त्रिपुरेश्वरमा बस जल्दा घाइते भएका  दावा कि अर्जुन लामा?

त्रिपुरेश्वरमा बस जल्दा घाइते भएका  दावा कि अर्जुन लामा?

काठमाडौं : सोमबार दिउस त्रिपुरेश्वरमा आगलागी भएको बसमा घाइते अवस्थामा भेटिएका चालक को हुन्?

प्रहरीले घाइतेका साथबाट बरामद भएको लाइसेन्सको आधारमा उनी बागमती-७ ललितपुरका दावा लामा भएको सार्वजनिक गर्यो। तर त्यसको केही समयमै सो लाइसेन्स मेरो हो भन्दै अर्का व्यक्ति सार्वजनिक भएपछि सोमबारको घटनामा चालकको परिचय नै रहस्यमय देखियो।

घाइतेको साथमा फेला परेको लाइसेन्समा नाम दावा लामा, ठेगाना- बागमती-७ ललितपुर उल्लेख छ भने सो सवारी चालक अनुमति पत्र भक्तपुरबाट निकालिएको देखिन्छ। त्यसमा बाबुको नाम छ कुन्साङ रुम्बा लामा। लाइसेन्समा सम्पर्क नम्बर समेत छ।

उकेराले लाइसेन्समा भएको नम्बरमा डायल गर्दा उठ्यो। उकेराकर्मीले तपाईँको नाम दावा लामा हो भनेर सोध्दा उताबाट जवाफ आयो “हो।”

"त्यो लाइसेन्स कसको हो ?"

"मेरो हो"

अनि सोमबार दिउस गाडी जल्दा घाइते भएका दावा लामा को हुन् त ? उनले भने "त्यो व्यक्तिको नाम दावा लामा हैन। त्यो लाइसेन्स पनि उसको हैन। मेरो हो।"

सोमबार दिउस गाली जल्दा घाइते भएका युवाको अवस्था गम्भीर छ। चिकित्सकका अनुसार उनी बोल्न सक्ने अवस्थामा छैनन्। तर उनी घाइते हुनुभन्दा अगाडि ट्राफिक प्रहरीसँग झगडा गरिरहेको दृश्य सार्वजनिक भएको छ। त्यसको आधारमा उकेराले आफूलाई दावा दाबी गर्नेलाई सोध्यौँ “घाइते भएका चालक को हुन् त?।” उनले भने “अर्जुन हो”

उनले उकेरासँग गरेको दाबी अनुसार सात महिना अगाडि उनी  चन्द्रागिरि यातायातमा गाडी चलाउने काम गर्थे। उनले घाइते रहेका युवासँग त्यहीँ भेट भएको थियो।  दावा दाबी गर्ने युवाका अनुसार उनले १५ दिनपछि काम छाडे।

यो बिचमा उनको लाइसेन्सको फोटोकपी लगायतका कागजपत्र हरायो। कागजपत्र खोजे पनि फेला पार्न सकेनन्। त्यही हराएको कागजपत्रको आधारमा सोमबार घाइते भएकाले आफ्नो लाइसेन्स निकालेर दावा बनेर अर्को यातायातमा काम गरेको उनले दाबी गरे।

“आज एक्कासि दावा लामा घाइते भन्दै मेरो लाइसेन्स राखेर समाचार आएपछि छक्क परेँ। त्यो म हैन। मेरो हराएको कागजपत्रको आधारमा अर्कैले लाइसेन्स निकालेर गाडी चलाएको रैछ। मैले प्रहरीलाई पनि भनिसकेँ। ”

उनले चन्द्रागिरि यातायातमा चिनेका र सोमबार घाइते भएका व्यक्तिलाई साथीहरूले अर्जुन भनेर बोलाउने गरेको तर उनीबारे धेरै जानकारी नभएको  दाबी गरे। काभ्रेतिर घर हो कि सम्म भने उनले।

घाइते चालकको कीर्तिपुरमा रहेको बर्न अस्पतालमा उपचार भइरहेको छ। त्यहाँ उनका केही आफन्त पनि आएका छन्। हामीले अस्पतालका एक अधिकारीलाई घाइतेको परिचयबारे जिज्ञासा राख्यो।

ती अधिकारीले पहिला उनको नाम दावा लामा नै लेखिएको तर नाममा विवाद देखिएपछि अस्पताल आएका आफन्तसँग बुझ्दा अर्जुन पनि भन्छन् मात्र भनेको जानकारी दिए।

“ नामबारे सोध्दा आफन्तहरूले पनि राम्रोसँग जानकारी दिनु भएको छैन” ती अधिकारीले भने।

यसबारे हामीले जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दानबहादुर थापासँग जिज्ञासा राख्यौँ। उनले घाइतेको साथबाट बरामद भएको लाइसेन्समा दावा लामा नै उल्लेख भएको र त्यसैको आधारमा प्रहरीले घाइतेको परिचय लाइसेन्समा जे छ त्यही राखेको बताए। अहिले लाइसेन्स वाहक दावा अर्कै रहेको दाबी आएको उनले बताए।

“अहिले दावा लामा भन्ने व्यक्ति अर्कै रहेको भन्ने दाबी आएको छ। यसबारे थप अनुसन्धान नगरी भन्न सकिन्न" उनले उकेरासँग भने।

असोज ५, २०८३ सोमबार २१:३०:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।