कांग्रेसले स्थगन गर्यो १८ वर्ष नपुगी क्षेत्रीय प्रतिनिधि चुनिएका सुजल चापागाईंको पद
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत इलामबाट क्षेत्रीय प्रतिनिधि निर्वाचित १७ वर्षीय सुजल चापागाईंको जिम्मेवारी पार्टीले स्थगन गरेको छ।
पार्टी विधानअनुसार सदस्यता पाउन १८ वर्ष उमेर पूरा हुनुपर्ने अनिवार्य व्यवस्था उल्लंघन भएको भन्दै कांग्रेसले उनको पद स्थगन गरेको हो।
चापागाईं इलामको माइजोगमाई गाउँपालिका वडा नं. ५ को वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका थिए।
पार्टीका सदस्य सचिव राजु कटुवालद्वारा जारी विज्ञप्तिअनुसार उनको नागरिकताको विवरण हेर्दा १७ वर्ष पूरा भए पनि १८ वर्ष पुग्न अझै केही महिना बाँकी रहेको पाइएको छ।
विवरणअनुसार आगामी २०८३ माघ १८ गते मात्र उनको उमेर १८ वर्ष पुग्नेछ।
“नेपाली कांग्रेसको विधान, २०१७ (एघारौँ संशोधनसहित) को धारा ४ को उपधारा १ (क) (१) बमोजिम पार्टी सदस्य बन्न १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने वैधानिक व्यवस्था छ,” विज्ञप्तिमा भनिएको छ, “उमेर नपुगेको विवरण प्राप्त भएकाले विधानबमोजिम उनको निर्वाचित क्षेत्रीय प्रतिनिधिको जिम्मेवारी स्थगन गरिएको छ।”
माघ १८ गते उमेर पुगेपछि उनले चाहेको खण्डमा मात्रै पार्टी सदस्यता कायम हुने कांग्रेसले स्पष्ट पारेको छ।
यसैबीच, कांग्रेसले देशका अन्य कुनै पनि जिल्लाका वडा तहमा उमेर नपुगेका व्यक्तिहरू उम्मेदवार बनेर निर्वाचित भएको पाइएमा उनीहरूको हकमा पनि यही प्रक्रिया लागू हुने जनाएको छ।
यस्ता प्रतिनिधिको जिम्मेवारी पनि स्वतः स्थगन गरिने विज्ञप्तिमार्फत सम्बन्धित सबै तहलाई सचेत गराइएको छ।
असोज ७, २०८३ बुधबार १९:५८:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।