ट्राफिक जरिवाना विवादसँग जोडियो बस आगलागी घटना , पछाडिबाट सुरु भएको थियो आगो

ट्राफिक जरिवाना विवादसँग जोडियो बस आगलागी घटना , पछाडिबाट सुरु भएको थियो आगो

काठमाडौं : काठमाडौंको त्रिपुरेश्वरमा  रिद्धीसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा  आगलागीको घटना ट्राफिक जरिवानासँग जोडिएको खुलेको छ। सार्वजनिक भएको भिडियोमा चालक र ड्युटीमा रहेका तीन ट्राफिक प्रहरीहरुबीच कार्वाहीको विषयमा विवाद भइरहेको देखिन्छ जहाँ उनी आफ्नो कुनै गल्ती नभए पनि कार्वाही गर्न खोजेको भन्दै प्रतिवाद गरिरहेका छन्।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा चालक दावा लामा चालक सिटमै देखिन्छन्। उनले आफूले ट्राफिक प्रहरीहरूलाई रेस्पेक्ट गर्दा पनि कार्वाही गर्न खोजेको भन्दै विवाद गरिरहेका देखिन्छन्। केहीले उनलाई बस साइड लगाउनु अनुरोध गरिरहेका छन्। त्यसपछि त्यहाँ एक सशस्त्र प्रहरी पनि पुग्छन्। सडकमा दुई पुरुष र एक महिला ट्राफिक देखिन्छन्। 

बसका कारण सडकमा जाम भएपछि सशस्त्र प्रहरीले पनि उनलाई बस साइड लगाउन अनुरोध गर्छन्। उनले सशस्त्र प्रहरीलाई आफ्नो केही गल्ती नभए पनि जरिवाना गर्न खोजेको बताउँछन्। उनी भन्छन् "म मर्न तयार छु सर तर उहाँहरूलाई छाड्दिन।"

उनले ट्राफिक प्रहरीले धम्की दिएको समेत बताउँछन्। उनले आफूलाई जे गर्न सक्छन् गर भनेको भन्दै आक्रोशित भइरहेको देखिन्छन्। त्यही बेलामा एक ट्राफिक प्रहरीले हान्नो न भनेको सुनिन्छ। त्यसको प्रतिउत्तरमा उनले ल हान्नो भनिरहेको सुनिन्छ। त्यसपछि आक्रोशमा आएका चालकले जे गर्न सक्छन् गर भनेको भन्दै आक्रोशित भएको देखिन्छ। 

घटनाको प्रकृति हेर्दा गाडीमा चालक सिटबाट नभई पछाडिको सिटबाट आगो सुरु भएको देखिन्छ। बसको पछाडिको सिटमा आगो लाग्दा सडकमा सवारीसाधन चलिरहेकै देखिन्छ। ट्राफिक प्रहरी पनि सडकमै देखिन्छन्। चालकतिरको सिटमा कोही देखिन्न।

आगो लाग्दै गरेको दृष्य अनि रित्तो चालक सिट। पछि आगो बसमा फैलिन्छ। आगोमा जलेर बस चालक काभ्रेका  दावा लामा गम्भीर घाइते भएका थिए। उनलाई प्रहरीहरूले उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पताल पठाएको थियो। उनको अवस्था चिन्ताजनक रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

प्रहरीले प्रारम्भिक अनुसन्धानमा चालक आफैँले आगो लगाएको देखिएको बताए पनि घटनाको कारण के हो भन्ने नखुलेको दाबी गरेको थियो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी नरेशराज सुवेदीले उकेरासँग भने "एक्कासि गाडीमा आगो लागेको देखिन्छ। चालकलाई भित्रबाट निकालेर तत्कालै अस्पताल पुर्याएका हौँ। बाहिर निकाल्दा उहाँ बोल्न सक्ने अवस्थामा हुनुहुन्नथ्यो। घटनाबारे हामी थप अनुसन्धान गरिरहेका छौँ।"

तर ट्राफिक र चालकबीच पहिला विवाद भएको र पछि आगो लगाएको देखिएपछि काठमाडौं उपत्यका प्रहरी कार्यालयले घटनाबारे छानबिन गर्न  एसएसपी रमेश बस्नेतको नेतृत्वमा  समिति गठन गरेको छ। समितिलाई पाँच दिनको समय दिइएको छ।

करिब तीन महिना अगाडि त्रिपुरेश्वर क्षेत्रमै राइड सेयरिङमा संलग्न गणेश नेपाली र महानगरीय नगर प्रहरीबीच मोटरसाइकल पार्किङको विषयमा भएको विवादमा यस्तै दुखद घटना भएको थियो। नगर प्रहरीसँग विवादपछि चालक गणेश नेपालीले आफैलाई आगो लगाउँदा गम्भीर घाइते भएका थिए। उपचारकोक्रममा वीर अस्पतालमा उनको मृत्यु भएको थियो।

घटनाबारे छानबिन गर्न  समिति गठन भएको थियो भने विवादमा संलग्न नगर प्रहरी निलम्बनमा परेका थिए। तर अहिलेसम्म पनि सो घटनाको छानबिन के भयो सार्वजनिक भएको छैन। सो घटनाको तीन महिनामा पून सोही स्थानमा उस्तै अर्को घटना भएको छ। यसको पनि छानबिन गर्न समिति बनेको छ।

असोज ५, २०८३ सोमबार १८:४८:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।