न हल्ला न खल्ला; ४ करोड नजिक ‘पेन्सन पट्टा’, फ्लपको लयमा कुल ब्वायको ‘बेहुली’
काठमाडौं : चर्चा र प्रचार हेर्दा लाग्थ्यो, बक्स अफिसमा ‘बेहुली’ले बाजी मार्नेछ। हल भिजिटको लागि दौडधुप र हिरोको ‘हाइप’ले सामाजिक सञ्जाल तातिएकै थियो। तर, चलचित्र विकास बोर्डको बक्स अफिस रिपोर्टमा व्यापारिक अवस्था फरक देखाउँछ।
न कुनै हल्ला, न त विज्ञापन- चुपचाप हलमा छिरेको ‘पेन्सन पट्टा’को ग्रस कलेक्सन ‘बेहुली’को भन्दा एक करोड बढीले अगाडि रहेको देखाउँछ। तीजको छेको पारेर भदौ २६ गतेबाट प्रदर्शनमा आएका यी दुई फिल्मको कमाइको तुलना गर्दा एक करोड रुपैयाँभन्दा बढीको अन्तर देखियो।
सोमबार सार्वजनिक भएको बक्स अफिस रिपोर्टअनुसार आइतबारसम्म ‘पेन्सन पट्टा’ले एक लाख २९ हजार ११८ वटा टिकट बिक्री गर्दै तीन करोड ७९ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ। अर्कोतर्फ ‘बेहुली’ले भने आइतबार रातिसम्म ९४ हजार ८८५ वटा टिकट बिक्री गर्दै दुई करोड ६८ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ।
त्यस्तै, साउन १ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘गौँथली’ अझै केही हलहरूमा प्रदर्शन भइरहेको छ। अघिल्लो साता नै २६ करोड रुपैयाँ कलेक्सन पुग्ने अनुमान गरिएता पनि फिल्मले अझै उक्त आँकडा छुन सकेको छैन। असोज ४ गते रातिसम्म यस फिल्मले २५ करोड ९४ लाख रुपैयाँ कलेक्सन गरेको छ।
यता, अभिनेत्री नीता ढुङ्गानाले आफ्नो फिल्म ‘पार्वती’ सफल भएको बताउँदै आए पनि बक्स अफिस तथ्यांकले भने त्यति उत्साहजनक नतिजा देखाउँदैन। प्रदर्शनको चौथो हप्तामा पनि फिल्मले तीन करोडको आँकडा छुन सकेको छैन। बक्स अफिस रिपोर्टअनुसार आइतबारसम्म यस फिल्मले दुई करोड २४ लाख रुपैयाँ मात्र कलेक्सन गरेको छ।
उता भदौ १९ गतेबाट प्रदर्शनमा आएको कान्स विजेता फिल्म ‘एलिफेन्ट्स इन द फग’ (तिनीहरू)को कलेक्सन भने राम्रो देखिएको छ। ठूलो प्रचारप्रसारबिनै प्रदर्शनमा आएको फिल्मले हालसम्म एक करोड १६ लाख रुपैयाँ ग्रस कलेक्सन गरिसकेको छ।
दयाको दिन फिरेका हुन त?
माओत्से गुरुङ निर्देशित फिल्म ‘पेन्सन पट्टा’मा दयाहाङ राई र गौमाया गुरुङको मुख्य भूमिका छ। केही वर्ष यता दयाहाङका फिल्मले निर्मातालाई डुबाउँदै आएको थियो। पछिल्लो समय प्रदर्शनमा आएको फिल्म ‘कार्साङ’, ‘मितज्यु’लगायत असफल भएका थिए। लगातार असफल भइरहेको समयमा ‘पेन्सन पट्टा’बाट उनको अपेक्षा धेरै नरहेको बुझिन्छ। निर्देशक गुरुङले अन्तरवार्तामा अनपेक्षित फिल्मले कमाई गरेको बताएका छन्। फिल्ममा दयाहाङ, गौमायाका अलावा पशुपति राई, बुद्धि तामाङ, विल्सनविक्रम राई, निर्देशक आफैले पनि अभिनय गरेका छन्।
भदौ २६ गतेबाट नै प्रदर्शनमा आएको फिल्म ‘बेहुली’लाई सशांक कँडेलले निर्देशन गरेका हुन्। उक्त फिल्ममा टिकटबाट चर्चामा आएको कुल ब्वायका नामले परिचित पारस बम ठकुरी, दिव्या रायमाझी, सन्तोष बानिया, पदम तामाङ, सरिता गिरी, विशाल पहारी लगायतको अभिनय रहेको छ। फिल्मका प्रस्तुतकर्ता तथा निर्माता संगीतकार अर्जुन पोखरेल हुन्।
भदौ १२ गतेबाट प्रदर्शन भइरहेको अर्को फिल्म हो ‘पार्वती’। यो फिल्ममा निर्देशक नीता ढुङ्गाना आफैले मुख्य भूमिकामा अभिनय गरेकी छन्। उनका अलावा यो फिल्ममा अशोक दर्जी, दीपाश्री निरौला, दिप्त प्रकाश अधिकारी, शिरु विष्ट, राज पंगेनी लगायतको अभिनय रहेको छ। फिल्मलाई युवा ज्योतिष हरिहर अधिकारीले लगानी गरेका हुन्।
यता डाक्टर भोला रिजालको कथामा निर्माण भएको फिल्म ‘गौँथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, लुभिना तुलाधर, प्रकाश घिमिरे लगायतले अभिनय गरेका छन्। उक्त फिल्मलाई डाक्टर भोला रिजालकै छोरा कपिल रिजालले निर्देशन तथा लगानी गरेका हुन्।
यता अविनाश विक्रम शाहको निर्देशन रहेको ‘तिनीहरू: एलिफेन्ट्स इन द फग’मा पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, अलिज घिमिरे, आशान्त शर्मा, गौरी मल्ल, माओत्से गुरुङलगायत कलाकारहरूको अभिनय छ। यो फिल्मले नेवालमा प्रदर्शनमा आउनु अगावै अन्तर्राष्ट्रिय मञ्चमा चर्चा बटुलिसकेको थियो। कान्स फिल्म फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधामा छनोट भएको र सोही विधामा जुरी पुरस्कारसमेत जितेको यो फिल्मले कान्समा पुरस्कार जित्न सफल पहिलो नेपाली फिल्म छ।
असोज ५, २०८३ सोमबार १६:४८:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।