‘डाक्टर बनेपछि मात्र मोबाइल बोक्छु भन्थ्यो...’
एजेन्सी : १७ वर्षीय कहान पटेलको कोठा अहिले पनि त्यस्तै छ, जस्तो उनले छोडेर गएका थिए। उनको ल्यापटप खुला छ। ओछ्यान र पढ्ने टेबलमा पाठ्यपुस्तक, कापी र मार्करहरू छरिएका छन्।
एउटा कुनामा एम्प्लिफायरमा जोडिएको उनको इलेक्ट्रिक गितार छ। र्याकमा ह्यारी पोटरका उपन्यास, इलोन मस्कको जीवनी र गुजबम्प्सका हरर किताबहरू सजिएका छन्। सँगै राखिएको छ- विद्यालयबाट पाएको ‘उत्कृष्ट शैक्षिक प्रदर्शन’को ट्रफी।
‘यहाँ सबै कुरा जस्ताको तस्तै छ,’ उनका बुबा प्रशान्त पटेल भावुक हुँदै भन्छन्, ‘बस, मेरो कहान मात्र छैन।’
१७ जुनको रात, अहमदाबादस्थित आफ्नो अपार्टमेन्टको छैटौँ तलाबाट हाम फालेर कहानले ज्यान दिए। उनले हेडफोन लगाएरै हाम फालेका थिए। उनी भारतको बहुचर्चित मेडिकल प्रवेश परीक्षा ‘नीट’को पुनः परीक्षा हुनुभन्दा तीन दिनअघि मात्रै यो संसारबाट बिदा भए।

यस वर्षको नीट परीक्षामा प्रश्नपत्र चुहावट भएको भन्दै परीक्षा रद्द गरिएपछि भारतभर २० लाखभन्दा बढी विद्यार्थीहरूले फेरि परीक्षा दिनुपर्ने अवस्था आयो। यही तनाव र निराशाका कारण कम्तीमा २१ जना विद्यार्थीले आत्महत्या गरे। तिनैमध्येका एक थिए- कहान।
सपनाको भारी र प्रश्नपत्र चुहावट
विद्यालयको परीक्षामा राम्रो अंक ल्याएपछि कहानले डाक्टर बन्ने इच्छा देखाएका थिए। परिवारमा कोही पनि डाक्टर थिएनन्।
छोराको सपना पूरा गर्न वकिल रहेका बुबा प्रशान्तले पुरानो शहर सुरत छोडेर अहमदाबादमा नयाँ घर किने। कहान फुटबल खेल्न मन पराउँथे, साइ-फाइ फिल्म हेर्थे र रक गितार बजाउँथे। परीक्षा सकिएपछि परिवारसँगै डिज्नेल्यान्ड जाने उनको योजना थियो।
गत मे ३ तारिखमा नीट परीक्षा दिएपछि उनी निकै खुसी थिए। ‘बुबा, म निकै खुसी छु। अब म रिल्याक्स गर्छु, साथीहरूसँग डिनर जान्छु’, उनले बुबालाई भनेका थिए। तर, केही दिनमै प्रश्नपत्र चुहावट भएको र परीक्षा रद्द भएको खबर आयो।
‘त्यसपछि ऊ निकै रिसायो,’ प्रशान्त सम्झिन्छन्, ‘ऊ बारम्बार सोध्थ्यो- यो कस्तो सिस्टम हो? इमान्दार भएर परीक्षा दिने विद्यार्थीको के गल्ती छ? मन्त्रीहरूले यसलाई किन यति हल्का रूपमा लिइरहेका छन्?’

बुबाले सम्झाउने प्रयास गरे, ‘यो हाम्रो सिस्टम हो बाबु, हामीले के नै पो गर्न सक्छौँ र?’
अहिले प्रशान्तलाई लाग्छ, सायद उनको त्यो सम्झाइबुझाइ छोराका लागि सान्त्वना नभएर निराशाको कारण बन्यो। ‘ऊ सायद भित्रभित्रै टुटिसकेको थियो’, प्रशान्त सम्झन्छन्।
मोबाइल नबोक्ने प्रदीप
कहानको घरभन्दा करिब ७७० किलोमिटर टाढा, राजस्थानको झुन्झुनु जिल्लामा पनि यस्तै एउटा दर्दनाक कथा छ। २३ वर्षीय प्रदीप कुमार आफ्नो गाउँबाट नीटको तयारी गर्ने एक्ला विद्यार्थी थिए।
उनका बुबा राजेश कुमार सामान्य किसान हुन्, जसले कहिल्यै राम्रो स्कुलको अनुहार देखेनन्। छोरालाई डाक्टर बनाउन राजेशले आफ्नो जग्गा बेचे र बैंकबाट १० लाख रुपैयाँभन्दा बढी ऋण लिए।

प्रदीपको जीवनमा एउटै मात्र लक्ष्य थियो- डाक्टर बन्ने। उनी बिहान ४:३० बजे उठ्थे, कोचिङ जान्थे र राति ९ बजेसम्म पढ्थे। उनले मोबाइल फोनसमेत बोक्दैनथे।
‘डाक्टर बनेपछि मात्रै फोन किन्छु, यसले पढाइमा डिस्टर्ब गर्छ’, उनी बुबालाई भन्थे। उनको एउटै मात्र सोख थियो- सडक किनारका पसलबाट किनेका सस्तो घडीहरू लगाउने।
तेस्रो पटकको प्रयासमा मे ३ मा परीक्षा दिएपछि प्रदीप ढुक्क थिए।

‘यसपालि चैँ मेरो नाम पक्का निस्कन्छ’, उनले बुबालाई भनेका थिए। परिवारले खुसियाली मनाउने तयारी गर्दै थियो। तर, प्रश्नपत्र चुहावटको खबरले सबै भताभुङ्ग पार्यो।
प्रदीपले निराश हुँदै भनेका थिए, ‘हामीले फेरि तयारी गर्नुपर्ने भयो।’
१५ मेको बिहान प्रदीपले बजारबाट तरकारी किनेर ल्याए। दिदीलाई नुहाउन पठाएर आफू खाना पकाउने तयारीमा थिए। तर, जब दिदी आधा घण्टापछि फर्किन्, कोठाको ढोका बन्द थियो। प्रदीपले भित्रै पासो लगाएर ज्यान फालिसकेका थिए।

‘उसले मलाई कहिल्यै आफ्नो दुःख सुनाएन,’ बुबा राजेश भक्कानिन्छन्, ‘मैले उसलाई पढाउन आफ्नो जमिन बेचेँ। जसको पैसा छ, उनीहरू प्रश्नपत्र किन्छन्। जो इमान्दारीपूर्वक पढ्छन्, उनीहरू पछाडि पर्छन्। यदि प्रश्नपत्र लिक नभएको भए मेरो छोरा आज जिउँदो हुन्थ्यो।’
दुई फरक परिवेश, एउटै नियति
कहान र प्रदीप भारतका दुई फरक वर्गका प्रतिनिधि हुन्। एउटा वकिलको छोरा, जसले परीक्षा सकिएपछि डिज्नेल्यान्ड घुम्ने सपना देखेको थियो। अर्को किसानको छोरा, जसले डाक्टर नबनेसम्म मोबाइल नबोक्ने कसम खाएको थियो। तर, दुवैको नियति एउटै भयो।
दुवैका बुबाहरू आज एउटै प्रश्न सोधिरहेका छन्- ‘आफ्नो मेहनतमा विश्वास गर्ने यी कलिला युवाहरूले यो सिस्टमप्रति कसरी विश्वास गुमाए?’
छोराको मृत्युपछि प्रशान्त पटेल दिल्लीमा भएको विद्यार्थी आन्दोलनमा सहभागी हुन पुगे। एक महिना लामो आन्दोलनपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिए। सरकारले पीडित परिवारलाई क्षतिपूर्ति दिने घोषणा गर्यो।

तर, प्रशान्तलाई क्षतिपूर्ति होइन, जवाफदेहिता चाहिएको छ।
उनी भन्छन्, ‘म दिल्लीमा आन्दोलन गरिरहेका ती विद्यार्थीहरूलाई धन्यवाद दिन गएको थिएँ, किनभने उनीहरूले मेरो कहानको आवाज उठाए। पुलिसको लाठी खाएर पनि उनीहरू न्यायको लागि लडिरहेका थिए। त्यसले मलाई हिम्मत दियो।’
अन्त्यमा प्रशान्त भारी मन लिएर भन्छन्, ‘मेरो छोराले आफ्नो आवाज उठाउन सकेन, बरु आफ्नै ज्यान लियो। सरकार र अभिभावकको दायित्व हो- युवाहरू सधैँका लागि मौन हुनुअघि नै उनीहरूको आवाज सुन्नु।’
(बीबीसीमा प्रकाशित फिचरको सम्पादित अनुवाद)
(आत्महत्या कुनै पनि समस्याको समाधान होइन। यदि तपाईं वा तपाईंको वरपर कोही मानसिक तनावमा हुनुहुन्छ भने मद्दत माग्न नहिच्किचाउनुहोस्। आत्मदाह वा आत्महत्या रोकथामका लाग राष्ट्रिय हेल्पलाइन ११६६ मा फोन गरेर परामर्श लिन सकिन्छ।)
साउन १८, २०८३ सोमबार १३:३८:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।