लोकगायक खेम सेन्चुरी अब नायक
काठमाडौं : फिल्म निर्माण गर्दा निर्माता तथा निर्देशक नारायण रायमाझीको रोजाइमा लोक गायनमा चर्चा कमाइरहेका गायकहरू पर्ने गर्छन्। यसअघि गायकद्वय प्रकाश सपुत र प्रशान्त तामाङलाई लिएर उनले फिल्म परदेश र परदेशी २ मा निर्माण गरे। गायकलाई नायक बनाउने उनको योक्रम रोकिएको छैन।
शनिबारदेखि उनले लोकगायक तथा संगीतकार खेम सेन्चुरीलाई मुख्य भूमिकामा लिएर निर्माण गर्न लागेको फिल्म ‘बसन्ती’को सुटिङ थालेका छन्। दसैं अघिको २५ दिनको सेड्युलका साथ काठमाडौं आसपास सुटिङ थालेका हुन्।
काठमाडौंपछि पाल्पा, जनकपुर र बुटवलसँगै भारतका विभिन्न स्थानमा गरिने निर्देशक रायमाझीले जानकारी दिएका छन्। शुक्रबार मात्रै ललितपुरको कार्यविनायक मन्दिरमा शुभ मुहूर्त गर्दै फिल्म निर्माणको औपचारिक घोषणा गरिएको थियो।
फिल्ममा खेम सेन्चुरीका अलावा अभिनेत्री टेरिया फौजा मगर मुख्य भूमिकामा देखिनेछन्। उनीहरूका साथै फिल्ममा सुशील पोखरेल, तारा शर्मा, संगीता थापा, सुजन सिंह खड्का, आकाश सुहाङ, प्रशंसा शिवाकोटी, विकास राना, मनोज खड्का, बिजया पौडेल, हरि अधिकारीलगायतले अभिनय गर्दै छन्।
रिमा फिल्मसको प्रस्तुतिमा निर्माण हुने यो फिल्ममा लगानी निर्देशक रायमाझीले नै गर्दै छन्। गीतकार रमेश बिजीले लेखेको यो फिल्ममा मुख्य सह-निर्देशक चन्द्र कुमार भट्टराई, एशोसियट निर्देशकमा सुजता बस्याल राना, सह-निर्देशकका रूपमा यगे बहादुर राउत र सञ्जीव चन्द रहेका छन्।
फिल्मको गीतमा रमेश बिजी, लालगोपाल सुवेदी, बिबि अनुरागी र नारायण रायमाझीको शब्द रहनेछ। संगीतकारमा बिबि अनुरागी र नारायण रायमाझी रहने छन्। शिव ढकालले खिच्ने यो फिल्ममा सह-छायांकारमा जयन्द्र रावल जोडिएका छन्। निर्देशक रायमाझीको ‘बसन्ती’चौथो निर्देशकीय फिल्म हो। यसअघि उनले ‘गोर्खा पल्टन’, ‘परदेशी’ र ‘परदेशी २’ निर्देशन गरेका थिए।
स्मरण रहोस् नारायण रायमाझीले निर्माण थालेको फिल्म ‘बसन्ती’नामको यसअघि पनि फिल्म बनिसकेको छ। २०५७ सालमा नीर शाहले यही नाममा फिल्म निर्देशन गरेका थिए। उपन्यासकार डायमण्ड समशेर राणाको उपन्यास ‘बसन्ती’मा आधारित फिल्म निर्माण भएको थियो। उक्त फिल्म प्रदर्शनको २६ वर्षपछि सोही नाममा नारायण रायमाझीले नयाँ सिनेमा निर्माण गर्न लागेका हुन्।
असोज ३, २०८३ शनिबार २२:४४:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।