजहाज तीन किलो तौलको छ, जसको लम्बाइ र चौडाइ ६-६ फिट छ।

ऋणको भार र भविष्यको लक्ष्य
यो नमूना हवाईजहाज तयार पार्न करणले ५० हजार रुपैयाँभन्दा बढी खर्च गरिसके। सामान जुटाउँदै जाँदा उनले अहिलेसम्म करिब दुई लाख रुपैयाँभन्दा बढी ऋणसमेत बोकिसके। आर्थिक अवस्था कमजोर भएको परिवारका लागि यो रकम सानो होइन। तर, करणले यो खर्चलाई घाटाको रूपमा होइन, लगानीको रूपमा बुझेका छन्।

हरेक असफल प्रयासलाई उनी अर्को सफलताको पाठका रूपमा लिन्छन्। उनको सिर्जनशीलताको कुनै निश्चित समय छैन। दिनभरको काम सकेर घर फर्केपछि राति ३ बजेसम्म उनी प्रयोगशालामा व्यस्त हुन्छन्। प्रयोगशाला कुनै छुट्टै कोठा वा स्थानमा छैन, उनले आफ्नै सानो कोठालाई प्रयोगशाला बनाएका छन्।

आमाबुबाको गालीदेखि सहयोगसम्म
सुरुवाती दिनमा छोराको यो कामलाई लिएर करणको परिवार सहज थिएन। 'समयको बर्बादी' ठानेर बुबाआमाले उनलाई गाली पनि गरे। कम्जोर आर्थिक अवस्था रहेको परिवारको लागि करणको रुचि सहज लिन सक्ने कुरा पनि थिएन।

तर, जब करणको विमानले साँच्चै आकाश छोयो, तब परिवारका सदस्यमा पनि खुसीको सञ्चार भयो। करण भन्छन्, "सुरुसुरुमा आमाबुबाले गाली पनि गर्नुभयो। अहिले मनले त सहयोग गर्नुहुन्छ, तर परिवारको आर्थिक अवस्था राम्रो छैन।" 

करणको लक्ष्य यतिमै सीमित छैन, बरु उनी अझै परिष्कृत र उपयोगी उपकरणहरू बनाउन चाहन्छन्। तर, मुख्य कुरो आर्थिक स्रोतको अभाव छ। 

उनी भन्छन्, "मैले अझ एडभान्स मेसिन सहितको प्लेन बनाउने लक्ष्य राखेको छु। सुरुवाती चरणमा २ लाख रुपैयाँ आवश्यक परेको छ। यो सहयोग भएमा मैले यो काम गर्न सक्छु।"

भदौ १४, २०८३ आइतबार १३:१०:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।