खै पानी ?
काठमाडौं : गोदावारीको टीकाभैरब भन्दा केही पर नल्लु खोलामाथि खेत छ। खेतको बीचको घरमाथि एउटा गह्रो अनि राजकुलो छ। नल्लु खोलामा पानी त छ तर राजकुलो सुख्खा।
उकेराकर्मी साउन पहिलो साता त्यहाँ पुग्दा स्थानीय गीता तिम्सिना नजिकै खोला भए पनि धाँजा फाँटेका खेतको झार उखेलिरहेकी थिइन्। कुराकानीमा उनले पानी नपरेर खेतमा धाँजा फाँटेको बताइन्।
"खेत रोप्दा पानी परेको थियो तर अहिले परेन। खेतमा धाँजा फाट्यो। धान त यसपालि फल्दैन कि क्या हो !" उनले भनिन्।
आडैमा राजकुलो भए पनि किन पानीको अभाव ? तिम्सिनाले अघिल्लो साल असोजमा आएको बाढीले राजकुलो भत्काएपछि यो समस्या आएको खुलाइन्। खेत रोप्ने बेलामा अस्थायी कुलो बनाएर ल्याए पनि अहिले फेरि बगाएपछि पानीको समस्या बढेको थियो।
"म ५६ वर्षकी भएँ। यही गाउँमा विवाह गरेर आएको पनि ४० वर्ष भइसक्यो। खेत रोप्न यो साल जस्तो पानीको दुख भएकै थिएन," उनले भनिन्,"राजकुलोको बाटो नजिकै भएकाले पनि पानी आउँथ्यो। अहिले त राजकुलो नै भताभुङ्ग भयो।"
पहिले देशभर खानेपानी वितरण र सिंचाईं सुविधाजनक नभए पनि काठमाडौँ उपत्यकामा भने खानेपानी र सिंचाईंको राम्रो व्यवस्था थियो। तिब्र शहरीकरण नहुँदासम्म यहाँको पानी प्रणाली अनुकरणिय नै थियो। तर तिब्र शहरीकरण, जनसंख्या वृद्धि, अव्यवस्थित बसाईंले उपत्यकाको जमिन मुनिको पानी बग्ने संरचना पुरै खल्बलियो। अनि शुरु भयो सुख्खाको समस्या।
उपत्यका भित्र (तत्कालिन शहरी क्षेत्र) मा पानी प्रणालीका लागि काठमाडौँको हकमा बुढानिलकण्ठ, भक्तपुरका लागि बागेश्वरी प्रणाली अनि ललितपुरका लागि टीकाभैरबमा परम्परागत प्रणालीबाट पानी ल्याएको देखिन्छ। तर अहिले त्यो भत्कियो। उपत्यकाको परम्परागत पानी प्रणाली खल्बलिनुको मुख्य कारण देखियो राजकुलो छियाछिया हुनु।
‘हिति प्रणाली’ पुस्तकका लेखक पद्यसुन्दर जोशीका अनुसार अहिले ललितपुरको हिति प्रणाली ब्युँताउन सकिने अवस्थामा पुगे पनि काठमाडौँ र भक्तपुरमा भएको उच्च शहरीकरणका कारण कठिन छ।
उकेराकर्मीले स्थलगत रिपोर्टिङ गर्दा पनि जोशीले भने जस्तै ललितपुर जिल्लामा राजकुलोको केही अंश बाँकी नै देखियो। भक्तपुरमा क्षती पुगे पनि चाहेमा ब्युँताउन सकिने सम्भावना मरिसकेको छैन। तर काठमाडौँमा भने धेरै नै क्षती भएकाले ब्युँताउन त्यति सहज देखिएन।
राजकुलोको संरचना समाप्त हुँदै जाँदा उपत्यकाका ढुंगेधारा (हिति) र पोखरी सुके। पानीको पुरानो संरचनामा बिग्रनु अनि पोखरी संरक्षण र हितिहरूमा पानी ल्याउन नयाँ संरचनाको अभावले पानीको समस्या बढ्दै गयो।
के हो हिति प्रणाली?
जोशीको पुस्तक अनुसार हिती प्रणालीको जन्म किरातकालमै भइसकेको थियो। उनका अनुसार लिच्छविकालमा यो प्रणालीको विकास र विस्तार हुँदै व्यापक भयो।
हितिहरू खाल्डामा बनाइएका हुन्छन्। खाल्डाको मुख्य भित्तामा गोहीको मुखाकृत कुँदिएको ढुंगाको कलात्मक डुँडबाट पानी झारिन्छ जसलाई हितिमंग: भनिन्छ। हितिमंग: सम्म पानी ल्याउन काठ वा टेराकोटाका चारकुने नालीहरू भूमिगत रूपमा मूलसम्मै बिछ्याइएको हुन्छ।
पानी ल्याउने नालीको बीचबीचमा बहावको दिशा परिवर्तन गराउन वा सतह मिलाउन आवश्यकता अनुसार अथलहरू राखिएको हुन्छन्। भौगर्भिक कारणले मूल फुटेर आउने भूमिगत जलभण्डारबाट परम्परागत संरचनामा आएको स्रोतले पोखरी र ढुंगेधारासम्म पानी पुग्थ्यो।
हितिप्रणालीमा पानी भित्र्याउन जलभण्डार अनि मंगाल बनाइएका हुन्छन् जसलाई नाभी मण्डल भनिन्छ। जलभण्डारबाट लगातार हितिमा पानी बगाउँदा सुक्खायाममा पानी कम हुनाले जलभण्डार नजिक पोखरीहरू बनाइएका हुन्छन्। यि पोखरीमा वरिपरिको वर्षातको पानी संकलन हुँने वर्षैभरी पानी ल्याउन राजकुलोहरू जोडिएको हुन्छ।
यसले पोखरीको पानी बिस्तारै जलभण्डारमा पुनर्भरण हुन्छ। सिंचाईंका लागि बनाइएको राजकुलोहरूले नजिकका खोल्साखोल्सीबाट पानि पठाएर आफ्नो बाटोमा पर्ने पोखरीहरू भर्छन्। यसरी हुने लगातारको सिंञ्चनले हितिहरू(ढुंगेधारा)मा वर्षै भरी पानी हुन्छ।
काठमाडौँ उपत्यकाको शहरी क्षेत्रमा पानीको व्यवस्थापन यही हिति प्रणालीबाटै हुँदै आएको थियो। ३० वर्ष अघिसम्म पनि यसरी नै हितिबाट खानेपानीदेखि सरसफाई अनि राजकुलोबाट खेतीको काम हुन्थ्यो उपत्यकामा।
तर अहिले तीन जिल्लामध्ये काठमाडौँको राजकुलो प्रणाली पुरै नष्ट भइसकेको छ। ललितपुर र भक्तपुरमा केही अवशेषहरु अझैँ छन्। नजोगाए ती पनि काठमाडौंकै अवस्थामा पुग्न लामो समय लाग्ने देखिन्न।
धारा त छ तर पानी छैन!
न्यूरोड स्थित मानान्धर टोलका सानुबाबु मानन्धार पहिले मरूहितिको पानी खाने गरे पनि अहिले नियमित पानी नआउने बताउँछन्। उनका अनुसार काष्ठमण्डप दाहिनेतिर मरूहिति छ। त्यहाँका सबै धारामा पानी आउँथ्यो। बिस्तारै त्यहाँ एउटा धारामा मात्र पानी आउन थाल्यो। अहिले कहिले आउँछ, कहिले आउँदैन।
“घरघरमा पानी आएपछि हितिमा पानी लिन जाने चलन कम भएको थियो। तर धारामा ५ दिनमा एकपटक पानी आउँदा त हैरानै भइयो। ट्याङ्कर ल्याएर पानी खाइयो। मरूहितिमा पानी आएन, आएपनि पुग्दैन,” उनले भने, “ एक वर्ष भयो मेलम्ची आएको। ट्याङ्की भरेर राखेकाले अहिले ट्याङ्करबाट पानी लिनुपरेको छैन।”
गल्कोपाखामा बस्ने तारा अनुरागीका अनुसार नजिकै ढुंगेधारामा पानी आउँथ्यो। घरको धारामा पानी नआए पनि खासै मतलब हुँदैनथ्यो। धेरै जसो पानीको प्रयोग ढुंगेधाराकै हुन्थ्यो।
“नुहाउने देखि सरसफाई सम्ममा ढुंगेधाराकै पानी प्रयोग हुन्थ्यो,” उनले भनिन्“काठमाडौँमा पानीको अभाव भएको २०/२५ वर्ष भयो। पहिले पानीको यति धेरै दु:ख थिएन।”
यी क्षेत्रको हिती प्रणाली भत्कनुको सम्बन्ध भने काठमाडौँको बुढानिलकण्ठसँग गएर जोडिएको छ। बुढानिलकण्ठबाट शुरु हुने हुने हिति प्रणालीले यहाँको धारालाई पानीमय बनाएका थिए।
जब बाँसबारीबाट राजकुलो तल झर्छ अनि महाराजगञ्जको त्रिबि शिक्षण अस्पताल र भैरवनाथ गणबीचको केही चौडा टारबाट पानीपोखरी हुँदै लैनचौरका पोखरीहरू (स्काउट, खानी विभाग, दुग्ध विकास संस्थानले ओगटेका स्थानहरू, केशरमहल पछाडिको कमल पोखरीदेखि इखा पोखरीसम्मका बिन्दुमा रहेका पोखरी भर्दै आउँथ्यो।
केशरमहल पछाडिको पोखरीमा छायाँदेवी कम्प्लेक्स बन्दा पोखरी मासियो। स्काउट परिसरमा रहेको ठूलो पोखरी मासेर पार्किङ लगायतका भौतिक संरचना बनाइयो। अन्य स्थानमा भएका पोखरी पनि मासियो। अनि पानी सुक्यो।
पोखरी ब्युँतिए पनि सुख्खै
केशरी श्रेष्ठको घर भक्तपुर नगरपालिकाको नागपोखरी नजिकै छ। उमेरले उनी ६९ वर्ष पुगिन्। उनले थाहा पाएदेखि नै घर नजिकैको हितिबाट पानी भर्थिन्। तर अहिले हितिमा पानी आउँदैन। घरको धारामा पानी त आउँछ तर टुंगो हुँदैन। हितिमै पाइपको पानी भरिरहेकी श्रेष्ठ पहिले जताततै पानी भएको तर अहिले पानीको दु:ख भएको बताउँछिन्।
“मोटर लगाएर तानेर, गाडिबाट पानी ल्याएर त अभाव छैन। पहिले जस्तो मिठो पानी पनि छैन,” उनले भनिन्, “अहिले हिति छ तर पानी छैन। कहिलेकाही रसाउँछ तर पानी आउँदैन। यी हितिहरू यसै सुके।”
श्रेष्ठले भने जस्तै सम्पदामा धनी मानिए पनि अहिले भक्तपुर नगरपालिकाका धेरैजसो हितिमा पानी आउदैन। भक्तपुर नगरपालिकाले पोखरी उत्खनन् त गरेको छ तर पानीको प्राचिन स्रोतको संरक्षण गर्न सकेको छैन। उकेराकर्मी भक्तपुरको प्राय: हिति र पोखरीहरु डुल्दा पानीको समस्या चर्को देखियो।
भक्तपुर नगरपालिकामा मात्रै ५० भन्दा धेरै पोखरी छन्। पोखरीमा पानी यसै भरिने गरेको थिएन। भक्तपुर नगरपालिकादेखि पूर्वतिर मुहानपोखरी नामको पहाड छ। इतिहासकार भोलानाथ पौडेलको ‘पूर्णिमा’ २०२१ सालमा ‘भक्तपुरको राजकुलो’ जर्नलको लेख अनुसार पहाडको चुचुरै मुनिको खोँचमा महादेवपोखरी भन्ने सानो पोखरी छ। त्यही पोखरीबाट निस्केको पानी अरू साना पहाडका मूलहरू बटुल्दै नगरकोटको फेँदीमा आइपुग्छ।
त्यहाँ आइपुग्दा साना ठूला धेरै मूलहरू जम्मा भइसकेकाले त्यसले खोलाको आकार लिन्छ। त्यही खोला बग्ने किनारामा घट्ट भएकाले त्यस खोलाले घट्टे खोला नाम पाउँछ। घट्टेखोलाको बासुकिघाट भन्ने ठाउँमा बाँधबाँधी खोलाको पानी दायाँ किनारामा चढाएर सो पानीले कुलोको रूप लिन्छ।
सो कुलो घट्टे खोलालाई छाडि नगरकोटको फेदिलाई फन्को मार्दै तेलकोटको फेँदिमा आइपुग्छ। तेलकोटमा आउने खहरेले कुलो नहुत्ताओस् भनेर छेकेर कुलो अगाडि बढाइयो।
कुलोले वरपरका खेत सिञ्चित गर्दै खरिपाटीको तलतिर आइपुग्छ। साना ठूला पोखरीमा समेत कुलाको पानी खस्छ। दगुगाको माथिल्लो पोखरीहरूमा पानी भरिएपछि पोखरीबाट इँट र डुँड मार्फत पानी सोझै भक्तपुर शहरमा पुग्छ। शहरभित्र राजकुलो पसेपछि राजदरबारको सुनधारा, खौमाटोलको धारा, नासुमनाटोलको धारा, भैरबस्थानको सुनधारामा पानी झर्छ।
यो राजकुलो हितिका लागि मात्रै भएन खेतीका लागि समेत थियो। खेतमा धेरै पानी परेको बखत हितिहरू सुक्थे। राजदरबारको सुनधारा भने तलेजु भवानीको पुजा गर्नु पर्ने हुनाले सुक्दैनथ्यो। पौडेलका अनुसार भक्तपुरका कलधाहरूमा पानी जाने पानी पोखरी घट्टेखोलाकै पानी थियो। राजकुलो र पोखरी अन्तरनिहित सम्बन्ध थियो।
२०७४ सालमा संघिय नेपालको पहिलो स्थानिय चुनाबमा भक्तपुर नगरपालिकामा नगर प्रमुख निर्वाचित भए नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापति। उनले भक्तपुरका सम्पदाहरू ब्युँताउने लहर नै ल्याए। त्यहि अन्तर्गत पोखरी पनि पर्ने नै भयो।
नेपाली सेनाको नियन्त्रणमा रहेको कमलपोखरी समन्वय गरेर फिर्ता ल्याए। २०२१ साल वैशाख पूर्णिमामा प्रकाशित पौडेलकै ‘जितामित्र मल्लका कृतिहरू’ भन्ने जर्नल लेख अनुसार राजा जगज्ज्योर्ति मल्लले १६८६ सालमा तव (सिद्ध पोखरी) बनाएका थिए। जितामित्रका बुबा राजा जगतप्रकाश मल्लको पालामा कान्तिपुरका राजा प्रताप मल्लले १७२० मा ललितपुरका राजा श्री निवास मल्लको सहयोग लिएर नास गरिदिए। १४ वर्ष सम्म यो पोखरी बनेन। त्यसपछि १७३४ मा पुन जिर्णोदार भयो। त्यसयता पटक पटक पोखरी जिर्णोदार भयो।
सिद्ध पोखरी नजिकै रहेको कमल पोखरी २०४० सालमा सेनाको नियन्त्रणमा पुग्यो। यो ठाउँ दलदले माटो जस्तो रहेको थियो। नगरप्रमुख प्रजापतिले यिनै ऐतिहासिक दस्ताबेज अनुसार सेनाबाट पोखरीको जग्गा उम्काएर पोखरी पनि बनाए।
प्रजातपतिले २०७८ सालमा पोखरी त जिर्णोदार गरे तर राजकुलो मासिएकाले पानी कसरी भर्ने भन्ने उनलाई पनि समस्या भयो। त्यसपछि उनले बोरिङको पानी, खोलाको पानी तानेर पोखरी भर्ने उपाय अप्नाए।
“राजकुलो र पोखरी यसरी गाँसिएको रहेछ की पोखरी मात्रै उत्खनन् गरेर नहुने रहेछ,’ प्रजापति भन्छन्, ‘अहिले बोरिङ र खोलाको पानीले व्यवस्थापन गरिएको छ तर दीर्घकालिन रूपमा राजकुलो नै उत्खनन नभई हुन्न।”
इतिहासकार पौडेलका अनुसार राजा जितामित्रको पाला देखि जुद्ध शमशेरका पाला सम्म भक्तपुरको राजकुलोको ५/६ पटक गरेर जिर्णोदार गरिएको थियो। त्यसपछि पनि राजकुलो भत्कने क्रम शुरू भयो। संरक्षण नपाएपछि अहिले राजकुलो भएका स्थानमा व्यक्तिहरूको घर बनेको बताउँछन् नगरप्रमुख प्रजापति।
“हामी आइकन राजकुलोको नक्सांकन गरेर अहिले भौतिक पूर्वाधार बन्न नदिन नक्सा पास त गरेका छैनौँ”, उनले भने, “तर यति धेरै जग्गा व्यक्तिको पहुँचमा गएको छ की तत्काल भक्तपुरको राजकुलो ब्युँताउन सकिदैन। त्यसैले यसमा हामीले काम गरेका छैनौँ।”
राजकुलो ब्युँताउने अधुरो रहर
ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनले सप्तपाताल पोखरी ब्युँताउने योजना बनाए। यसका लागि उनले गोदाबारी नगरपालिकामा रहेको टीका भैरब राजकुलोबाट लगनखेलको पोखरीसम्म पानी ल्याउने योजना बनाएका थिए। २०७४ मा प्रथम पटक नगरप्रमुख भएका मर्हजन अहिले दोस्रो कार्यकालमा छन्। सप्तपातलमा पुनर्निमाण काम भइरहे पनि राजकुलो ब्युँताउन खासै काम भएको छैन।
लेखक पद्य सुन्दर जोशीका अनुसार लिच्छबीराजा शिव देव र अंशुवर्माको समय भन्दा अघि नै टीकाभैरब प्रणाली सञ्चालनमा आइसकेको थियो। लेलेबाट उत्तरमा सिञ्चित गर्न जलभण्डार पुनर्भरण गर्न र पोखरीहरू समेत भर्ने काम गर्दथ्यो त्यसले। लेले खोला नल्दुसँग टीका भैरब दोभानमा मिसिएपछि नख्खु खोला बनेर बागमती नदीमा मिसिन्छ।
टीकाभैरब प्रणालीको मूल राजकुलो मुहान दोभान पुग्नु अघि लेले खोलामा बनाइएको छ। टीका भैरबबाट शुरू भएको यो राजकुलो चापागाउँ, थेच्व, सुनागुथी, हुँदै लगनखेलसम्म आइपुग्छ।
राजकुलोले खेती सिँचाई गर्दै बस्तीहरूको पोखरी समेत भर्ने काम गर्छ। यो कुलोको जिर्णोदार २०१९ सालमा भयो। त्यसपछि भारत सरकारको सहयोगमा २०६२ सालमा राजकुलोको पुनर्निमाण भयो। पुनर्निमाण पनि भइरहेकाले ललितपुरको राजकुलो फेरि उत्थान गर्न सकिने जोशीले पुस्तकमा उल्लेख गरेका छन्।
जोशी लेख्छन् “पहिलेकै अवस्थामा फर्केर पूर्ण रूपमा नआएता पनि ललितपुरको राजकुलो फर्काउन सकिने अवस्थाको छ,” इन्जिनियर समेत रहेका जोशी लेख्छन्, “सरकार लाग्ने हो भने ब्युँताउन नसक्ने भन्ने हुन्न।”
उकेराकर्मी सोही स्थानहरुको स्थलगत रिपोर्टिङमा जाँदा राजकुलोको मुहान भत्किएर केही स्थानमा खेती सिँचाई नभएता पनि राजकुलो ब्युँताउन सकिने प्रशस्तै आधारहरू देखियो। कुलोको बाटो जस्ताको तस्तै हुनु, केही ठाउँमा कुलो नबिग्रिनु अनि स्थानिय जनप्रतिनिधिहरू राजकुलो जोगाउनु पर्छ भनेर लाग्नु सकारात्मक पक्ष देखियो। गोदावारी नगरपालिका वडा नम्बर ६ मा राजकुलोको धेरै भाग पर्छ। यहाँका केही जग्गा यही राजकुलोले सिंचित भइरहेका छन्।
यही वडाका वडा अध्यक्ष विष्णुमान महर्जन राजकुलोको विषयमा एक पटक ललितपुर महानगरपालिकासँग बैठक भएको त्यसपछि नभएको बताउँछन्।
“एकपटक बैठक भएको थियो। उहाँहरूले ह्वीम पाइप हालेर भए पनि सप्तपातलमा पानी खसाल्ने योजना बनाउनु भएको छ। यहाँ त खेत छ राजकुलो छोप्न हुँदैन,” उनले भने, “ह्वीम पाइप हाल्दा सिंचाईं हुन्न, चराचुरूङ्गी र अन्य जनावरलाई पानी हुँदैन। त्यसकारण छोप्नै पर्ने बाटो परेको स्थानमा ह्यीम पाइप हाल्नुस् अन्यत्र उघारै राख्नुस् भन्ने हाम्रो तर्फको प्रस्ताव थियो। पछि कुनै छलफल भएको छैन।”
गोदावारी नगरपालिकाले गत वर्ष असोजमा भत्किएको कुलो मर्मत गर्ने योजना पनि बनाएको थियो। तर बनेन। पूरै पुनर्निमार्णका लागि रकम अभाव भएको महर्जनको तर्क छ।
यता ललितपुर महानगरपालिकाले भने आर्थिक वर्ष २०८२/८३ को बजेटमा टीकाभैरबको राजकुलो लगनखेलको सप्तपातालसम्म पुनर्निमार्ण गर्न एक करोड रकम बिनियोजन गरेको छ। महानगरपालिकाका प्रवक्ता राजु महर्जन यो आर्थिक वर्षमा पुनर्निर्माणको काम सकिने दाबी गर्छन्।
“लगनखेलको सप्तपोखरीदेखि सुनाकथिसम्म राजकुलोको पानी ल्याउन पाइप बिछ्याइसकेको छ। अब यो साल त काम सकिन्छ होला” उनले भने।
गोदाबारी नगरपालिकाले ह्यीम पाइप बिछ्याएर राजकुलो लैजाने कुराको बिरोध गरेको छ नी भन्ने उकेराको प्रश्नमा महर्जनले खेती भएको ठाउँमा पाइप नबिछ्याउने र बस्ति भएको ठाउँमा पाइप बिछ्याउनुको विकल्प नभएको बताए।
“सप्तपातालमा यसपटक पानी झार्ने हाम्रो योजना हो,” उनले भने, “खेती भएको ठाउँमा पानी पाइप नहालेर अन्यत्र राखेर ल्याउने हाम्रो योजना छ।”
अनि बिग्रियो उपत्यकाको पानी प्रणाली !
काठमाडौँ उपत्यकाको पानी प्रणाली राणाकालसम्म एक रफ्तारले चलेको देखिन्छ। ‘नेपालको सन्दर्भमा समाजशाष्त्रिय चिन्तन’ पुस्तकमा पानी विज्ञ अजय दिक्षितका अनुसार १९४६ सालमा बीर शमशेर धारा बनाए। धाराका निम्ति महादेव खोलाबाट ल्याइएको पानी महाराजगञ्जमा भएका पोखरीमा जम्मा गरेर राखिन्थ्यो। त्यहाँबाट पाइपमार्फत राणा र उच्च पदस्थ अधिकारीको घरघरमा पानी पुर्याउन थालियो।
राणा शासन छउन्जेल सिमित नागरिकको घरमा मात्रै धारा जान्थ्यो। २००७ सालमा प्रजातन्त्र आएपछि नागरिकको घरघरमा धारा लैजाने प्रचलन चल्यो। राजनीतिक व्यवस्था फेरिएसँगै काठमाडौँ उपत्यकाका घरघरमा पानी पुग्न थाले। देशका अन्य जिल्लामा अझै पनि घरघरमा पानी नपुगे पनि उपत्यकामा भने घरघरमा पानी पुग्यो।
राजधानी हुनुका कारण अत्याधिक शहरीकरण भयो। तिब्र जनसङ्ख्या भएपछि अन्धाधुन्ध घर तथा भौतिक पूर्वाधार बन्न थाले। कुटनीतिक नियोगहरू, होटलहरू अनि अन्य पूर्वाधार बन्न थाले। पूर्वाधार बनेसँगै पानीको पुरानो प्रणाली भत्कियो। पुराना भत्किएपछि नयाँ बनेन।
सरकारले पानीको ‘म्यानेज’ त गरेको तर यो दीर्घकालिन नभएको बताउँछन् पानी विज्ञ सन्तोष नेपाल।
“काठमाडौँमा भूमिगत पानीको प्रयोग, मेलम्ची, पुराना प्रणाली गरेर जोहो त गरिएको छ तर दीर्घकालिन रूपमा पानीको अभाव पूरा हुने ढुक्क आधार बनेको देखिदैन,” उनी भन्छन्, “बरू भूमिगत पानीको अत्याधिक दोहन भएको छ।”
(उकेराले एक वर्षदेखि निरन्तर काठमाडौं उपत्यकाको पानी प्रणालीबारे अध्ययन गरेर तयार पारेको विशेष रिपोर्टको यो पहिलो भाग हो। )
असोज ७, २०८३ बुधबार २१:४२:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।