जंग जित्न निखिलको ‘हाइ-भोल्टेज’ एक्सन, साउथ स्टारसँग टक्कर पर्दा ‘आचार्य’को चर्चा

जंग जित्न निखिलको ‘हाइ-भोल्टेज’ एक्सन, साउथ स्टारसँग टक्कर पर्दा ‘आचार्य’को चर्चा

काठमाडौं : नेपाली फिल्ममा एक्सनको कुरा चल्दा आजको समयमा पनि अभिनेताहरूको शीर्ष स्थानमा आउने नाम हो- निखिल उप्रेती। लामो समय पर्दाबाहिर रहेका उनै निखिल यतिबेला आफ्नै निर्देशन र मुख्य भूमिका रहेको नयाँ फिल्म ‘आचार्य’लाई लिएर चर्चामा छन्। 

टिजरपछि दर्शकमाझ कौतूहल बढिरहेका बेला फिल्म रिलिज हुन एक साता मात्र बाँकी छँदा ट्रेलर सार्वजनिक गरिएको छ। शनिबार काठमाडौंको बिग मुभिजमा सञ्चारकर्मीमाझ ३ मिनेट ३० सेकेन्ड लामो ट्रेलर रिलिज गरियो, जहाँ कलाकार तथा निर्माण पक्षले आफ्ना भनाइ र अनुभव साटेका थिए।

उपस्थित भएका अधिकांशले निखिलको दमदार एक्सन रहेको भन्दै तारिफ गरे। उनको पावरप्याक एक्सनलाई ट्रेलरले थप विस्तार गरेको देखिन्छ। सार्वजनिक भएको परिष्कृत एक्सन कोरियोग्राफी, तीव्र द्वन्द्वका दृश्य र मनोरञ्जनात्मक प्रस्तुतिले फिल्म  ‘आचार्य’ एक्सन प्रधान बनेको संकेत गर्छ। 

तर वास्तविकता भने के हो आगामी शुक्रबार फिल्म रिलिज भएपछि नै थाहा हुनेछ। निखिलले यसअघि फिल्म ‘भैरव’ निर्देशन गरेका थिए। जसलाई दर्शकबाट सोचे अनुसारको साथ प्राप्त हुन सकेन। सोही फिल्ममा गरिएको कमीकमजोरीलाई सुधार्दै ८ वर्षपछि उनी एक्सन अवतारमै ‘आचार्य’ देखिँदै छन्।

मिडियाकर्मीसँग ट्रेलर रिलिज कार्यक्रममा भने,‘हामी नेपाली फिल्मले पनि विदेशी शैलीका फिल्म बनाउन सक्छौं। त्यस्तो फिल्म बनाएर नेपाली दर्शकलाई मनोरञ्जन दिन सक्यौं भने जंग जित्नु छ।’

उनले यो फिल्ममार्फत केही नयाँपन दिन खोजेको सुनाए। उनी थप्छन्,‘मैले आफ्नो फिल्ममा केही नयाँ दिने कोसिस गर्दै आएको छु। यसमा पनि एक्सन र कन्टेन्टमा नयाँ दिने प्रयास गरेको छु।’

यस फिल्ममा निखिलले नेपाली सहित भारतीय कलाकारलाई अभिनय गराएका छन्। दक्षिण भारतीय कलाकार रघु बाबु र रघु करुमन्चीलाई यस फिल्ममा अभिनय गराएका हुन्। साथै यसै फिल्ममार्फत अभिनेत्रीको रूपमा पूर्णिका सिजापती र सजिना श्रेष्ठले डेब्यु गर्दै छन्। 

फिल्ममा बलिउड कलाकार दीपजङ्ग राणा र रोहित चौधरीसँगै ध्रुव कोइराला, सुरेश कोहली, रञ्जित कोइराला, जेसिका पोखरेल, कृतिका, सरिता ज्ञवाली, अनुप तुलाधर, एलिस खनाल, अजय थापा, सुबिन गुरुङ, रोशनी र सोनिका बास्तोलालगायत कलाकारको अभिनय रहेको छ।

यस फिल्मलाई तीन जना क्यामेरा मेनका टिमले खिचेका छन्। सौरभ लामा, मनु विक र नवराज थापाले खिचेको यो फिल्ममा एक्सन निर्देशन शुक्रराज शाहको छ। बन्दे प्रसादको सम्पादन रहेको फिल्मको टिजर तथा ट्रेलर सन्देश शाहले तयार पारेका हुन्।

मनोज राठीले नेपालभर वितरण गर्न लागेको यस फिल्मलाई नेपालबाहिरको वितरणको जिम्मेवारी सेभेन सिज इन्टरनेसनलले लिएको छ। फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ। यो फिल्मसँगै दिव्यदेव पन्तको ‘बा ः एक योद्धा’ र नीति शाह अभिनीत ‘जदौ’पनि प्रदर्शनमा आउँदै छ। 

असोज ३, २०८३ शनिबार १९:४४:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।