यशको ‘टक्सिक’सँग भिड्न तयार अभिनेत्री नीता भन्छिन्- ‘किन भाग्ने, रिलिज मिति सार्दिन, जे त होला !’
अभिनेत्रीबाट निर्मात्री हुँदै निर्देशक बनेकी नीता ढुङ्गानाले सामाजिक विषयवस्तुमा आधारित फिल्म ‘पार्वती’मा अभिनय मात्र गरेकी छैनन् निर्माण र निर्देशन पनि गरेकी छन्।
पछिल्लो समय अन्य निर्माता-निर्देशकका फिल्ममा देखिन छाडेकी छन्। त्यसको कारणबारे सोध्दा उनी भन्छिन्, ‘खाली गर्लफ्रेन्डको भूमिकामा अफरहरू आउँछन्। आफूले खोजे जस्तो भूमिका नभएपछि अभिनय नगरेको हुँ।’
संयोगवश, उनको फिल्म ‘पार्वती’ रिलिज हुने दिन नै नेपालमा दक्षिण भारतीय सुपरस्टार यशको ‘टक्सिक’ पनि प्रदर्शनमा आउँदैछ। यसकै डरले अन्य नेपाली फिल्मका निर्माताले रिलिज मिति सारे। तर उनी अडिग छिन्।
अटिजमको कथामा बनेको ‘पार्वती’ लाई नेपाली दर्शकले अवश्य मन पराउनेमा उनी पूर्ण विश्वस्त छिन्।
फिल्म ‘पार्वती’, उनको निर्देशन यात्रा र समग्र अभिनय करिअरमा केन्द्रित रहेर उकेराकर्मी भोला अधिकारीले अभिनेत्री, निर्मात्री तथा निर्देशक नीता ढुङ्गानासँग गरेको कुराकानीको सम्पादित अंश:
फिल्मको कामले त व्यस्त बनाएको होला, हैन !
अँ, अहिले फिल्मकै कामको सिलसिला चलिरहेको छ। भदौ १२ गते रिलिज हुँदै छ। अहिले यो फिल्ममा थप जिम्मेवारीसमेत भएकाले व्यस्त नै छु। अहिले पनि केही पोस्ट प्रोडक्सनको काम भइरहेको छ। बिजिएम (ब्याकग्राउन्ड म्युजिक) को काम चलिरहेको छ।

यो फिल्मभन्दा २ दिनअघि यशको फिल्म ‘टक्सिक’ नेपालमा पनि रिलिज हुँदै छ। अन्य नेपाली फिल्मले रिलिज रोके। तपाईँलाई डर लागेको छैन ?
आफूले काम गरेको प्रडक्ट हेरेर कन्फिडेन्स हुने रहेछ। मैले जुन विषयमा फिल्म बनाएको छु, जस्तो स्क्रिप्ट छ, जसरी मेहनत गरेको छु, त्यसले ढुक्क बनाउने रहेछ।
मैले फिल्म रिलिजको मितिबारे सोधेको।
अब आफूले पहिला नै तोकेको मिति छाडेर, सरेर कहाँ जाने ? एउटा फिल्म लाग्यो भने अर्को फिल्म जुधिहाल्छ। रिलिजको सिङ्गल डेट पाउन मुस्किलै छ। अब भदौ पछाडि त झन् गाह्रो छ। त्यसैले सरेर, भागेर कहाँ जाने ? जाने ठाउँ नै छैन। भोलिका दिनमा पनि कुनै न कुनै फिल्म आउँछ, जुध्नु परिहाल्छ।
पछिल्लो सिनारियो हेर्दा नेपाली दर्शकले नेपाली फिल्मलाई धेरै माया गर्नुभएको छ। आफ्नो विषयवस्तु, आफ्नो माटोको विषयलाई उहाँहरूले हेरिरहनुभएको छ। त्यसले पनि ममा एक किसिमको कन्फिडेन्स आयो।
सर्नु हुँदैन, सर्दिन, जे होला होला, देखाजाएगा भन्ने छ। दर्शकहरूले अहिले कमेन्ट गर्दाखेरि साथ दिनुहुन्छ भन्ने लागिरहेको छ। आफ्नो प्रोजेक्टको कन्फिडेन्स अनि अब भागेर गए पनि कहाँ जाने भन्ने हिसाबले भदौ १२ गते नै हामी रिलिज गर्छौँ।
‘पार्वती’ फिल्मको टिजरमा अटिजम भएकी युवतीको भूमिकामा देखिनुभएको छ। यो कथाको पृष्ठभूमि के हो ?
जीवन्त, लामो समय याद रहने पात्रमा अभिनय गर्ने रहर हो मेरो। दर्शकले हेरेर 'ओहो ! नीताले त यस्तो क्यारेक्टर पनि गरेकी रहिछ' भन्ने होस् भन्ने लोभ हो। तर, फिल्मका अफर आउँदा गर्लफ्रेन्ड र ब्वाइफ्रेन्डको चरित्रको मात्र आउने। आफूले चाहेजस्तो रोल गर्नै पाइरहेकी थिइनँ।
अब आफैँ फिल्म निर्देशन गर्छु भनेर निर्णय गरेपछि टाइटल ‘पार्वती’ भनेर राखेँ। तर कथा थिएन। नाम जुरे पनि कथा जुरेको थिएन। यस्तोमा दिमाग खुब चल्ने रहेछ। निद्रामै यो कथा चलिरहेको थियो। अचानक राति ३ बजेतिर आँखा खुल्यो। दिमागमा कथा घुमिरहेको थियो।

सुनाउन श्रीमान्लाई ब्युँझाएँ। तर ब्युँझिए पनि उहाँ उठ्नुभएन। मलाई भने त्यो कन्सेप्ट कतिखेर सुनाऊँजस्तो भइरहेको थियो। चलचित्रका लागि वान लाइन कथा आइसकेको थियो। मैले ‘क्यारेक्टर पनि देखेँ। मैले क्यारेक्टरको नाम पनि राखिसकेँ। उठ्नु न’ भनेँ। तर उहाँ उठ्दै उठ्नुभएन।
बिहान साढे ६ बजेतिर उठ्नुभयो। उठ्नेबित्तिकै उहाँलाई कथा सुनाएँ। सुनाउँदा त उहाँले इन्ट्रेस्ट नै लिनुभएन। अनि म पनि फिल्म बनाउने नै हो, आफ्नो ब्यानर छ। उहाँ (हरिहर अधिकारी) ले त्यति चासो नदिएपछि म आफैँले स्क्रिप्ट राइटर (शिवम् अधिकारी) लाई बोलाएँ।
मेरो दिमागमा यो-यो आएको छ, भोलि मैले बिर्सन सक्छु। तपाईँ वान लाइन लेखिहाल्नुस् भनेँ। उहाँले लेख्नुभयो। त्यो बेलामा आफैँ डिरेक्सन गर्छु भन्ने थिएन। तर मेरो दिमागमा जे-जे घुमिरहेको छ, त्यसको जिम्मा अर्कोलाई दिँदा सोचेअनुसार होला त भन्ने लाग्यो। अनि आफैँ रिस्क लिन्छु भनेर निर्देशन गर्ने निर्णय गरेँ।
अटिजमको मुख्य पात्रमा आफैँले अभिनय गर्नुभएको छ। यसका लागि केही अध्ययन गर्नुभयो कि ?
पात्रबारे कन्सेप्ट फुरेपछि म विभिन्न अटिजम भएका बालबालिका पढ्ने स्कुलहरू गएँ। त्यहाँका बच्चाहरूलाई भेटेँ। उहाँहरूको जीवन जिउने शैली कस्तो हुन्छ भनेर अध्ययन गरेँ। तर यो पार्वती पात्र नुवाकोट घुम्न जाँदा देखेको हो। पार्वतीमा भएको नेचर, हाउभाउका लागि निकै अध्ययन गरेँ। यसका लागि तीनजनालाई निकै गहिरिएर हेरेँ। उहाँहरूले कसरी खानुहुन्छ, कसरी सोच्नुहुन्छ, मायाको अभिव्यक्तिलगायत पक्ष नियालेँ।

एउटा क्यारेक्टरमा बसेर अभिनय गरेपछि त्यसबाट बाहिर निस्कन गाह्रो हुन्छ भन्ने सुनिन्छ। तपाईँको अनुभव ?
धेरै समय लाग्यो नि। नर्मल जोनबाट अर्कै जोनमा पुगेको महसुस भयो। करिब ४० दिनको सुटिङमा उही क्यारेक्टर हुँदा त मलाई नीता ढुङ्गानामा फर्किन निकै समय लाग्यो। त्यसैले त सुटिङको काम सकिएको लामो समय यो फिल्मको कुनै काम छोइनँ। पोस्ट प्रोडक्सनको काम लामो अन्तरालपछि सुरु गरेको हो।
अभिनेत्रीहरू नै भटाभट निर्देशनतिर किन लागेका हुन् ?
धेरै अगाडिदेखि निर्देशन गर्छु भन्दै आएको हो। मेकर त भइहाल्यो, फिल्म बनाइहालिन्छ। बुझेकै यही हो, जानेकै यही हो। कामै यही गर्न आउँछ। नाफाघाटा भइरहन्छ जीवनमा। यसैमा लाग्छु सोचेर नै फिल्म निर्माण गरेँ। निर्देशन पनि गर्छु भनेर लगभग तीन-चार वर्ष अगाडि सोचेको हो, अहिले आएर पूरा भयो।
अशोक दर्जीको चयन कसरी भयो ?
सायद पार्वती क्यारेक्टर बिल्डअप गरेर उसको कुनै प्रेमी राख्न पनि सक्थेँ होला। अरू कुनै या साथीको पनि राख्न सक्थेँ होला। तर भाइ नै किन रोजेँ भने, मलाई लभस्टोरीवाला फिल्म बनाउनु नै थिएन। मलाई केही छुट्टै कथा गर्न पाए हुन्थ्यो भन्ने थियो।
मैले कतिपय स्पेसल चाइल्डहरूलाई हेर्दा मेलको दिदी-बहिनीसँग अनि फिमेलको दाजुभाइसँगको कनेक्सन अलिक ज्यादा हुने देखेँ। उनीहरूमा आमाबुबाभन्दा पनि दाजुभाइ अनि दिदीबहिनीसँग विशेष लगाव हुने गरेको देखेँ। सोहीअनुसार फिल्ममा किरण पात्र बनाएँ।

अशोकसँग कुरा गरेको, 'हुन्छ नि दिदी' भनेपछि पक्का भएको हो। भाइको धेरै राम्रो अभिनय छ। टिजरमा पनि दर्शकले मन पराइदिनुभएको छ।
हस् त, तपाईँलाई शुभकामना।
धन्यवाद।
साउन २३, २०८३ शनिबार ०७:४९:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।