कार्तिक ६ गतेदेखि ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’
काठमाडौं : दशैंको टीकाको पर्सिपल्ट अर्थात् कार्तिक ६ गतेलाई प्रदर्शन मिति घोषणा गरेको फिल्म ‘कबड्डी’को पाँचौं शृङ्खला ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’को फर्स्टलुक सार्वजनिक गरिएको छ।
पोस्टरमा मुख्य पात्र काजी (दयाहाङ राई), बिके (विजय बराल) र छन्त्याल (बुद्धि तामाङ)को चारित्रिक भेषमा प्रस्तुत गरिएका छन्। काजी अर्थात् दयाहाङ पार्कको एउटा कुर्सीमा हातमा क्रिकेट ब्याट समातेर सोच मग्न भएर बसेका छन् भने उनलाई बीके र छन्त्यालले गम्भीरतापूर्वक नियालिरहेका छन्।
दसैंमा ‘छ माया छपक्कै २’,‘आ बाट आमा २’,‘१२ गाउँ २’तथा अन्य केही फिल्म प्रदर्शनमा आउने भएपछि यो एक सातापछि सारिएको अनुमान गर्न सकिन्छ। यो फिल्मको पोस्टर रिलिज भएसँगै चर्चाको विषय पनि बनेको छ।
किनभने यसअघि प्रदर्शनमा आएका ‘कबड्डी’ का चारै शृङ्खला बक्स अफिसमा ब्लकबस्टर बनिसकेका छन्। यसको चौथो शृङ्खलाले २२ करोड रुपैयाँ हाराहारी कलेक्सन गरेको थियो। चौथो शृङ्खलालाई नै फिल्मको फाइनल म्याच भनिएको थियो तर निर्माताले कथा अधूरो रहन गएकाले त्यसलाई पूरा गर्न पाँचौं शृङ्खला ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ निर्माण गर्नु परेको दाबी गरेका छन्।
फिल्मका निर्देशक रामबाबु गुरुङले यो फिल्म व्यावसायिक नाफा कमाउन वा ब्राण्ड बेच्न मात्र नभई विशुद्ध कथाको डिमाण्ड र पात्रहरूको अधुरो कथा पूरा गर्न बनाएको दाबी गरेका छन्। बासुरी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको यो फिल्ममा निर्देशक गुरुङले नै लेखेका हुन्।
फिल्ममा दयाहाङ, विजय, बुद्धिसँगै विपिन कार्की, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, माओत्से गुरुङ, कमलमणि नेपाल, विष्णु मोक्तान, प्रमीला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजार, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुधाथोकी, सरोज अर्याल र शेखर चापागाईंको अभिनय रहेको छ।
फिल्ममा निर्देशक आफैले पनि लगानी गरेका छन् भने उनका अलावा मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी)को पैसा परेको छ। सागर राज कार्यकारी निर्माता रहेको फिल्ममा कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन छ।
फिल्ममा मुख्य सहायक निर्देशक सोमनाथ खनाल र तारानाथ न्यौपाने हुन् भने फिल्मलाई नेपालमा ब्याङ्कटेश इन्टरटेनमेन्ट एन्ड टी फल्कले वितरण गर्नेछ भने विदेश वितरणतर्फ सेभेन सिज इन्टरनेसनल रहेको छ। अब यो फिल्मले कस्तो व्यापार गर्ला रिलिज पछि नै भनौँला है त।
असोज ३, २०८३ शनिबार १९:०२:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।