खेलमा मिलेमतो गरेको आरोपमा एन्फाका कोषाध्यक्षसहित २ जना पक्राउ
काठमाडौं : खेलमा मिलेमतो र ठगी गरेको आरोपमा प्रहरीले अखिल नेपाल फुटबल संघका कोषाध्यक्ष रवीन्द्र जोशी र लेखा पदमा कार्यरत सञ्जीव पाण्डेलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले दुबैलाई पक्राउ गरेको हो।
ब्युरोले रवीन्द्र जोशी समेत भएको खेलमा मिलेमतो तथा अनियमितता गर्न नहुने र ठगी सम्बन्धी कसुर मुद्दाको अनुसन्धानको क्रममा दुबैलाई अदालतबाट अनुमति लिएर पक्राउ गरिएको बताएको छ। उनीहरूलाई अदालतले चार दिन हिरासतमा राख्न म्याद दिएको सिआइबीले जानकारी दिएको छ।
सिआइबीले शुक्रवार एन्फाको कार्यालयमा छापा मारेर अनियमितता सम्बन्धी उजुरीका आधारमा अनुसन्धानका लागि छापा मारेको बताएको थियो। सिआइबीले खेल मिलेमतो र ठगी भने पनि कुन खेलमा मिलेमतो गरेको हो भन्ने खुलाएको छैन।
प्रहरीले फुटबल खेलमा मिलेमतो गरेको आरोपमा अनुसन्धान शुरु गरेको यो दोस्रो घटना हो। यस अगाडि तत्कालिन महानगरीय अपराध अनुसन्धान महाशाखाले फुटबल टिमका क्याप्टेन सागर थापासहितलाई फुटबल खेलमा मिलेमतो गरेको आरोपमा पक्राउ गरेको थियो।
तत्कालीन समयमा खेल मिलेमतो सम्बन्धी कानुन नभएपछि प्रहरीले राज्य द्रोहमा अनुसन्धान गरेर सोही अनुसार मुद्दा प्रक्रिया अगाडि बढेको थियो। पछि सबैले अदालतबाट सफाई पाएका थिए। क्रिकेटमा मिलेमतो भएको भन्दै सिआइबीले गरेको अनुसन्धानमा पनि आरोपीले अदालतबाट सफाई पाएका थिए।
असोज ४, २०८३ आइतबार २२:३५:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।