चाबहिलको डान्सबारमा १ लाख ६५ हजारको बिल, बलात्कार मुद्दामा फसाउने धम्की दिँदै २ लाख ३० हजार लुटेर गोकर्णको जंगलमा छाडियो
काठमाडौं : चाबहिलस्थित एक डान्सबारबाट सुरू भएको नियोजित ‘हनी ट्र्याप’ र लुटपाटको घटनामा संलग्न अभियुक्तहरूविरुद्ध काठमाडौं जिल्ला अदालतमा आपराधिक लाभको मुद्दा दायर गरिएको छ।
डान्सबारकी युवती र ट्याक्सी चालकको मिलोमतोमा एक पुरुषलाई नशा खुवाएर, बलात्कारको झुटा मुद्दामा फसाइदिने धम्की दिँदै २ लाख ३० हजार रुपैयाँभन्दा बढी लुटपाट गरी जंगलमा अलपत्र पारिएको अभियोगपत्रमा उल्लेख छ।
जिल्ला सरकारी वकील कार्यालय काठमाडौंले सिन्धुपाल्चोक बलेफी गाउँपालिका-४ घर भई हाल फरार रहेका ३३ वर्षीय राजु तामाङ र डान्सबारमा काम गर्ने कबिता राई (नाम/थर यकिन हुन बाँकी) विरुद्ध अदालतमा अभियोगपत्र दर्ता गराएको हो।
डान्सबारको अत्यधिक बिल र अनलाइन ट्रान्सफर
अभियोगपत्र अनुसार गत २०८२ असार २२ गते राति करिब १० बजे श्याम कुमार सेवा आफ्ना साथी बिपेन्द्र गुरुङसँग चाबहिलस्थित ‘बेबिलोन डान्सबार’ गएका थिए। सोही बारमा काम गर्ने प्रतिवादी कबिता राईले श्यामकुमारलाई ललाइफकाई अत्यधिक मदिरा सेवन गराइन्।
श्यामकुमार अर्धचेत भएपछि डान्सबारमा १ लाख ६५ हजार ९०० रुपैयाँको बिल उठाइयो। उनले आफ्नो सिद्धार्थ बैंकको खाताबाट १ लाख २२ हजार १०० रुपैयाँ ‘गणेश लिक्वर्स’को नाममा र ४२ हजार ९०० रुपैयाँ ई-सेवामार्फत ट्रान्सफर गरेका थिए।
असार २३ गते बिहान ५:३० बजे डान्सबार बन्द भएपछि कबिता राईले श्यामकुमारलाई ‘घर पुर्याइदिन्छु’ भन्दै बा ८ च १३३१ नम्बरको ट्याक्सीमा बसाएकी थिइन्। उक्त ट्याक्सी राजु तामाङले चलाएका थिए।
उनीहरूले श्यामकुमारलाई उनका साथीबाट अलग गराई कपन क्षेत्रका विभिन्न होटलहरूमा पुर्याएर पुनः जबरजस्ती मदिरा सेवन गराएको अभियोगपत्रमा उल्लेख छ।
‘बलात्कारमा फसाइदिन्छु’ भन्दै धम्की र अनलाइन लुटपाट
अभियोगपत्रका अुनसार कपनका होटलहरूमा पुर्याएपछि प्रतिवादीहरूले श्यामकुमारको मोबाइल नियन्त्रणमा लिई रकम ट्रान्सफर गर्न दबाब दिएका थिए।
श्यामकुमारले रकम ट्रान्सफर गर्न नमान्दा अभियुक्तहरूले ‘हाम्रो भनेअनुसार पैसा पठाइनस् भने तँविरुद्ध बलात्कार गरेको भन्दै प्रहरीमा फसाइदिन्छौँ, मार्छौँ र कुट्छौँ’ भन्दै डर-त्रास देखाएका थिए।
झुटा मुद्दामा फस्ने डरले उनले आफ्ना विभिन्न खाताबाट राजु तामाङको एनआईसी एसिया बैंक खातामा ६० हजार रुपैयाँ, राजु तामाङको ई-सेवा खातामा ४ हजार रुपैयाँ, तिलकप्रसाद डोटेलको ई-सेवा आईडीमा ५३ हजार रुपैयाँ गरि कुल १ लाख १७ हजार रुपैयाँ ट्रान्सफर गर्न लगाएका थिए।
नगद र सुन लुटपाटपछि गोकर्णको जंगलमा अलपत्र
अनलाइनमार्फत रकम ट्रान्सफर गराएपछि अभियुक्तहरूले श्यामकुमारको गोजीमा रहेको नगद १७ हजार रुपैयाँ र हातमा लगाएको आधा तोलाको सुनको औँठी समेत जबरजस्ती लुटेका थिए।
त्यसपछि उनीहरूले बेहोस अवस्थामा रहेका श्यामकुमारलाई गोकर्ण जगडोलस्थित जंगलमा लगी अलपत्र छाडेर फरार भएका थिए। असार २३ गते दिउँसो होस आएपछि सेवाले आफू लुटिएको थाहा पाएका थिए। पछि अभियुक्तहरूलाई फोन गर्दा उनीहरूले उल्टै धाकधम्की दिएका थिए।
प्रहरी अनुसन्धानका क्रममा बा ८ च १३३१ नम्बरको ट्याक्सीमा राजु तामाङ र कबिता राईले श्यामकुमारलाई चाबहिलबाट हालेर लगेको दृश्य सीसीटीभीमा स्पष्ट देखिएको छ।
यस्तै मोबाइल पसल सञ्चालक तिलकप्रसाद डोटेलले आफ्नो ई-सेवामा भुलवश ५३ हजार रुपैयाँ आएको ठानेर पछि आएका प्रतिवादीहरू राजु र कबितालाई नगदै फिर्ता दिएको बताएका छन्।
बेबिलोन डान्सबारका सञ्चालकका भान्जा शिव शंकर बिष्टले डान्सबारमा विवाद भएपछि श्यामकुमारलाई ८० हजार रुपैयाँ फिर्ता गरिदिएको स्वीकारेका छन् भने श्यामकुमारको खाताबाट प्रतिवादीहरूका विभिन्न खातामा रकम ट्रान्सफर भएको डिजिटल प्रमाण संलग्न छ।
अभियोग, सजाय र क्षतिपूर्तिको मागदाबी
जिल्ला सरकारी वकील कार्यालय काठमाडौंले राजु र कबिताविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २५३ को उपदफा (१) र (२) बमोजिम ‘आपराधिक लाभ’को कसुरमा मुद्दा दायर गरेको छ। सोही अनुसार उनीहरूलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिबाना गराउन माग गरिएको छ।
मुलुकी अपराध संहिताको दफा २५४ बमोजिम लुटिएको कुल बिगो २ लाख ३० हजार ५ सय रुपैयाँ प्रतिवादीहरूबाटै असुल गरी पीडित श्याम कुमार सेवालाई भराउन माग गरिएको छ।
साथै, अपराध पीडित संरक्षण ऐन, २०७५ बमोजिम पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क जम्मा गराउन समेत अदालतसमक्ष अनुरोध गरिएको छ।
साउन १८, २०८३ सोमबार ०९:११:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।