भन्सार छलेर ल्याउँदै गरेको सामानसहित इभी भ्यान र चालक प्रहरीको नियन्त्रणमा

भन्सार छलेर ल्याउँदै गरेको सामानसहित इभी भ्यान र चालक प्रहरीको नियन्त्रणमा

जनकपुरधाम : जिल्ला प्रहरी कार्यालय धनुषाले मंगलबार भन्सार छलेर ल्याइएका २३ लाखभन्दा बढी मूल्य बराबरका समान र इभी भ्यानसहित एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले जनकपुरधाम उपमहानगरपालिका-८ रत्नसागरबाट भन्सार छलेर ल्याइएको २८ कार्टुन बिस्कुट, ११८ प्याकेट नरिवल चकलेट र सो समान बोकेको बाप्र०६-००१ज ००८४ नम्बरको इभी भ्यान नियन्त्रणमा लिएको हो।

रत्नसागरबाट मुजेलियातर्फ जाँदै गरेको इभीलाई रोकेर जाँच गर्दा भन्सार छलेर ल्याइएको उक्त समान बरामद भएपछि समान र इभी गाडीसहित चालक सिरहाको मिर्चैया नगरपालिका-९ धर्मपुर निवासी २० वर्षीय बाबुराम लिम्बूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिए।

बरामद गरिएका सामान र सवारीसाधनको अनुमानित मूल्य २३ लाख ३० हजार रहेको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए। बरामद भएका समान र इभीलाई आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय जनकपुरधाममा बुझाइएको प्रहरीले जनाएको छ।

साउन १९, २०८३ मंगलबार २२:१२:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।