‘शेर्पा’को भाष्य नै बदलिदिएका हिमालका छ हस्ती, जो आफैँ हिउँमा बिलाए
काठमाडौं : सगरमाथाको चुचुरोमा दर्जनौं पटक पाइला टेक्नु, अक्सिजन सिलिन्डरबिना नै आठ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्नु अनि विश्वकै सबैभन्दा खतरनाक मानिने ‘केटू’ हिमालको सफल आरोहण कठ्याङ्ग्रिने हिउँदमा गर्नु- यी यस्ता कीर्तिमान हुन्, जुन कुनै बेला असम्भव मानिन्थे।
तर, यी सबै असम्भवलाई सम्भव बनाएका एक गैरआवासीयसहित ६ नेपाली आरोही अब यो संसारमा रहेनन्। गत साता पाकिस्तानको ब्रोड पिक हिमालमा आएको हिमपहिरोमा परी उनीहरूले ज्यान गुमाए।
हिमालमा नेपाली गाइड वा ‘शेर्पा’हरूलाई केवल ‘सहयोगी’ वा ‘भरिया’को रूपमा हेरिने विश्वव्यापी दृष्टिकोणलाई उनीहरूले सधैँका लागि बदलिदिएका थिए। दु:खद् घटनाले विश्वभरको पर्वतारोहण क्षेत्रलाई स्तब्ध बनाएको छ भने नेपाल र बेलायतले आफ्ना अमूल्य नवरत्नहरू गुमाएको छ।
पुस्ताकै सर्वोत्कृष्ट आरोहीहरूको अन्त्य
हिमपहिरोमा ज्यान गुमाउनेमध्ये सबैभन्दा चर्चित नाम हो- नेपाली मुलका बेलायती नागरिक निर्मल पुर्जा (निम्स दाइ)। आठ हजार मिटरभन्दा अग्ला विश्वका सबै १४ वटा हिमाल छ महिनाभन्दा कम समयमा चढेर विश्व रेकर्ड राखेका ४३ वर्षीय पुर्जा ब्रोड पिकमा १० सदस्यीय अन्तर्राष्ट्रिय टोलीको नेतृत्व गरिरहेका थिए।
‘निम्स आइकन थिए र आफ्नो पुस्ताका सर्वोत्कृष्ट आरोही थिए’, आउटसाइड म्यागजिनका लामो समयदेखिका सगरमाथा रिपोर्टर बेन आयर्स भन्छन्।
सोही अभियानमा गाइडका रूपमा रहेका किली पेम्बा शेर्पा र पुरबहादुर गुरुङ पनि पर्वतारोहणका हस्ती थिए। ४६ वर्षीय किली पेम्बाले जुलाईको सुरुवातमै १४ वटै हिमालको आरोहण सम्पन्न गर्दै पर्वतारोहणको ‘ग्रान्ड स्ल्याम’ पूरा गरेका थिए।
सन् २०२१ को जनवरीमा पुर्जाकै नेतृत्वमा केटू हिमालको पहिलो हिउँदे आरोहण गर्ने ऐतिहासिक नेपाली टोलीमा पनि उनी सहभागी थिए।
१५ पटक सगरमाथा चढेका पेम्बाले दुई पटक त दुवै खुट्टा गुमाएका आरोहीहरूलाई सुरक्षित रूपमा सगरमाथाको चुचुरोमा पुर्याएका थिए। उनलाई चिन्नेहरू उनलाई अत्यन्तै नम्र र आफ्नो कामप्रति समर्पित व्यक्तिका रूपमा सम्झन्छन्।
यस्तै, ३७ वर्षीय पुरबहादुर गुरुङले १४ मध्ये १२ वटा सर्वोच्च शिखर चढिसकेका थिए। उनी नेपालका करिब १०० जना मात्र ‘अन्तर्राष्ट्रिय माउन्टेन गाइड संघ’बाट प्रमाणित गाइडमध्ये एक थिए।

नेपालको पर्यटन विभागका प्रवक्ता हिमाल गौतम भन्छन्, ‘अन्तर्राष्ट्रिय माउन्टेन गाइड संघको गाइड बन्न धेरै पैसा, लगाव र समर्पण चाहिन्छ। यसले पुरबहादुरको पर्वतारोहणप्रतिको भोकलाई दर्साउँछ।’
रोचक कुरा त के छ भने, सन् १९२४ मा सगरमाथामा हराएका बेलायती आरोही एन्ड्रयु इर्भिनको एक शताब्दी पुरानो जुत्ता हालै सगरमाथामा फेला पार्ने टोलीमा पुरबहादुर पनि सहभागी थिए।
दुर्घटनामा ज्यान गुमाउने अन्य तीन आरोही पनि कम थिएनन्। ग्याल्जेन शेर्पाले एकै सिजनमा विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा तीन पटक चढेर गिनिज बुकमा नाम लेखाउन योग्य काम गरेका थिए।
३६ वर्षीय निमा शेर्पाले एकै वर्षमा चारवटा आठ हजार मिटर अग्ला हिमाल चढेका थिए भने २० वर्षको उमेरका नवाङ थिन्दु शेर्पा नेपालको पर्वतारोहण क्षेत्रका उदाउँदा तारा थिए।
पाकिस्तान पर्वतारोहीहरूको नयाँ गन्तव्य र कठिन परीक्षा
नेपाली गाइडहरू वसन्त ऋतुमा सगरमाथालगायत नेपालका हिमालहरूमा व्यस्त हुन्छन्। तर जुनदेखि सेप्टेम्बरसम्म नेपालमा मनसुन सुरु भएपछि, उनीहरूको यात्रा पाकिस्तानको उत्तरी भेगतिर मोडिन्छ। त्यहाँ विश्वका पाँचवटा आठ हजार मिटरभन्दा अग्ला हिमाल छन्।
निर्मल पुर्जाको नेटफ्लिक्स डकुमेन्ट्रीले धेरै विदेशी आरोहीहरूलाई पाकिस्तानका हिमाल चढ्न प्रेरित गरेको थियो।
‘निम्सको सफलताले धेरैलाई १४ वटै हिमाल चढ्न सकिन्छ भन्ने हिम्मत दियो,’ नेपाल पर्वतारोहण संघका कार्यवाहक अध्यक्ष ईश्वरी पौडेल भन्छन्, ‘यसले गर्दा विदेशीलाई सघाउँदै गर्दा धेरै नेपाली शेर्पाहरूले पनि आफ्ना कीर्तिमानहरू बनाए।’
तर, नेपाल र पाकिस्तानमा हिमाल चढ्नु नितान्त फरक अनुभव हो। नेपालमा सगरमाथा आधार शिविरसम्म जान व्यवस्थित लजहरू छन्, आपत्कालीन अवस्थामा हेलिकप्टर उद्धार सहज छ। तर पाकिस्तानको काराकोरम हिमशृङ्खला अत्यन्तै विकट छ।
सबैभन्दा सानो उमेरमा १४ वटै हिमाल चढेर रेकर्ड बनाएका २० वर्षीय निमा रिन्जी शेर्पा भन्छन्, ‘पाकिस्तानमा हामीले आफैँ डोरी टाँग्नुपर्छ, हिउँ काटेर बाटो बनाउनुपर्छ र आफैँ क्याम्प खडा गर्नुपर्छ। त्यहाँ हामी वास्तविक र पुरानो शैलीको पर्वतारोहणको अनुभव गर्छौं।’
पाकिस्तानमा हेलिकप्टर उडाउनै गाह्रो हुने भएकाले त्यहाँ काम गर्न चरम दबाब झेल्न सक्ने र बहुआयामिक सीप भएका उत्कृष्ट शेर्पाहरू मात्र जाने उनी बताउँछन्।
जोखिम नै हिमालको असली आकर्षण
ब्रोड पिकको घटनाले सुरक्षा मापदण्डमा कडाइ गर्नुपर्ने आवाज पक्कै उठाउनेछ, तर विज्ञहरू यसले उच्च हिमाली पर्यटनमा खासै परिवर्तन नल्याउने बताउँछन्।
‘प्रायः यस्ता घटनाले केही समय चिन्ता पैदा गर्छन्, तर फेरि सबै कुरा पुरानै लयमा फर्किन्छ,’ रिपोर्टर आयर्स भन्छन्, ‘हिमालमा कुनै पनि दुर्घटनालाई पूर्ण रूपमा रोक्न सकिन्छ भन्न गाह्रो छ, किनकि त्यहाँको प्राकृतिक जोखिम नै यसको मुख्य आकर्षण हो।’
पर्वतारोहणका अनुसन्धानकर्ता मेधावी गुलाटी पनि यसमा सहमत छिन्। ‘प्रायः मृत्युको जोखिम र त्यहाँको भयानक सौन्दर्यले नै मानिसलाई हिमालतिर तान्छ’, उनी भन्छिन्।
सन् २०१४ मा सगरमाथामा गएको हिमपहिरोमा १६ जना शेर्पाको मृत्यु भएको थियो भने सन् २००८ मा केटू हिमालमा ११ जना आरोहीले ज्यान गुमाएका थिए।
‘हामीले यस्ता विपत्ति पहिले पनि देखेका छौँ, तर केही परिवर्तन भएन,’ पर्वतारोहणविज्ञ तथा लेखक एलन आर्नेट भन्छन्, ‘इतिहास हेर्दा ब्रोड पिकको यो घटनाले पनि खासै ठूलो प्रभाव पार्ला जस्तो मलाई लाग्दैन। मलाई आशा छ, मेरो अनुमान गलत साबित होस्।’
बीबीसीबाट अनुवाद गरिएको
साउन २०, २०८३ बुधबार ०७:३९:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।